देउवाको गृहजिल्ला पुगेर लिङ्देनको प्रश्न– डडेल्धुराको विकास यही हो ? « Khabarhub

देउवाको गृहजिल्ला पुगेर लिङ्देनको प्रश्न– डडेल्धुराको विकास यही हो ?


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्।

मंगलबार राप्रपा जिल्ला कार्य समिति डडेल्धुराले सदरमुकामको बसपार्कमा आयोजना गरेको वृहत् आमसभालाई सम्बोधन गर्दै उनले डडेल्धुरामा आफूले सोचेअनुसारको विकास भएको नपाएको बताएका हुन्।

पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै अध्यक्ष लिङ्देनले डडेल्धुराको सदरमुकाम यही नै हो, कि अर्को सदरमुकाम छ ? भन्दै प्रश्न गरे।

उनले भने,  ‘एउटा मान्छेलाई डडेल्धुराका जनताले पाँचचोटी प्रधानमन्त्री बनाउने काम गरेका छन्। त्यहाँका जनताले त्यसवाफत के पाएका छन् भनेर हेरौँ र सिकौँ भन्ने मनमा थियो र आज डडेल्धुरा आइपुगेँ , डडेल्धुराको सदरमुकाम यही हो कि अर्को छ ? शेरबहादुर देउवाको डडेल्धुरा यही हो कि अर्को छ ? शेरबहादुरका मतदाताले हिँड्ने बाटो यही हो कि अर्को छ ? डडेलधुरा यही हो र विकास यति नै हो भने विकासप्रति देउवाको भिजन देखिएन। जुन जिल्लाले पाँचपल्ट प्रधानमन्त्री पायो, त्यही हो डडेल्धुरा ?’

उनले पाँचपटक प्रधानमन्त्री भएको जिल्लाको विकासको हबिगत यस्तो हुँदा हामी कहाँ पुग्दै भन्दै प्रश्न गरे। उनले देउवाबारे यसभन्दा बढी टिप्पणी गर्न नपर्ने पनि बताए। उनले डडेल्धुराबासीलाई राप्रपाको बहुमत रहेको झापाको हल्दीबारी गाउँपालिकाको विकास हेर्न आउने र विकास कस्तो हुन्छ भने त्यहाँबाट सिक्न आग्रह गरे। हल्दीबारी लिङ्देनको गृह गाउँपालिका हो।

अध्यक्ष लिङ्देनले डडेल्धुराका जनताको मत र मन परिवर्तन भए यहाँको मात्र नभएर देशकै मुहार परिवर्तन हुने बताए। ‘सही मान्छेलाई भोट नदिँदा देश बिग्रेको हो। पैसा दिनेलाई भोट दिन्छौँ अनि कहाँबाट देश विकास हुन्छ’, उनले भने, ‘भोट दिने कुरा छोरी दिने भन्दा बढी महत्त्वपूर्ण छ। त्यसैले अब सही मान्छेलाई मात्रै भोट गर्नुपर्छ।’

अध्यक्ष लिङ्देनले देश गणतन्त्रले नभई लुटतन्त्रले चलेको आरोप लगाए। ‘अहिले देश गणतन्त्रले होइन लुटतन्त्रले चलेको छ। देशको स्थिति सामान्य छैन’, उनले भने, ‘आज नेपाल शक्ति राष्ट्रको केन्द्र बनेको छ। नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको केन्द्र बन्न सक्छ।’

राजनीतिक दलहरू देश सुधारको पक्षमा नभएको र नेताहरूले लुट मच्याइरहेका उनको आरोप थियो। ‘देश काण्डै काण्डले चलिरहेको छ। नेताहरू मिलेर देश लुटिरहेका छन्’, उनले भने, ‘देश सुधार्न बलियो जनदबाब सिर्जना गर्नुपर्छ। यो असफल व्यवस्थाको विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्नेछ।’

देशमा अब अभिभावकीय रूपमा राजा र जनताबाट प्रत्येक निर्वाचित प्रधानमन्त्री हुनुपर्ने उनको भनाइ थियो। उनले स्थाथीय तहलाई बलियो बनाएर प्रदेश र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताए। सरकारलाई अध्यक्ष लिङ्देनले राजदरबार हत्याकाण्डमा यदि पूर्वराजा ज्ञानेन्द्र शाह दोषी छन् भने किन समातेर जेल नहालेको ?भन्दै प्रश्न गरे।

आमसभामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस र एमालेलाई प्रचण्डीकरण भएको आरोप लगाए। देशमा प्रचण्डपथ हाबी भएकाले उल्लेख गर्दै उनले मुलुकको विकासका लागि राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको औंल्याए।

‘राजसंस्था, हिन्दु राष्ट्र स्थापना एवं शुसासनको प्रत्याभूति आजको आवश्यकता’ भन्ने मुल नाराका साथ जिल्ला कार्य समिति अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको आमसभामा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी लगायतले सम्बोधन गरेका थिए।

आमसभाको क्रममा नेपाली कांग्रेस डडेलधुराका पूर्व सभापति रामचन्द्र चटौत लगायतका ठूलो समूह आज राप्रपामा समाहित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आज चटौत र नवप्रवेशीलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र चटौत, व्यवसायी प्रमोद जोशी, नेकपा एमालेका जिल्ला सदस्य महादेव भट्ट, नेकपा माओवादीका गाउँ कार्यसमितिका सभापति मनोरथ भट्ट लगायत सयौं राप्रपामा प्रवेश गरेका छन्

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ४१ बजे

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा