पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

खोटाङ – अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि शनिबार खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। 

‘अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ’, उनले भने, ‘पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।’

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिज्ज जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारी साधन (गाडी) जयरामघाट, डौँठेखेलादिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारलगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए । 

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मतकार्य शुरु गरिएको छ । 

मध्यपहाडी लोकमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । दसैँतिहार मान्न राजधानी काठमाडौँ तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दालाई सहजरुपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका दशवटै स्थानीय तहले अवरुद्ध सडक मर्मत सुरु गरेपनि अहिलेसम्म सम्भव भएको छैन । 

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघि पहल थालिए पनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दसैँतिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसमेतले आग्रह गरेको थियो । 

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएपछि दसैँतिहार मान्न विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् । 

ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि अधिकांश यातायातका सवारी साधन दिक्तेल बजारमै थन्क्याएर राखिएका छन् । कमाइ हुने समयसमेतमा अवरुद्ध सडकका कारण यातायातका सवारी साधन थन्क्याएर राख्नुपर्दा व्यवसायीलाई ठूलो क्षति भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ७ : ४४ बजे

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो,

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण

वीरगञ्जबाट धान चामल आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल

टीकापुर– सपना विककी आमा सेतु विकले छोरीले वडा कार्यालयबाट साइकल