भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा « Khabarhub

भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् ।

‘अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजार रुपैयाँसम्म खर्च भएको थियो’, उनले भने ।

केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भीषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो’, उनले भने ।

कोशी ब्यारेजकै किसान लक्ष्मण प्रमाणीले दशैँ लगत्तै धान काट्ने सोचमा थिए । तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । ‘चार  बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ’, उनले भने, ‘हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।’

त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन् । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।

यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कविरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनको भनाइ छ ।

किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय बुदुर राम र फुदुर रामको दुई–दुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।

धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट आएका जलकुम्भी, विभिन्न झारपातले भरिएको छ ।

पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएको बाढीले केही घरमा क्षति पु¥याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतीमा क्षति गरेको छ  ।

त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो  । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : २१ बजे

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे