देश/प्रदेश

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

By खबरहब

October 05, 2024

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ ।

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।