काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।
सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।
गेर्हार्ड काठमाडौंका लागि सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनले ३३ बलमा ३७ रन जोड्न ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० /१० रनको योगदान दिए । काठमाडौंका अरु ब्याटर दोहोर स्कोर गर्नबाट चुके ।
काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।
नरेनले नामिबियाका अलराउन्डर काठमाडौंका गेर्हार्ड इरास्मस, इङ्ल्यान्डका मध्यक्रमका ब्याटरसमेत रहेका स्टिफन एस्किनाजी, रसिद खान, करण केसी र शाहब अलामको विकेट लिएका हुन् ।
काठमाडौंका दुवै ओपनर माइलक लिभर्ट र शंकार रानाले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ नरेनलेबाहेक अभिनाश बोहोराले २ विकेट लिए । ब्रान्डन म्याकमुल्लेन र सैफ जाइबले समान १–१ विकेट लिए ।
तस्बिरहरू : चिरायु शाक्य
प्रतिक्रिया