विवादमा तीजका गीत, प्रतिबन्धको अर्थ के ? | Khabarhub Khabarhub

विवादमा तीजका गीत, प्रतिबन्धको अर्थ के ?

‘सर्जकले नै जिम्मेवार हुनुपर्छ’


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीजका गीत कस्ता हुनुपर्छ ? बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजको गीतका शब्द चयन कस्तो हुनुपर्छ ? अथवा तीजको झल्को दिने सबै तीजका गीत हुन् ? कस्ता गीतलाई तीजको गीत भनेर दाबी गर्ने ? यी प्रश्नको जवाफ सर्जकहरूले ठोस ढङ्गले बुझ्नु र बुझाउनुपर्ने बेला आएको छ ।

यसै पनि तीजको छेकोमा अन्य चाडको तुलनामा लोक गीत बढी निस्कने गर्छन् । अहिले तीजलक्षित गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या पनि निकै छ ।

यतिसम्म कि– तीज आउन एक महिना बाँकी छ, एक दर्जभन्दा बढी गीत आलोचनाका शिकार भएका छन् । पाँच गीतमा प्रतिबन्ध लागेको छ ।

मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले स्थापना गरेको भनिएको संस्था ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले तीजलक्षित ५ गीतमा प्रतिबन्ध नै लगाएको हो ।

प्रतिबन्ध लगाइएका गीतहरू हुन्– कविता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रिती आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ तथा प्रिती आले र प्रकाश शर्माको स्वर रहेको ‘चिर्यस बियर’ !

सर्जकले ‘बिस्ताराले पोल्यो’ र ‘चियर्स बियर’लाई तीजको गीत भनेर दाबी गरेका छैनन् । यद्यपि यी पनि द्विअर्थी शब्दका कारण दर्शकबाट आलोचित गीत हुन् । यी गीतमा प्रतिबन्ध लाग्नुको कारणहरू– द्विअर्थी शब्द, गलत अर्थ झल्काउने शारीरिक हाउभाउ र नग्नता नै हुन् ।

यी बाहेक अन्य तीजका गीतहरूको विवाद छन् । कुनै गीतका शब्द यौवनले भरिएका छन् भने केही गीतका भिडियोका दृश्य !

प्रतिबन्धको अर्थ के ?
पछिल्लो पटक प्रतिबन्धित यी गीतका उदाहरण लिँदा प्रतिबन्धको तात्विक असर देखिँदैन ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सञ्चारमाध्यमलाई विकृतिजन्य यी गीतहरू भनेर किटान गरेर स्थान नदिन पत्राचार गरेको सचिव कलम सरगम बताउँछन् ।

तर, कुनै संस्थाको प्रतिबन्ध नै ती गीतहरू प्रचारको माध्यम बन्छन् । प्रतिबन्धको समाचार अथवा चर्चाले ती गीत प्रचार भएकै हुन्छन् । लोक गीतको सेन्सर गर्ने सरकारी निकाय छैन । प्रतिबन्धित गीत सामाजिक सञ्जालबाट हटाउन सर्जकलाई दबाब दिन सक्ने हैसियतका संस्था छैनन् ।

राष्ट्रिय लोक सञ्‍चारकर्मी नेपालद्वारा जारी प्रेस विज्ञप्ति ।

संस्थाका सचिव सरगम भन्छन्, ‘सरकारी निकाय नभएकाले लोक गीतमा विकृति छिर्न नदिने हामीले तदारुकता देखाउनु पर्ने बाध्यता आएको हो । यो अवस्थामा एक्सन लिन सक्ने सरकार मातहतको निकाय चाहिन्छ भन्ने हाम्रो माग हो ।’

अर्कोतर्फ गीत प्रतिबन्ध हुँदाको गम्भीर अवस्थामा पनि सर्जकहरूको व्यवसायिक पक्षमा खासै असर पारेको पाइँदैन । त्यसका उदाहरणहरू हुन्- ज्योति मगर, दुर्गेश थापा, शिव हमाललगायत !

प्रतिबन्धले उल्टै गायक–गायिक र गीतलाई चर्चामा ल्याउँछ । फलतः उनीहरूको माग मेला महोत्सवका प्रस्तुतिका लागि हुने गर्छ । व्यवसायिक पक्ष अझ सुद‍ृढ हुन्छ भन्दा फरक पर्दैन ।

सचिव सगरम पनि यी तथ्यलाई अस्वीकार गर्दैनन् । ‘जिम्मेवार संस्था आयोजना गर्ने कार्यक्रममा पनि गीत प्रतिबन्धमा रहेका कलाकारले प्रस्तुती दिएको पाइन्छ,’ उनी भन्छन्, ‘गीतमा विकृती भित्र्याउने सर्जकहरूलाई उहाँहरूले सोचर निर्णय लिन आवश्य छ ।’

यद्यपि आफूहरूको संस्था सर्जकको सम्पूर्ण पाटोमा हस्तक्षेप गर्ने हैसियत नराख्ने बताउँदै उनी गीत प्रतिबन्धमा परेका कलाकारको ‘कन्सर्ट’ जोखिमपूर्ण नै हुने बताउँछन् ।

उनी थप्छन्, ‘विगतामा हामीले कलाकारलाई नै मञ्चमा आक्रमण भएको पाएका छौं । त्यसको कारण के हो ? गीत र भिडियोमा अश्लीलता कारण दर्शक अनियन्त्रित पनि हुन्छन् ।’

विकृति रोक्ने उपाय के ?

कुनै पनि विधा अथवा अझ मौलिक गीतमा अश्लीलता समावेश हुनु पक्कै पनि राम्रो विषय होइन । यसका लागि नियमन गर्ने सरकारी निकाय खडा हुन आवश्यक छ । अन्यथा गैरसरकारी संस्थाले प्रतिबन्ध लगाउँदा किचलो निम्तने सर्जहरू नै बताउँछन् ।

गायक तथा संगीतकार आलोक श्री भन्छन्, ‘सरकारी निकायले गीतहरूमा सेन्सरको अवधारणा ल्याउनुपर्छ । गैरसरकारी संस्थाले प्रतिबन्ध लगाउँदा विकृति निर्मूल हुँदैन ।’

अझ; पुस्ताअनुसार अश्लीलताको बुझाइ फरक हुने भएकाले नियमनको पाटो गहन रहेको उनको बुझाइ छ । उनी थप्छन्, ‘के अश्लील मान्ने ? कुनै वयस्क मानिसलाई अश्लील लागेको गीत किशोर पुस्तालाई नलाग्न सक्छ । यो जटिल विषय छ । सरकारी नियमन नै आवश्यक छ ।’

यद्यपि आफू विकृतिलाई बढवा दिने पक्षमा नरहेको बताउँदै उनी सर्जकले नै नैतिक रूपमा जिम्मेवार भएर सिर्जना गर्दा उचित हुनेमा जोड दिन्छन् ।

यता मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले संगीत क्षेत्रमा रहेका व्यक्तिहरूले स्थापना गरेका संस्थाका पदाधिकारीहरूको तर्क छ– ‘सरकारी नियमन छैन । तर यही क्षेत्रमा रहेका हामी पनि त आफ्नो क्षेत्र विकृत हुन चुप बस्नु भएन ।’

कम्तिमा पनि सर्जकहरूलाई नैतिक जिम्मेवारमा चेत जगाउन आफूहरू लागि पर्ने उनीहरूको बताउँछन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगम भन्छन्, ‘दर्शकका लागि गीत दिने सर्जकहरू त जिम्मेवार हुनैपर्छ । कम्तिमा सेल्फ सेन्सरमा नैतिकता त देखाउनुपर्छ ।’

‘सेल्फ सेन्सर’मा समस्या हुने सर्जकले राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल जस्ता विकृतिजन्य गीतहरूको खबरदारी गर्ने संस्थाहरूको सहयोग लिन सक्ने बाटो रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : ५० बजे

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

एजेन्सी– अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर

राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव अघि बढाउने प्रचण्डको चाहना

काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व

अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्छ : मन्त्री पौडेल

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले