तिहारसम्म मध्यभोटेकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने | Khabarhub Khabarhub

तिहारसम्म मध्यभोटेकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने

ठेकेदारको लापरबाहीले समय र लागत दुवै बढ्यो



काठमाडौं आगामी तिहारसम्म १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, आगामी २ महिनाभित्र उक्त जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम सम्पन्न भइ उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिने भएको हो ।

आउँदो २ महिना वा तिहारभन्दा अघि नै प्रसारणतर्फका सम्पूर्ण काम सम्पन्न गरी उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए ।

‘आयोजनाको विद्युत प्रसारण लाइनको बाँकी रहेको निर्माण कार्य तत्काल सुरु गरी आगामी दुई महिनाभित्र वा तिहारसम्म प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य लिएका छौं ।’ प्रवक्ता चटौतले बताए ।

उनका अनुसार, १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माणको कार्य अन्तिम चरणमा छ । प्रसारण लाइन निर्माणको ढिलाइका कारण आयोजनाले व्यवसायिक विद्युत उत्पादन सुरु गर्न सकिरहेको छैन । आयोजनाबाट उत्पादित बिजुली प्रसारण प्रणालीमा जोड्न ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण हुनुपर्छ । 

हालसम्म १३ वटा टावरको टावर इरेक्सन र प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्ने जग्गाको क्षतिपूर्ति दिने काम सम्पन्न भइ तार तान्ने काम अघि बढेको थियो । जसमध्ये बाह्रबिसे नगरपालिका–३ सिङआर्चेकुखुरेमा पर्ने ७ वटा टावरमा तार तान्ने काम सम्पन्न भइसकेको छ ।

बाह्रबिसे नगरपालिका–३ पलातीमा पर्ने ६ वटा टावरमा तार तान्ने काममा स्थानीयको अवरोध हुँदै आएको छ । उक्त क्षेत्रमा तार तान्ने काम विगत एक वर्षअघि देखि रोकिएको आयोजनाले जनाएको छ ।

२०८० असार १६ गते देखि त्यहाँका स्थानीयले जग्गा उपयोग, रुख कटान कार्य गर्न अवरोध गरिरहेका थिए । तर, ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले त्यहाँका स्थानीय सरोकारवालासँग अवरोध हटाएर सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

मन्त्री र राज्यमन्त्री द्वयले गत भदौ १२ मा प्रसारण लाइन अवरुद्ध भएको क्षेत्रमा पुगेर स्थलगत अवलोकन समेत गरिसकेका छन् । ऊर्जामन्त्री खड्काले स्थानीय सरोकारवाला निकायसँग छलफल गरेको र छलफलका क्रममा पलाती क्षेत्रका स्थानीहरू तार तान्ने काममा अवरोध नगर्ने र सहजीकरण गर्न सहमत भएसँगै प्रसारण लाइन निर्माणको काम अघि बढेको छ ।

लामो समयदेखि प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान भएकाले आगामी दुई महिनाभित्र आयोजनाले व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु गर्ने मन्त्रालयका प्रवक्ता चटौतले बताए । आयोजनाबाट उत्पादित बिजुली बाह्रबिसे सवस्टेशनमा ल्याएर चार्ज गरिने उनले बताए ।

सन २०१३ मा निर्माण सुरु भएको मध्यभोटेकोशी जलविद्युत् आयोजना सन २०१६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, विश्वव्यापी कोरोना महामारी, नाकाबन्दी, भूकम्पलगायतका कारणले आयोजना निर्माण अवरुद्ध हुँदा निर्माणकार्यमा ढिलाई हुँदै आएको छ ।

आयोजनाको सिभिल एण्ड हाइड्रोमेकानिकल निर्माणको काम चिनियाँ निर्माण कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले गर्दै आइरहेको छ ।

आयोजनाको इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेल निर्माण गर्ने गरी निर्माण कम्पनीले ठेक्का पाएको थियो । तर, ठेकेदार कम्पनीले निर्माणमा गरेको ढिलाइ र लापरबाहीका कारण पनि आयोजना लम्बिँदै आएको थियो ।

यता, एन्ड्रिज हाइड्रोले भने आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फको निर्माणको ठेक्का पाएको थियो । हालसम्म आयोजनाको ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

 चिलिमे मोडेलको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडमार्फत आयोजना निर्माण भइरहेको छ । निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न हुन नसक्दा लागत र समय समेत बढेको छ ।

सुरुवातमा निर्माण अवधिको ब्याजबाहेक साढे १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा निर्माणकार्यको ढिलाइका कारण संशोधित लागत अनुमान ब्याजबाहेक १५ अर्ब नाघ्ने देखिएको छ । आयोजना निर्माण गर्न कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता गरिएको थियो । 

कम्पनीको ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट पूँजी जुटाउने गरी आयोजना निर्माण अघि बढाइएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु भन्ने स्थानमा निर्माणाधीन आयोजनामा ७.२ किलोमिटर लामो सुरुङमार्गमार्फत पानी खसाली बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाबाट वार्षिक ५४ करोड युनिट बिजुली उत्पादित हुनेछ । आयोजनाको बिजुली हिउँदमा ८.४० रुपैयाँ र बर्खायाममा ४.८० रुपैयाँ प्रतियुनिटका दरले खरिद गर्ने गरी प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पीपीए) समेत भइसकेको छ । कम्पनीले विद्युत् बिक्रीबापत वार्षिक झन्डै ३ अर्ब आम्दानी हुने अनुमान छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : १० बजे

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक