हिमाल सागर : पहिलोपटक स्टुडियो छिरे, गीत रेकर्ड नगरी निस्किए | Khabarhub Khabarhub

कला

हिमाल सागर : पहिलोपटक स्टुडियो छिरे, गीत रेकर्ड नगरी निस्किए


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक, गीतकार एवम्‌ कम्पोजर हिमाल सागर सांगीतिक यात्राको बीसौं वर्षमा छन् । उनी पहिलो एल्बमकै गीत हिट हुने गायकमा पर्छन् ।

वि.सं. २०६० मा सार्वजनिक एल्बम ‘रिलेसन’ को गीत ‘न मैले लेखेँ, न उनले लेखिन्…’ बाट उनले चर्चा पाए । सोही एल्बमले उनलाई गायकका रूपमा स्थापित गरायो । सो गीतको रिमेक उनले भर्खरै सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालले एल्बमलाई विस्थापित गर्‍यो । तर, सामाजिक सञ्जालकै दुनियाँमा पनि उनले हिट गीत दिएर आफूलाई जीवन्त राखेका छन् ।

पछिल्लो समय उनको चर्चित गीत ‘बगेको खोला फर्कन्छु भन्छ…’ हो । करोड क्लबमा सहभागी उनका गीत दर्जनौं छन् । सङ्गीतमा यो निरन्तरता कमै गायकले दिने सौभाग्य पाउँछन् ।

यी तिनै गायक हुन्- जसलाई पहिलो गीत रेकर्ड गराउन जाँदा ‘सुर लागेन’ भन्दै रेकर्डिस्टले फर्काइदिएका थिए । जब उनको एल्बम रिलिज भयो- हिटको मानक तोड्यो । दोस्रो एल्बमका लागि कीर्तिमानी पारिश्रमिक लिएर स्वर दिए ।

झापामा जन्मिएका हिमाल गौतम गायक हिमाल सागर कसरी बने भन्नेमा यो सामग्री केन्द्रित छ ।

झापामा बाल्यकाल
झापाको बनयानीमा जन्मेका हिमाल सागरको बाल्यकाल त्यतै बित्यो । सात दाजुबहिनी मध्येका माहिला उनको बाल्यकाल बनयानीका अन्य साथीहरूको भन्दा फरक थिएन ।

आमाको सामान्य जागिर भए पनि परिवार कृषिमै आश्रित थियो । सागर भन्छन्, ‘खेती थियो, अन्न र दूध बेचेरै पढाइ खर्च जोहो हुन्थ्यो ।’

कृषिआश्रित परिवार भएकाले स्कूलबाट फर्किएर गाईभैँसी चराउनु उनको सामान्य दैनिकी थियो । डडेल्नोमा चढेर भैँसी चराएको, विद्युत् सुविधा नभएकाले टुकी बालेर पढेको जस्ता स्मृति उनको मानसपटलबाट मेटिएको छैन, सायदै मेटिनेछ ।

घरमा साङ्गितिक माहोल विल्कुलै थिएन । तर, बुवाले समाचार सुन्न ल्याएको फिलिप्सको रेडियोले भने सङ्गीतमा तानेको उनलाई महसुस हुन्छ ।

भन्छन्, ‘भारतको सीमाछेउ घर भएकाले अल इन्डिया रेडियो पनि टिप्थ्यो । खुबै सुनिन्थ्यो ।’ गीत–सङ्गीतमा आकर्षण भए पनि त्यतिखेर गायक बन्ने सपना देख्ने आर्थिक हैसियत नै नभएको उनी स्मरण गर्छन् । तर, कक्षा पाँचमा पढ्दा सरस्वती पूजामा गाएको गीतबाट भने उनमा गायकीको चस्का पस्यो ।

‘सरस्वती पूजाको कार्यक्रममा सरहरूले कसले गीत गाउँछ ? भन्नुभयो, मैले सिमाना फिल्मको गीत उकाली आराली गर्दै भन्ने गीत गाएँ,’ उनी भन्छन्, ‘सरहरूले राम्रो गायौ भनी कापी र कलम पुरस्कार दिने भन्नुभयो, गाएपछि दिनुभयो । मलाई त्यसले निकै प्रेरणा मिल्यो ।’

त्यसपछि उनले रेडियोमा बज्ने गीतहरू कापीमा टिप्दै साथीहरूलाई सुनाउन थाले । साथीहरूले ‘राम्रो स्वर छ, भोलिपर्सी गायक बन’ भनी हौसला दिन्थेँ ।

‘घरको कामले गीत गाउने फुर्सद हुँदैन थियो, पढ्नु नि पर्‍यो,’ उनी भन्छन्, ‘एकपटक साथीलाई गीत सुनाउँदै थिएँ, बुबाले काम गर्नु छैन, गिताङ्गे बनेर बस्‌ भनेर एक झापड हान्नुभयो ।’

यद्यपि; टेबल ठटाउँदै गीत गाउने बानी हटेन । विवाह, ब्रतबन्ध र स्कूलका कार्यक्रममा उनले गीत गाइरहे । भन्छन्, ‘खाना खाएपछि आराम गर्ने जस्ता समयमा गीत गाइरहन्थेँ । पछि बुवाले पाहुना आउँदा केटोले राम्रै गीत गाउँछ भन्न लाग्नुभएको थियो ।’

भागेर दिल्ली
वि.सं. २०५५ मा एलएलसी (प्रवेशिका परीक्षा) दिएपछि तीन महिना बिदा मिल्यो । गायक बन्न आर्थिक स्रोत जुटाउने अवस्था थिएन । यतिसम्म कि काठमाडौं आउने गाडीभाडा जुटाउनसमेत मुस्किल थियो । भारतको राजधानी दिल्ली जाने सोच बनाए ।

‘किन हो गाउन छोडिनँ, तर गायक बन्छु भन्ने थिएन । कहाँ गीत रेकर्ड गर्ने, कसले लगानी गर्ने, केही थाहै त थिएन,’ उनी भन्छन्, ‘गाउँकै दाइहरू दिल्लीमा काम गर्थे । उनीहरू फर्कंदा बाकस बोकेर रेडियो घन्काउँदै फर्कन्थे, मलाई दिल्ली जान मन लाग्यो, लक्ष्य चाहिँ साइकल किन्ने थियो ।’

साथीसँग १०० भारु मागे, अनि भागेर भारत छिरे । दिल्ली जाने भाडा पुगेन । सिलगडीमा हातको घडी बेचेर दिल्ली पुगे । गाउँकै दाइहरूले कम्पनीमा दैनिक ८० भारु पाउने ज्यालादारी काम खोजिदिए ।

बलको काम भएकाले उनी दिल्लीमा टिक्न सकेनन् । बिरामी परेपछि दाइहरूले सल्लाह दिएको सम्झन्छन्, ‘तिमी पढ्न सक्छौ, जाऊ, यहाँ काम गरेर जीवन चलाउन गाह्रो हुन्छ । बलको काम गर्ने तिम्रो ज्यान पनि होइन ।’

रुँदै रात कटाएर उनी घर फर्कने निर्णयमा पुगे । ‘करिब दुई महिना काम गरेर घर आइपुग्दा ८०० बच्यो, साइकल किन्न सकिनँ,’ उनी भन्छन्, ‘फर्किएपछि बुबाले पिट्नुभयो । साइकल पनि किन्न सकिनँ, उल्टै छिमेकमा बेइज्जत जस्तै भयो ।’

मेची क्याम्पसमा त्यो अवसर
०५५ सालमा एलएलसीको छुट्टै महत्त्व थियो । पास हुनेबारे गाउँभर हल्ला हुन्थ्यो । हिमाल सागरका ब्याचका २०० विद्यार्थीमा ९ जनाले फलामे ढोका फोर्न सफल भए । जसमा उनी तेस्रो डिभिजनमा पास भए ।

झापाकै मेची बहुमुखी क्याम्पसमा भर्ना भए । आफूहरूलाई स्वागत गर्न क्याम्पसले आयोजना गरेको कार्यक्रममा गीत गाउने अवसर पाए ।

चिनेकै दाइले तीन मिनेट समय मिलाइदिएका थिए । उनको अनुमानमा सो कार्यक्रममा १८ हजार विद्यार्थी उपस्थित थिए । उनले गाएको गीत थियो– ‘जुनेली रातको शीतल हावामा…’

त्यति धेरै मान्छेमाझ उनले पहिलोपटक गीत गाएका थिए । त्यसले उनलाई क्याम्पसमा गायकको छवि दिलायो । नयाँ साथीहरूले पनि चिने ।

‘नयाँ साथीहरूले पनि तिमीले राम्रो गीत गाउँदो रहेछौ भन्थेँ,’ उनी भन्छन्, ‘मौका मिल्यो कि केटाहरूले घेर्न लागे ।’

टीका थाप्न काठमाडौं आउँदा !
हिमाल सागर ११ मा पढ्दा माइली दिदीको विवाहका लागि पहिलोपटक काठमाडौं आएका थिए । उनले गीत रेकर्ड गर्ने मेसो नै थाहा पाएनन्, फर्किए ।

अर्को वर्ष तिहारमा दिदीको हातको टीका थाप्न काठमाडौं आएपछि भने उनी झापा फर्किएनन् । आमा कामको सिलसिलामा र भाइहरू पढ्न थानकोट बस्ने भएकाले उनले त्यहीँ बस्ने निर्णय गरे ।

आमाले पनि ‘सपना छ भने यतै बस्’ भनी ढाडस दिइरहेकै बेला उनले एल्बमका लागि लगानीकर्ता भेटे ।

‘मामाको छोरा भारतकुमार पाठक र साथी चुडामणि दाहालले एल्बम निकाल्न आर्थिक सहयोग गर्छु भन्नुभयो । दुवैको आम्दानी थियो,’ उनले सुनाए, ‘हामी लगानी गर्छौं, तिमी गायक बन्छौं ? भन्नुभयो । मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो ।’

डेरा छेउकै साथी मानस केसीले लिरिक्स दिने भए । एल्बमका लागि आठ गीत जुटाए । उनी भन्छन्, ‘लिरिक्स जसोतसो जुटाएँ, अभ्यास गरेँ । अब रेकर्ड गराउँदा हुन्छ जस्तो लाग्यो, तर स्टुडियो कहाँ छ- थाहा थिएन ।’

यो ०५७ सालतिरको कुरा हो । हुन पनि त्यसबेला अहिले जस्तो सामाजिक सञ्जालको पहुँच थिएन, स्टुडियोहरू पनि कम थिए ।

गायक यश कुमारको एल्बमको कभरमा स्टुडियोका ठेगाना भेटेपछि उनी सोह्रखुट्टे पुगे । पहिलो गीत रकेर्ड तयारीमा जुटे । रेकर्डिस्टले गायनको प्राविधिक ज्ञान नभएको भन्दै सङ्गीत सिक्न सुझाव दिए ।

‘पहिलो पटक ट्रयाकमा गीत गाएको थिएँ, सुर लागेन भन्नुभयो, आफूलाई सुर के हो थाह छैन,’ उनी भन्छन्, ‘तर उहाँले स्वर मीठो छ, तीन/चार महिना सिकेर आऊ, सम्भावना छ भन्नुभयो ।’

अनि तयार भयो एल्बम
एल्बम निकाल्ने सोचले स्टुडियो छिरेका हिमाल सागरलाई पहिलो गाँसमै ढुङ्गा लाग्यो । तर उनी विचलित भएनन् । भोलिपल्टै जमल पुगेर सन्तबहादुर गौतमकहाँ सङ्गीत सिक्न भर्ना भए । चार महिनापछि पुनः स्रोहखुट्टेकै स्टुडियो गए ।

उनी भन्छन्, ‘त्यसबेला हिट गीतहरू त्यही स्टुडियोबाट रेकर्ड हुने भएकाले मलाई अन्त जानै मन लागेन ।’

सङ्गीत सिकेकाले गायन र कम्पोजमा पनि निखार आइसकेको उनी दोस्रोपटक स्टुडियोबाट फर्कनु परेन । रेकर्डिस्टले भनेको उनी सम्झन्छन्, ‘देख्यौ त भाइ ! चार महिना ढिला हुँदा केही बिग्रियो त ? यति राम्रो सुधार गरेछौ ।’

आठ गीत समावेश भएको पहिलो एल्बम ‘रिलेसन’ तयार भयो । तर बजारमा पुर्‍याउन कम्पनीमार्फत् जानुपर्ने थियो । कुनै कम्पनीले एल्बम किन्न मानेनन् ।

लामो संघर्षपछि धवलागिरी क्यासेट सेन्टरले किन्यो । ०६० मा उनको कम्पोज र स्वर भएको एल्बम सार्वजनिक भयो ।

त्यसबेला कम्पनीले गरेको दाबीअनुसार सो एल्बम डेढ लाख प्रति बिकेको उनी बताउँछन् । त्यसबेला एल्बम हिट हुने मापन ५० हजार प्रति बिक्री थियो, उनको पहिलो एल्बम नै तेब्बर बढी बिक्यो ।

न मैले लेखेँ, न उनले लेखिन् गीत यति हिट भयो कि मलाई गायकका रूपमा स्थापित नै गरायो,’ उनी भन्छन् ।

एल्बम हिट भएपछि उनले स्टोज कार्यक्रममा पनि पाउन थाले । २२ सय रुपैयाँ पारिश्रमिक लिएर उनी पहिलो पटक पेप्सीकोलाको मञ्चमा चढे ।

उनी भन्छन्, ‘त्यही स्टेजमा कुन्ती मोक्तान र यम बरालहरूले पनि प्रस्तुती दिनुभएको थियो । उहाँहरू चढेको मञ्चमा पहिलोपटक प्रस्तुति दिन पाएँ ।’

न मैले लेखेँ, न उनले लेखिन्’ गीत हिट मात्रै भएन, ०६१ मा त्यसबेलाको चर्चित ‘ढुकढुकी पप अवार्ड’ जिते । अवार्डपछि खिचेको फोटो उनले खबरहबसँग सेयर गरेका छन् ।

पछाडि फर्कनु परेन
०६२ बाट गायन करिअरमा झन् राम्रा दिन सुरु भएको हिमाल सागरलाई महसुस हुन्छ । पहिलो एल्बम हिट भएपछि दोस्रो एल्बम धवलागिरी क्यासेट सेन्टरले नै निकालिदियो । एल्बम थियो– फर यू ।

‘१० वर्ष रोयल्टी नपाउने सर्तमा ६ लाख रुपैयाँ पारिश्रमिक दियो । नव गायकका लागि त्यो एकदमै ठूलो रकम थियो,’ उनी भन्छन्, ‘चल्तीकै गायकले पनि त्यति पाउँदैन थिए, कम लिन्थे ।’

‘फर यू’ एल्बको गीत ‘तिमी त धेरै दामी भएछौ’ ले उनलाई थप चर्चामा पुर्‍यायो । यही एल्बमले काठमाडौं जग्गा जोड्ने आर्थिक हैसियत दिलायो । त्यसपछि भने स्टेज कार्यक्रममा व्यस्तता बढ्दै गएको उनी बताउँछन् ।

गायकहरूको प्रमुख आम्दानीको स्रोत विदेश भ्रमणमा भने सन् २०६५ मा सार्वजनिक भएको एल्बम ‘त्यो दिन’पछि मात्रै जान पाएको उनी बताउँछन् ।

‘नेपालमा त व्यस्त थिएँ, कार्यक्रमहरू गरिरहेको थिएँ । पहिलोपटक प्लेन चढेर विदेश गएको भनेको चाहिँ यूएई हो,’ उनी भन्छन्, ‘जितु नेपाल सहितको टिममा गएको हुँ । उहाँ त्यसबेला जिरे खुर्सानीबाट चर्चामा हुनुहुन्थ्यो ।’

तर, उनले जीवनमा नबिर्सने घटना बेलायत भ्रमणको हो । सन् २०१२ मा बेलायत भ्रमण गर्न प्रस्ताव आयो । राजेश हमाल, दीपक–दीपासहित उनलाई लैजाने भनी आयोजकले फोटो सुट गरायो । त्यही अनुसारको प्रचार पनि भयो ।

टिमका सबैको भिसा १ सातामा आयो, तर उनको चाहिँ उड्ने दिनको बिहानसम्म पनि आएन । त्यसबेला आयोजकले भनेको उनी सम्झन्छन्, ‘तपाईंलाई भिसा दिएन, अर्को पटक कुरा गरौँला, अहिलेलाई सरी !’

तर, दिउँसो २ बजे भिसा जारी भएको मेसेज आयो । अनि राजेश हमाल र दीपक–दीपासँगै उनले विदेश उड्न पाए ।

‘खाडी मुलुकहरू त सबै गएको थिएँ, बेलायत जान नपाउने हो कि भन्ने चिन्ता खुबै लागेको थियो,’ उनी भन्छन्, ‘त्यो भ्रमणपछि भने विदेशमा मेरो चर्चा भयो, कार्यक्रम पनि धेरै आउन लाग्यो ।’

युट्यूबको जमाना
हिमाल सागरले गायन यात्रा सुरु गर्दा एल्बमको जमना थियो । उनले सातवटा एल्बम निकाल्न भ्याए । त्यसमा उनी सफल भए ।

प्रविधि विकाससँगै सामाजिक सञ्जालमार्फत् गीत सार्वजनिक हुन लाग्यो । अहिले करोड क्लबमा पुगेको गीतको चर्चा हुन्छ ।

हिमाल सागरका दर्जनौं गीत करोड क्लबमा छन् । दुई वर्षअघि सार्वजनिक भएका ‘बगेको खोला फर्कन्छु भन्छ’ सबैभन्दा बढी भ्यूज पाएको उनको गीत हो । सो गीतले २ करोड ९७ लाखभन्दा बढी भ्यूज पाएको छ ।

अर्थात्, उनले सामाजिक सञ्जालको संसारमा पनि आफूलाई हिट गीत दिने गायकका रूपमा परिचित गर्न सफल भएका छन् ।

उनले अहिलेसम्म १५०० भन्दा बढी गीतमा स्वर दिएका छन् । प्रायः उनी आफूले स्वर दिएको गीत आफैँ कम्पोज गर्छन् । ६५ भन्दा बढी देशमा उनले साङ्गीतिक प्रस्तुती दिइसकेका छन् ।

‘मैले २० वर्ष यो क्षेत्रमा बिताएँ । काठमाडौं सहजै आउन नसक्ने मान्छे देश विदेश पुगेँ, नाम र दाम कमाएँ,’ उनी भन्छन्, ‘दर्शकलाई धन्यवाद, मैले चाहेको क्षेत्रमा जीवन जिउन पाएँ ।’

उनी अरूले स्वर दिने गीत पनि कम्पोज गर्छन् । उनी भन्छन्, ‘मलाई सधैँ व्यस्त गराउने नै कम्पोजले नै हो । कार्यक्रम नहुँदा म कम्पोजमै व्यस्त हुन्छु ।’

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ५४ बजे

अवरुद्ध कर्णाली करिडोर खुल्यो

मान्म– पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि

१४ जना जुवाडे पक्राउ  

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

त्रिवेणी– यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

काठमाडौं– अहिले कति बेला पानी पर्छ । कति बेला घाम

सरकारमा पठाउने मन्त्रीहरुबारे कांग्रेसको कोइराला समूहमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा पार्टीका तर्फबाट