उत्पादन क्षेत्र हुँदाहुँदै पनि आयातित कफीकै भर | Khabarhub Khabarhub

अर्थ

उत्पादन क्षेत्र हुँदाहुँदै पनि आयातित कफीकै भर

खपत हुन्छ ६ हजार मेट्रिकटन, उत्पादन भने ५०० मेट्रिकटन


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कफी पारखी बढ्दैछन् । युवादेखि प्रौढ पुस्तासम्म ‘क्याफे कफी कल्चर’मा रमाउन थालेका छन् । देशका मुख्य शहरमा जताततै क्याफे खुलेका छन् । देशभर क्याफेकै सङ्ख्या सात हजार हाराहारीमा छ ।

दैनिक जीवनमा चियाको सट्टा कफी रोज्ने बानी विकास भइसकेको देखिन्छ । शारीरिक र मानसिक थकान मेटाउन वा निन्द्रा भगाउन पनि कफी पिउनेहरू बढ्दैछन् ।

नेपालमा वर्षेनी करोडौं रुपैयाँ बराबरको कफी आयात हुँदै आएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिना (साउनदेखि कात्तिक) सम्म ४९ करोड २८ लाख ४५ हजार रुपैयाँ बराबरको कफी आयात भएको छ ।

नेपालका धेरै जिल्लामा व्यवसायिक कफी खेती हुँदै आइरहेको छ । विभिन्न ४३ जिल्लामा खेती भइरहे पनि उत्पादन भने जम्माजम्मी ५०० मेट्रिकटनमात्रै हुने गरेको छ । देशभित्रै वार्षिक कफी खपत चाहिँ ६ हजार मेट्रिकटनसम्म हुने गरेको छ । यो तथ्याङ्क नियाल्दा देशभित्र उत्पादन हुने कफीको परिमाण खपत हुनेभन्दा निकै न्यूनमात्रै छ ।

पहिले देशभित्रै उत्पादन हुने कफीको परिमाण बजार माग धान्न लगभग पुग्ने भए पनि पछिल्लो समय अवस्था उस्तै छैन । कफीको माग ह्वात्तै बढ्दा नेपाली उत्पादन अपुग भएको चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख लक्ष्मण पोखरेलले बताए ।

उनका अनुसार; अहिले नेपालमा चार हजार ३०० हेक्टर जमिनमा मात्रै कफी खेती गरिएको छ । तर, नेपालमा १३ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिन्छ । त्यसमा पनि ६१ हजार हेक्टर क्षेत्रफलमा उच्च गुणस्तरको कफी उत्पादन गर्न सक्ने जमिन छ । तर, उत्पादन नगन्य रहेको पोखरेल बताउँछन् ।

कफी खेतीमा नेपालका करिब ३१ हजार किसान सङ्लग्न छन् । नेपालमा उत्पादन हुने प्राङ्गारिक (अर्गानिक) कफीको माग विश्व बजारमा नै अत्याधिक छ ।

तर, नेपालमा आवश्यक पर्ने जति पनि कफी उत्पादन गर्न नसकेको अवस्था छ । ‘हाम्रो नेपालमा उत्पादन हुने अर्गानिक अराबिका कफीको माग अहिले नै विदेशमा १५ हजार मेट्रिकटनभन्दा बढी छ । आन्तरिक बजारमै पनि यसको माग ६ हजार मेट्रिकटनभन्दा बढी छ । तर, उत्पादन भने एकदमै कम छ,’ पोखरेल भन्छन् ।

पोखरेलका अनुसार; सरकारले पनि कफी खेतीतर्फ किसानलाई खासै प्रोत्साहन गर्न नसकेको र कफी उत्पादन लागत महँगो हुने भएका कारण यसबाट किसानले धेरै फाइदा लिन नसक्दा पनि उत्पादन बढ्न नसकेको देखिन्छ । सरकारले केन्द्र, प्रदेश, स्थानीय सरकारसँग समन्वय गरी किसानलाई कफी खेती गर्न सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्न सके कफी खेती बढ्ने उनले बताए ।

नेपालमा कफी खेती गर्न आकर्षित भएका अन्य देशका लगानीकर्तालार्ईे स्वागत गर्नुपर्ने बोर्डका प्रमुख पोखरेलको भनाइ छ । प्राविधिक सल्लाह–सुझाव दिने परामर्श केन्द्र स्थापना पनि आवश्यक रहेको उनी बताउँछन् । नेपालमा अझै गुणस्तरीय जातका कफीका बीउ भित्र्याएर उत्पादन बढाउनेतर्फ लाग्न आवश्यक रहेको उनी औँल्याउँछन्‌ ।

‘नेपालमा उत्पादन हुने अराबिका कफीको मूल्य पछिल्लो समय सबैभन्दा महँगो छ । यस्तो समयमा हामीले उत्पादन बढाएर निर्यात गर्न सक्यौँ भने धेरै फाइदा लिन सक्छौँ । आन्तरिक प्रयोजनमा पनि आयात कम हुँदा नेपालको रकम नेपालमै रहन्छ । नेपालमा पनि कफी सम्मेलनहरू आयोजना गरी यसलाई विस्तार गर्न आवश्यक छ,’ पोखरेल भन्छन् ।

यस्तो छ पाँच वर्षको आयात तथ्याङ्क

नेपालमा बितेका पाँच वर्षको तथ्याङ्क केलाउँदा आर्थिक वर्ष २०७६/०७७ मा २७ करोड २१ लाख ६७ हजार रुपैयाँको कफी आयात भएको देखिन्छ । सो वर्ष विभिन्न देशबाट गरी चार लाख २८ लाख ६३५ किलोग्राम कफी आयात भएको हो । यस्तै, चार करोड ७७ लाख रुपैयाँको ५७ हजार ९१३ किलोग्राम कफी निर्यात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा २८ करोड २२ लाख ६८ हजार रुपैयाँको तीन लाख ९२ हजार ९९४ किलोग्राम कफी आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो आर्थिक वर्षमा नेपालबाट नौ करोड ६० लाख रुपैयाँको ७२ हजार ३८८ किलोग्राम कफी निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १४ करोड ५२ लाख ६२ हजार रुपैयाँको तीन लाख ६ हजार १९९ किलोग्राम कफी आयात भयो । सो वर्ष ११ करोड ७० लाख ८३ हजार रुपैयाँको ६९ हजार ५१६ किलोग्राम कफी निर्यात भयो ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा पनि कफी आयात बढेको देखिन्छ । उक्त अवधिमा एक अर्ब २० करोड ९७ लाख ५४ हजार रुपैयाँको आठ लाख १९ हजार ४३२ किलोग्राम कफी आयात भयो । सो वर्ष १३ करोड चार लाख ४१ हजार रुपैयाँको ७७ हजार ८६१ किलोग्राम कफी निर्यात भएको सरकारी तथ्याङ्क छ ।

आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५३ करोड २० लाख २७ हजार रुपैयाँको आठ लाख ६२ हजार १९१ किलोग्राम कफी आयात भएको देखिन्छ । एक वर्षमा २७ करोड ११ लाख ९७ हजार रुपैयाँको ८९ हजार ९५९ किलोग्राम कफी निर्यात भयो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : १४ बजे

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप