दक्षिणका काग, उत्तरमा राग | Khabarhub Khabarhub

दक्षिणका काग, उत्तरमा राग



एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै थियो । यत्तिक्कैमा बीरबल राजसभामा टुप्लुक्क देखा परे । उनलाई देख्नासाथ राजाले यही प्रश्न तेर्स्याए । बादशाहको प्रश्न झर्न नपाउँदै बीरबलले उत्तर दिए– ‘पृथ्वीनाथ ! दिल्लीमा यत्तिखेर सबै मिलाएर तीस हजार नौ सय असी काग छन् ।’

यस्तो कठिन प्रश्नको सहजै उत्तर पाएर राजा सशंकित हुँदै प्रश्न सोध्छन– ‘तिमीले त गनेकै जस्तो गरी फ्याट्ट बतायौ । काग गनेर बस्ने फुर्सद तिमीलाई कहिले भयो ? कसरी गन्यौ ? यदि तिमीले भनेको संख्या एक मात्र तलमाथि भयो भने त्यति नै रुपियाँ दण्डित गरिने छ ।’

बादशाहको शंका निवारण गर्दै बीरबलले भने– ‘शहरमा कागको संख्या मैले भने जति नै हो । यदि सरकारले गन्दा कम या ज्यादा भए म जिम्मेवार हुने छैन किनभने कोही परदेश गएका भए घट्न सक्छ, कतैबाट पाहुना आएको खण्डमा बढ्न सक्छ । यदि यो दुवै नभएको स्थितिमा मेरो गन्तीमा फरक पर्दैन ।’ बीरबलको तर्कपूर्ण उत्तरबाट राजा मौन भए ।

नेपालको संघीय गणतान्त्रिक व्यवस्था र बीरबलको काग गनाई ठ्याक्कै उस्तै भएको छ । नेपालको राजनीति दिल्ली, चीन, अमेरिका र युरोपका यस्तै प्रयोजनहीन काग गनेर उनीहरुको रंग खुट्याउनमै अल्मलिएको दशकौं भइसक्यो । एकाध दिन अघिकै उदाहरण हेरौं न । भारतीय विदेशमन्त्री एस. जयशंकरको दर्शनभेटमा सबै ताँती लागे । जसले त्यो अवसर पाएनन ‘राष्ट्रघात’को जामा पहिरिएर सराप्न उत्रिए ।

शासन सत्तामा आफ्नो खेलोफड्को नचल्ने भएपछि हरेक नेतामा माटोको माया थामिनसक्नु भएर उम्लिने परम्परा पुरानै हो । समकालीन नेताले भारत र चीनसँग बुझेको कूटनीतिको अन्तिम ज्ञान भनेको स्वतन्त्रता दिवसमा बाँडिने स्कुल बस, एम्बुलेन्स, एकाध छात्रवृत्ति उछिट्याएर पारिवारिक र राजनीतिक उन्नयनमा उपयोग गर्नु नै हो । यो अवसरबाट वन्चित उत्तरको खाँडो जगाएर अर्को खरानीमा आगो उधिन्न थालेका छन् ।

भारत र चीनलाई डिलर बनाएपछि मात्र नेपालमा खुद्रे व्यापार चल्छ भन्ने मानसिकतामा कहिल्यै परिवर्तन आएन । हिमालसम्मको उत्तरी सीमालाई आफ्नो देशको फैलावट मान्ने जवाहरलाल नेहरु डक्ट्रिन र हातका पाँचवटा औंलामध्ये एउटा औंला नेपाल ठान्ने माओत्सेतुङको कूटनीति उनीहरुकै देशमा खोटो मोहोर भइसक्दा पनि हामी भने पुछपाछ गरेर त्यसैलाई शालिग्राम मानेर पुजिरहेका छौं ।

उत्तर– दक्षिणमा पानी पर्दा यहाँ छाता किन्नेहरुको संख्या बढ्नुको प्रयोजन पनि त्यही नै हो । खुर्सानी स्वभावैले पिरो हुन्छ । चिनी गुलियो हुन्छ भन्ने कुन उल्लूलाई थाहा नहोला । तर यहाँको राजनीति हाँक्ने सारथीहरुले दशकौं देखि खुर्सानी पिरो र चिनी गुलियो भनेर भाषण गर्दा पर्ररर ताली पाइरहे ।

शनिबारको भोलिपल्ट आइतबार आउँछ भन्नेहरु क्रान्तिकारी दरिए । बाउछोरा, दाजुभाइ, लोग्ने स्वास्नीले देशको कार्यकारी पद बाँडचुँड गरेर खाएको दृश्यलाई नेताहरुले ‘लोकतन्त्रको सुन्दर पक्ष’ भनेर धुलो उडाउँदा त्यही धुलो तिलक मानेर शेचन गर्नु आज्ञाकारी नागरिकको कर्तव्य बन्यो ।

सत्तारोहण हुँदा लोकतन्त्र फलेको फुलेको देख्ने सत्ताबाट झर्नासाथ लोकतन्त्रमा खग्रास ग्रहण लागेको भन्दै भाउन्न हुनेहरु अब्बल दर्जाका साधक भए । नेपालमा यस्तो लोकतन्त्र आयो कि चुनावमा तेस्रो स्थान प्राप्त गरेको दललाई सत्ताको चाभी दिएर पहिलो दल खजान्ची बन्न बाध्य छ ।

दोस्रो स्थान प्राप्त दल देश दर्शन नामको ‘पिकनिक’ सिध्याएर तिनै फोटा सामाजिक सञ्जालमा हालेर आत्मरतिमा व्यस्त छ । ‘बा’को तमासाले तमाम सत्ताबाट ओरालो लागेको एमाले अहिले ०८४ सालको अनिश्चित भविष्यको हिसाब किताब कोरेर बसिरहेको छ । उसलाई यो पनि थाहा छ– बरु सर्पवाला लुँडो खेलमा विजय निश्चित हुन सक्ला तर संसदीय चुनावको प्रक्षेपण सहज छैन ।

भोग्दै जाँदा अब एउटा यस्तो घडी आउने छ, सत्तालाई जागिर ठान्नेहरुले पेन्सनको सुविधा दिलाएर राजनीतिलाई विधिवत जागिरमा रुपान्तरण गर्ने छन् । नेपालको राजनीतिमा अब के हुन्छ ? यही अमूर्त र त्रासदी प्रश्नको उत्तर खोज्दाखोज्दै नातिपुस्ता हजुरबामा परिणत हुँदा पनि भेउ नपाई धर्तीबाट विदा हुनेछन् ।

स्याल कराउने र कुखुरो हराउनेको उक्ति नै हाम्रो राजनीतिको जमिन प्रमाणित हुनु नेपालीको दुर्भाग्य नियति दुखद हो । हाम्रा नेता दशगजाका पोके व्यापारीजस्तै हुन । यिनीहरु भारत, चीन, अमेरिका मात्र होइन, बोकोहराम, अलकायदा, छोटा राजन, पण्डा, पादरी, लामा सबका प्रसाद भ्याइदिन्छन । आफू प्रतिनिधित्व व्यवस्थापिका र कार्यपालिकाको गर्छन, शक्तिशाली न्यायालय बनाउँछन । सिंहदरबारभित्रका बडेमाका घर र दलहरुका पार्टी कार्यालयले त गुठीभन्दा माथिको हैसियत नै पाउन सकेनन ।

फर्सीले चुलेसी, चुलेसीले फर्सी जे काटेपनि आखिर मर्ने नेपालीको न्याय हो । नेपालका हरेक अंग भुत्ते बनाउने रणनीतिमा प्रचण्डलाई सतप्रतिशत सफलता मिल्दै आएको छ । उनी त तातो ताउलोको हनबेर्नो हुन । आखिर स्वार्थसमूहले सर्वत्रले बाजी मार्दै गएको छ ।

हिटलर, मुसोलिनी, इदिअमिन, विन लादेन, सद्दाम हुसेनदेखि जंगबहादुरसम्मका पात्र कुनै दिन दालभात डुकू पीडित थिए । यस्तै अवसरवादी र छाते च्याउजस्तो मनोविज्ञानका मानिसहरुको भीडले उनीहरुलाई निर्दयी शासक बनायो ।

साँचो अर्थमा नेताहरु कार्यकर्तामाझ घोडाभन्दा अघि देखिएको बग्गीजस्ता भएका छन् । तर मुखुण्डो फेरेर अनुहार त किन किन फेरिन्थ्यो र ? आफ्नै चेला चपाटीहरुको नजरमा उनीहरु निर्देशित रोबर्टभन्दा माथि उठ्न सकेका छैनन् । बरु तिनीहरुको चरित्र दूधचोर विरालाको जस्तो भएको छ । जसले दूध खाएको देखिदैन तर कुटाई खाएको सबैले देख्छन् ।

यदि राजनीतिमा नैतिकता नामको कुनै पदार्थ जीवित हुन्थ्यो भने समकालीन राजनीतिका सारथीहरुले नाकका चालमा सत्ताको लालचा छोडनु पथ्र्यो । मार्टिन लुथर किंग भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन, त्यहाँ मूर्खहरुको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौ भने दौड, दौड्न सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जे सुकै गर तिमी अघि बढ्नुपर्छ ।’

जिन्दगीमा जब ठूला ठूला बस्तुहरु मिल्छन तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । चाल्र्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर राउण्डमा लेखेका छन्– ‘कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउने छन, जो सानो भन्दा सानो कुरामा ध्यान दिन्छ ।’

अबको युग अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । राजनीति अविराम सेवा हो । यसले सदैव बहुआयामिक सन्तुलनको माग राख्छ । प्रकृतिले मिलाएको सन्तुलन विगार्न खोज्नेहरु आपैंm खरानी हुने निश्चित छ । हेर्नुस त हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् ।

अंग्रेजकालिन भारतमा उतिबेलै नेपाली दूतहरुलाई गुप्तचरी गरेको अभियोगमा अंग्रेजहरुले देश निकाला गरेका थिए । सन् १८३९ मा सिम्लाका गभर्नर जनरल जर्जलर्ड अकनन्दले नेपालका महाराज राजेन्द्र विक्रम शाहलाई पठाएको चिट्ठीमा भनिएको छ– ‘….तपाञिका मानिसहरु बसिरहँदा मैले हाम्रा मजिष्टरहरुलाई हुकूम दी. जबर्दस्ति ती मानिसहरुलाइ निकाल्नुपर्‍यो. तिनहरुले हाम्रा दुवै सर्कारको दोस्ति र षुलासां बेबाहार जो मैले सधै रहोस् भनि इरादा राष्याको थियो. उसैमा षतरा पारिदिया. नेपालबाट वकील् हिन्दुस्थानका दर्बार दर्बारमा जान्या मुनासिब् केही थियेन. जरुरि चाहिन्या पनि केहि होइन. तपाञिका दिल्ले देष्याको मक्सद् गुप्ति षवरसंग बन्दोबस्त होला. जब गुप्तिसंग गयाका तपांञिका मानीस्हरु सबै झिकायापछि तेस काम्लाई मिस्तर हाज्सन्का जवानि तपाञिलाई थाहा हुन्याछ.’

सत्य के हो ? इतिहासकार जानून । तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ । यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभि बजाइयो । यसै नाममा हजारौं मान्छे मारिए । नभन्दै त्यो घडी पनि आयो । तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरुप राजनीति धोका शिवाय केही ठहरिएन् ।

साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन । कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । भगवान गौतम बुद्धले भन्नु भएको छ– ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ ! न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उच नीचबाट माथि उठ्नु आवश्यक छ । त्यही भात थालमा हुन्जेल भात र थालबाट झरेपछि जुठो हुन्छ । हो जिन्दावादका हात मुर्दावादमा उठ्न कतिवेर लाग्दैन । नेपाली जनतालाई जनताको परिचयबाट नामेठ गरेर दलका दलाल बनाउने प्रयास जुनसुकै दलले गर्दै आएका छन् । हेक्का रहोस्– चिकित्सक संघ हुन्छ तर रोगी संघ किमार्थ हुँदैन ।

आवरणमा जे देखिए पनि यथार्थ अलग हुन्छ । जतिसुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नो आकार बनाउने पानीजस्तै हो जनता । जुनबेला कुनै नागरिक एउटा नाङ्गो चक्कु बोकेर हिँड्दा प्रमुख समाचार बन्थ्यो, त्यो समय मोहनचन्द्र अधिकारीले पनि क्रान्तिका नाममा मान्छे ठुन्क्याउने खेती गरेकै हुन् ।

प्रकारान्तरमा उनले कस्तो नियतिमा आफूलाई ढाल्नुपर्‍यो ? सबैका अघिल्तिर छर्लङ्गै छ । मानिसका बोलीका तीन प्रकार हुन्छन् । एकथरि जीब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरु मन र मस्तिष्कले बोल्छन् । नेताहरु तेस्रो खाले हुन सके भने मात्र देशमा खाँटी लोकतन्त्रको अभ्यास हुनेछ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : १२ बजे

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ– दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश

युक्रेन संकटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

काठमाडौं– युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी

१६ औँ योजना : ७.३ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य, उत्पादन र रोजगारीलाई प्राथमिकता

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

काठमाडौं– टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा 

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण