सुदूरपश्चिम र कर्णालीले खोजिरहेको भीम रावल | Khabarhub Khabarhub

ब्लग

सुदूरपश्चिम र कर्णालीले खोजिरहेको भीम रावल



मैले नेकपा एमालेका नेता डाक्टर भीम रावलका सन्दर्भमा आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न खोजेको धेरै भयो । अहिलेसम्म विषय अनि सन्दर्भको तारम्यता मिलेको थिएन । त्यसैले उहाँकाबारे लेख्ने उपयुक्त समयको पर्खाइमा रहेँ । म आजभोलि उतिबेलाको पत्रकार होइन, राजनीतिक कार्यकर्ता भएको छु ।

यतिबेला चाहिँ देशमा दुई प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा ( एमाले ) को सरकार बनेको समयमा उहाँबारे चर्चा गर्न उपयुक्त हुने लाग्यो । संविधान संशोधनको परिचर्चा सुरु भएका बेला डाक्टर रावलबारेमा चर्चा गर्नु सान्दर्भिक हुने मेरो बुझाइ हो । यतिबेला उहाँबारेमा छलफल गर्ने र उहाँजत्तिको नेता खोजी गर्ने उपयुक्त समय हो भन्ने मेरो निष्कर्ष पनि हो ।

पूर्वउपप्रधानमन्त्री रावलको राजनीतिक विचारसँग मेरो कुनै पनि साइनो छैन । उहाँ मुलुक हाँकिसकेका, एमालेका उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेपाली राजनीतिमा वाम पृष्ठभूमिका जब्बर नेता, म चाहिँ नेपाली कांग्रेसको कार्यकर्ता । त्यस हिसाबले उहाँले अंगिकार गरेको विचार अनि म कार्यकरता रहेको नेपाली कांग्रेसको सिद्धान्त एक नदीको दुई किनार जस्तै छ । सरसर्ती सतही ढंगले हेर्दा रावलसँग दूरी देखिन्छ । हो पनि उहाँसँग न राजनीतिक निकटता थियो न आगामी दिनमा हुनेछ । उहाँसँग धेरै नजिकको निकटता महसुस हुन्छ । विगतमा पत्रकारको भूमिकामा रहदा उहाँसँग टाढा थिइनँ । आफ्नो भूगोलको जब्बर नेतासँग भौगोलिक नाता पनि छ । भीम रावल अछामी हुनुहुन्छ , सुदूरपश्चिमको हुनुहुन्छ । त्यस हिसाबले उहाँसँग भौगोलिक नाता हुँदा उहाँ हाम्रो नजिकको ठूलो नेता हो ।

राजनीतिक वैचारिक निकटता नभए पनि भौगोलिक निकटताचाहिँ पक्का छ । साँच्चै भन्नुपर्दा अछामको पछिल्लो परिचय भीम रावलसँग जोडिएको छ । मुलुकमा पूर्व-पश्चिम जता जाँदा पनि घर अछाम हो भनेपछि सर्वसाधारणले पनि एमालेका उपाध्यक्ष भीम रावलको नाम उच्चारण गरेको पाइन्छ । म एक दशकअघि नेपालका धेरै जिल्ला पुगेको थिएँ । कुराकानी हुँदा जहिल्यै घर कहाँ हो भनेर सोधिने प्रश्नको उत्तरमा मैले अछाम भन्दा भीम रावलको जिल्ला भनेर धेरैजनाले भनेको याद आइरहेको छ । सामाजिक सञ्जाल व्यापक नभएको जमानमा उहाँकोलोकप्रियता कति थियो भन्ने अनुमान गर्न सक्छौँ ।

अछामभित्र उहाँ सबैको साझा नेता बन्नबाट चुक्नु भएको यथार्थ हो । यसमा उहाँको व्यक्तिगत कमजोरी थिएन भन्ने मेरो ठम्याइ छ ।यसमा चाहिँ डाक्टर रावल शक्तिशाली हुँदा उहाँका अघिपछि लाग्नेको कमजोरी हो । नेपाली कांग्रेसका सामान्य कार्यकर्तालाई पनि उहाँको नामबाट दु:ख दिइयो । उहाँनजिक रहेकाहरूले भीम रावलको शक्तिलाई आफ्नो स्वार्थमा प्रयोग गर्न उहाँलाई सबैको साझा बन्नबाट रोक्न सबैको पहुँचबाट टाढा बनाए ।

इमानदार नेता रावलले तिनको स्वार्थ बुझ्न सक्नुभएन अनि अछाम जिल्लाभित्र आफ्नै पार्टीको फरक लाइननजिक रहेका र अरु पार्टीमा सक्रियका लागि त्यति प्रिय बन्न सक्नु भएन ।

अछाममा चाहिँ उहाँलाई केही खराब प्रवृत्तिका मानिसहरूले दुरुपयोग पनि गरे । प्रहरी प्रशासन लगायत सरकारी शक्ति आफूअनुकूल बनाउन उहाँको शक्ति नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई पेल्न प्रयोग भयो । वचनमा पक्का भएका रावलले आफ्नो कोर ग्रुपलाई विश्वास गर्ने कारण इमानदारीको राजनीति गर्दा आफूनजिक ठानेकाले भनेको कुरा साँचो हो, होइन भन्ने सोधपुछ गरेनन् । त्यसो नगरेर आफ्नालाई आँखा चिम्लेर विश्वास गर्दा प्रतिपक्षी विचार र दलप्रति आक्रामक देखिनुभएको मेरो अनुमान हो ।

उहाँ (पूर्व उपप्रधानमन्त्री रावल ) का नजिक रहेको बताउनेहरूले एक प्रकारले मिथ्या सूचना प्रवाह गरेर मुलुक हाँक्ने नेतामाथि विश्वासघात गरेका थिए । मलाई लाग्छ, गलत सूचना प्रवाह गरेर साझा नेता हुन नदिन उद्यत ती विश्वासघातीहरूबारे आजभोलि आदरणीय रावलज्यूले थाहा पाउनुभयो होला ।

मेरो कुरा के हो भने विश्वासघातीहरूका गतिविधिलाई आधार मानेर मात्रै आजको मितिमा डाक्टर रावलको मूल्याकंन गर्नु गलत हुन्छ । राजनीतिक जीवनमा राजकीय भूमिकामा रहँदा नीतिगत कुरामा रावलले गरेका काम यति धेरै छन्, जसको लाभ अहिले अछाम र सुदूरपश्चिमले पाइरहेको छ । खासमा उहाँको मूल्याकंन संविधान निर्माणमा गरेको कामका आधारमा हुनुपर्छ ।

सेना समायोजन विषेश समितिमा रहँदाको उहाँको अडानलाई डाक्टर रावलको मूल्यांकनको कडी बनाइनुपर्छ । गृहमन्त्री हुँदा लाखौँ बिगाहा सरकारी जग्गा, वनजङ्गलको जग्गाबाट अतिक्रमण हटाउन उहाँको ठोस निर्णयलाई आधार मनेर क्षमताको मूल्याकंन हुनुपर्छ । उहाँको राष्ट्रवादको लाइन बुझेर उहाँबारे धारणा बनाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

हामीले विगतमा नेता रावलका अघिपछि लाग्नेहरूका गतिविधिमा आधारित रहेर उहाँको उहाँको मूल्याकंन गर्‍यौँ भने नीति निर्माण तहमा खेलेको भूमिकाको योगदानको अपमान हुनेछ । ती स-साना कुरालाई आधार मानेर तेजोबध गर्न थाल्यौँ भने हाम्रो भूगोलको प्रतिनिधित्व गरेर हक्की, इमानदार अनि देशप्रति निष्ठावान राष्ट्रवादी राजनीतिज्ञको पहिचानको सम्मान गरेको ठानिँदैन । आफ्नो योगदानका कारण उहाँले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानमन्त्री डाक्टर केआई सिंहको हाराहारीमा उभ्याउनु भएको भन्न कन्जुस्याइँ गर्नु हुन्न ।

उहाँ राजकीय शक्तिमा रहँदा जहिल्यै विरोध गरियो । उहाँरुद्ध धेरै टिप्पणी लेख्नेमध्ये म पनि पर्छु । विगतमा उहाँको विरोध र समर्थनबीच डाक्टर रावलको राम्रो कामको चर्चा हुन सकेन । जुन कुराको उहाँले जस पाउनुपर्थ्यो, त्यसमा कहिले छलफल भएन । उहाँले गरेका असल कामको मैले माथि उल्लेख गरेको विश्वास गरेकाहरूले जनस्तरमा लिन उपयुक्त ठानेनन् ।

भौतिक पूर्वाधारको सवाललाई मात्रै विरोध र समर्थन गर्ने होडबाजी चल्यो । भौतिक पूर्वाधार हेरेर नेताको मूल्यांकन युक्तिसङ्गत नहुने मलाई महसुस भएको छ । उतिबेला हामीले भौतिक पूर्वाधारलाई आधार मानेर लेख्यौँ बोल्यौँ । त्यसैले विगतलाई फर्केर हेर्दै समीक्षा गर्दाको निष्कर्ष आजको मितिमा डाक्टर रावलप्रति सम्मान पलाएको छ । दीर्घकालीन प्रभाव राख्ने नीतिगत पक्का काम गरेर उहाँले सुदूरपश्चिम र अछामलाई धेरै गुन लगाउनु भएको छ ।

अछाममा दुई निर्वाचन क्षेत्र उहाँको कारण मात्रै सम्भव भएको हो । हामीले वरिष्ठत राजनीतिज्ञ रावलको राम्रो कामको प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्नु हुँदैन । संविधान निर्माण प्रक्रियामा भीम रावल नभएको भए अछाम पिछडिएको जिल्लामा समावेश हुने थिएन । केही वर्षयता पिछडिएको क्षेत्रको कोटामा सरकारी जागिरका सबै निकायमा अछामी अगाडि छन् ।

अनि पढाइमा पिछडिएको क्षेत्रको छात्रवृत्ति कोटामा अछामीले बढी लाभ पाएका छन् । एमालेका भए पनि भीम रावलको प्रसायबाट केही अछामी नेता सांसद बन्न पुगे । राजकीय जिम्मेवारीमा सुदूरपश्चिमबाट उहाँका कारण धेरैले लाभ लिए । तसर्थ सुदूरपश्चिम अनि कर्णाली क्षेत्रको एजेन्डालाई निष्कर्षमा पुर्‍याउन डाक्टर भीम रावलको अझै खाँचो छ ।

भीम रावलको बौद्धिकता र उहाँले लिएको राष्ट्रवादको एजेन्डाका कारण उहाँको सान्दर्भिकता आज पनि हिजो जत्तिकै छ । विगतमा अछाममा उहाँका अघिपछि लाग्नेहरू (जो आजभोलि डाक्टर रावलसँग दूरी कायम गरेका छन् ) को तेज पहिले जस्तो छैन । तर भीम रावलको प्रभाव उस्तै छ । उहाँले सामाजिक सञ्जालमा धारणा पोस्ट गर्नेबित्तिकै मूलधारका सञ्चारमाध्यममा प्रमुख समाचार बन्नु उहाँको सान्दर्भिकता हिजो जस्तै आज पनि उत्तिकै छ भन्ने प्रमाण हो । यतिबेला संविधान संसोधनको चर्चा भइरहँदा अछामसहित सुदूरपश्चिम प्रदेश र कर्णालीका लागि काठमाडौंका नीति निर्माण गर्ने थलोमा फेरि डाक्टर भीम रावलको उपस्थिति आवश्यक भएको मेरो बुझाइ हो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ०७ बजे

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन

अनुशासनमा नरहेपछि भीम रावललाई कारबाही : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा – चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा

‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भाइ समानुपातिक सांसदमध्ये मनिष झा

तिलावे पुल मर्मत सम्भारको माग

वीरगञ्ज– पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको