समाचार

माङसेबुङ : जहाँका तीन युवाले एक महिनाबीचमा विदेशमा ज्यान गुमाए

By खबरहब

September 05, 2024

इलाम- वैदेशिक रोजगारीले देशमा रेमिट्यान्समात्रै पठाइरहेको छैन, सुन्दर भविष्य साँचेर पसिना बगाउन पुगेका युवाहरू शव पनि बाकसमा आइरहेका छन् ।

रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेका बेला दिनदिनै युवाहरू बाकसमा आउने क्रम पनि बढिरहेको छ । यस्तै एउटा नियति भोगेको इलामको माङसेबुङ गाउँपालिकाले ।

जहाँका तीनजना युवकहरूले वैदेशिक रोजगारीका क्रममा एक महिनाबीचमा ज्यान गुएमा छन् ।

पछिल्लो पटक वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका माङसेबुङ गाउँपालिका-१ निवासी युवा डकिन्द्र योङहाङले पनि ज्यान गुमाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बूका अनुसार देशमै फर्केर केही गर्छु भनिरहेका डकिन्द्र विदेशी भूमिमै बिते ।

‘अब फर्केर जन्मभूमिमै केही गर्छु’, डकिन्द्रको भनाइ उद्धृत गर्दै मिलनले भने, ‘आशा थियो- उनी छिट्टै फर्कन्छन् र मिलेर इलाममै केही गर्ने छौँ । विडम्बना, डकिन्द्र फर्किए बाकसमा, सधैँलाई बिदा भएर ।’

होनहार युवाहरू एकपछि अर्को विदेशमा बित्न थालेपछि मिलनले माङसेबुङलाई दशा लागेको बताए । ‘पछिल्लो एक महिनामा माङसेबुङले नरेन्द्र योङहाङ, पर्वत राई, डकिन्द्र योङहाङ र हर्क कुरुम्बाङसहित ४ होनहार युवा गुमाएको छ’, उनले सुनाए, ‘नरेन्द्रबाहेक पर्वत, डकिन्द्र र हर्क परदेशमै अस्ताए ।’

उनका अनुसार दुई हप्ता अघि मलेसियामा बितेका पर्वतलाई केही दिनअघि मात्रै नेपाल ल्याएर अन्त्येष्टि गरिएको थियो । दुई हप्ताअघि नै यूएईमा बितेका डकिन्द्रलाई बिहीबार घल लगेर अन्त्येष्टि तयारी गरिएको छ । हर्कको शव ल्याउनै बाँकी रहेको उनले बताए ।

‘वैदेशिक रोजगार नियति बनेको छ । सँगै, सुनौला सनपाहरू परदेशमै ओइलाइरहेका छन्’, उनले भने, ‘पर्वत, डकिन्द्र र हर्क जस्तै सयौँ युवाको सपना परदेशमै ओइलाएको छ । अझै कतिको जीवन र सपना परदेशमै सकिने हो थाहा छैन ? अब त यो नियति अन्त्य गर्नु पर्छ ।’