देउवाको निर्देशन मानेनन् शेखरले, जनप्रतिनिधि बोलाएर कोशीमा शक्ति प्रदर्शन | Khabarhub Khabarhub

देउवाको निर्देशन मानेनन् शेखरले, जनप्रतिनिधि बोलाएर कोशीमा शक्ति प्रदर्शन


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिले विराटनगरमा प्रदेशस्तरीय भेलाको तयारी गरिरहँदा इतर समूहले शक्ति प्रदर्शन गरेको छ । कोशी प्रदेश कार्यसमितिले मंसिर २२ का लागि प्रदेशस्तरीय भेलाको तयारी गरिरहेका बेला इतर समूहले विराटनगरमा मंसिर १८ मा पालिकास्तरीय भेलामार्फत् शक्ति प्रदर्शन गरेको हो ।

केन्द्रीय कार्यालयले कोशी प्रदेश कार्यसमितिलाई मंसिर २२ मा हुने सम्मेलनपूर्व पार्टीको कुनै कार्यक्रम नरहेको जानकारी प्रदेशका सबै पालिकालाई आवश्यक जानकारी गराउन भने पनि इतर समूहको आयोजनामा दुई दिने भेला भइसकेको छ ।

इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा विराटनगरमा उक्त समूहले कोशी प्रदेशअन्तर्गतका पालिकाका सभापतिहरूको भेला गरेको हो । भेलामा १३७ मध्ये ११३ पालिकाका सभापतिहरू सहभागी भएको दाबी इतर समूहको छ ।

पालिकास्तरीय भेलाको संयोजन गरेका विराटनगर महानगरपालिका कार्यसमिति सभापति दीपक चापागाईंले सबै पालिकाका सभापतिहरूलाई आमन्त्रण गरिए पनि केहीका सभापति अनुपस्थित भएको बताए ।

‘कोशीका ११३ पालिका र ५ महानगरपालिकाका सभापति सहभागी हुनुहुन्थ्यो । हामीले सबैलाई बोलाएका थियौँ,’ उनले खबरहबसँग भने, ‘कोही कार्यव्यस्तताले गर्दा, कोही घरमा समस्याले र अन्य सम्पर्कमा नरहेकाले अनुपस्थित रहेको अवस्था थियो ।’

तथापि, संस्थापनले इतर समूहको पालिकास्तरीय भेला रोक्ने प्रयास गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयले मंसिर १७ गते कोशी प्रदेश कार्यसमितिलाई पत्र पठाएर इतर समूहको भेला रोक्न निर्देशन पनि जारी गरेको थियो ।

‘कोशीको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश समितिको आयोजनामा कार्यक्रम निर्धारित छ । मंसिर २२ पूर्व कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने÷नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मंसिर २२ मा हुने सम्मेलनपूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी यस सम्बन्धमा प्रदेशअन्तर्गत रहेका सम्पूर्ण पालिकाहरूलाई आवश्यक जानकारी गराई दिन हुनसमेत निर्देशानुसार अनुरोध छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो ।

तर, इतर समूहले पूर्वनिर्धारित कार्यक्रम भन्दै पालिकास्तरीय भेला रोक्न मानेन । विराटनगर महानगरपालिका सभापति चपागाईंले पूर्वनिर्धारित कार्यक्रम र केन्द्रले प्रदेश कार्यसमितिलाई पठाएको पत्रमा पनि कार्यक्रम रोक्नेबारे उल्लेख नभएको जिकिर गरे ।

शेखर समूहले विराटनगरमा गरेको भेला

‘कृष्णप्रसाद पौडेलको नाममा एउटा चिठी सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसमा कोशी प्रदेशको कुनै कार्यक्रम नरहेको भनेर लेखिएको थियो । कार्यक्रम स्थगित गरिएको र कार्यक्रम गर्नु हुँदैन भनेर त्यसमा केही पनि लेखिएको थिएन,’ चपागाईंले भने, ‘पूर्वनिर्धारित कार्यक्रम थियो । दशैंदेखि नै तयारी गरेका थियौँ । शेखर दाइको समय नमिलेर दुई–चार दिन तलमाथि भएको हो ।’

नेता कोइरालाको सचिवालयले पनि विराटनगरमा सम्पन्न पालिकास्तरीय भेला पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत आयोजना गरिएको भनेको छ । ‘असारदेखि गर्ने भन्दा–भन्दै समय नमिलेर अहिले गरिएको हो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।

इतर समूहले विराटनगरमा गरेको ‘कोशी प्रदेशस्तरीय स्थानीय तह (पालिका) का सभापतिहरूको भेला’ मा नेता कोइरालासँगै केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजीव कोइराला, डा. चन्द्रमोहन यादव र रुक्मिणी कोइराला सहभागी थिए ।

यस्तै पार्टीको कोशी प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापा, पूर्वकेन्द्रीय सदस्यहरू गुरु घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारी पनि भेलामा थिए । जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), केदार भण्डारी (सुनसरी), बिनोद वान्तवा (भोजपुर) र रुपनारायण जबेगु (पाँचथर) पनि सहभागी थिए ।

यस्तै प्रतिनिधिसभा सदस्य डा. सुनील शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, पूर्वजिल्ला सभापतिहरू नरेन्द्र केरुङ (पाँचथर), गोविन्द ढंगाना (तेह्रथुम), बालकृष्ण थापा (भोजपुर), गोमा केसी (ओखलढुंगा) सँगै महानगर सभापतिहरु नीलकाजी शाक्य (काठमाडौं), सुरेन्द्रमान बिजुक्छें (पोखरा), सुवानन्द धाख्वा  (ललितपुर), मणिन्द्रराज नेपाली (वीरगञ्ज) र दीपक चापागाईं (विराटनगर) पनि भेलामा सहभागी भए ।

शेखर समूहले विराटनगरमा गरेको भेलाका सहभागीहरू

इतर समूहको भनिँदा असन्तुष्टि

विराटनगरमा सम्पन्न पालिकास्तरीय भेलालाई इतर समूहको भेला भनिएपछि कोइराला समूह सन्तुष्ट छैन । भेलाको संयोजन गरेका विराटनगर महानगरपालिका सभापति चापागाईंले आफूहरूले समूहको नभएर कांग्रेसको भेला गरेको प्रतिक्रिया दिए ।

‘इतर पक्षको भेला भए सबै पालिका इतर पक्षमा छन् भन्ने बुझ्नुपर्‍यो । होइन भने हामीले कांग्रेसको भेला गरेको हो,’ चापागाईंले भने, ‘कांग्रेसका सभापतिहरूलाई बोलाइएको हो । व्यक्तिगत रुपमा कसैलाई बोलाइएको थिएन ।’

इतर समूहले भेला गर्नुको उद्देश्य के थियो ? महानगर सभापति चपागाईंले भने, ‘१७ पालिकाको संयुक्त आयोजनाद्वारा पार्टीका पालिकाका सभापतिहरूसँग सौहार्दपूर्ण वातावरणमा कार्यक्रम गरौँ । यसलाई देशव्यापी बलियो बनाउने अभियानमा सबैलाई जागरुक बनाऔँ भन्ने उद्देश्य थियो ।’

पालिकास्तरीय भेला गरेर आफूहरूले मुख्य गरी दुई सन्देश दिन खोजेको बताए । ‘पहिलो सन्देश भनेको समयमै महाधिवेशन गरौँ भन्ने हो । निर्धारित समयमै कुनै जालझेल नगरी, समय नथपी पार्टीलाई बलियो बनाउने र संगठनलाई सुदृढीकरण गर्ने हो भने समयमा महाधिवेशन हुनुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘अर्को पालिकाका सभापतिहरूको हक–अधिकारलाई संरक्षित गर्नुपर्‍यो । पालिका र निर्वाचित जनप्रतिनिधिबीचमा समन्वयात्मक र आपसी छलफलद्वारा कांग्रेसको घोषणा पत्रअनुसारको कार्यहरू जनप्रतिनिधिले गर्नुपर्‍यो । त्यसमा पालिकाका सभापतिहरूसहितको छलफल गरेरमात्रै योजनाका कुरा अगाडि बढाउनुपर्‍यो । जसले गर्दा कांग्रेस जनतासँग जोडिन्छ भन्ने हाम्रो कुरा हो ।’

१४ औँ महाधिवेशनमा कोइराला समूहबाट चुनाव जितेका एक पदाधिकारीनिकट नेताले विराटनगरमा भेला आयोजना गरेर पार्टीभित्र शक्ति देखाउन खोजेको टिप्पणी गरे ।

‘प्रदेश भेला हुने भएर रियाक्सनका लागि पालिका गरेको भेला हो,’ ती नेताले भने, ‘फेरि, कोशी प्रदेश शेखर कोइरालाको होम ग्राउन्डजस्तो पनि भयो । शक्ति प्रदर्शन गर्नुपर्छ भनेर पालिका भेला गरिएको हो ।’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ६ : ५४ बजे

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप