याक्थुङ मुन्धुमी स्थल : किताबमा मोटाए, सम्पदामा हराए  | Khabarhub Khabarhub

याक्थुङ मुन्धुमी स्थल : किताबमा मोटाए, सम्पदामा हराए 



सुनसरीयेवा येमानी, साम्बाफेदाङ्माहरुले एकराते होस वा तीन राते तङ्सिङ तक्मा गर्दा मौलिक लयमा मौखिकरुपमा फलाक्दा आउने अनेक भौतिक स्थलहरुसंग याक्थुङ लिम्बु समुदायको जीवन दर्शन जोडिएको छ । ती भौतिक स्थलहरु कुनै गुफा छन्, कुनै भिरपहरामा फैलिएका ढुङ्गा छन्, मुख्य गरी तमोर नदी (इम्बिरि याङ्धाङवा), काभेली नदी (काङ्वा) सेरोफेरोका स्थानलाई याक्थुङ मुन्धुमले सम्बोधन गरेको छ । याक्थुङ लिम्बुहरुलाई मुन्धुमले लुङबोङ्सा–खाम्बोङ्सा (ढुङ्गा माटोका अधिकारी–भूमिपुत्र) भनेर चिनाएको छ । 

याक्थुङ मुन्धुममा सुनसरीको बराहक्षेत्र–कोका नदीदेखि उत्तर ताप्लेजुङको फक्ताङलुङ (नेपाली नाम कुम्भकर्ण हिम श्रृङ्खला) दक्षिणका अनेक स्थानका वर्णन गरिएको छ । ती भौतिक स्थलहरुको व्यापक बर्णन गर्दै याक्थुङ मुन्धुमले प्रकृति, मान्छे र पशुपंक्षीवीचको इकोसिस्टमसंग जोडेको छ । याक्थुङ मुन्धुमले प्रकृति वा चराचर जगत सन्तुलित हुन आवश्यक सबैथोक हुनै पर्छ भन्छ । पूर्णता वा सम्पूर्णताको सौन्दर्यलाई पुष्टि गर्न अनेक व्यावहारिक कथाहरु छन् । यसबारे नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँइला र डा चैतन्य सुव्वाले थप पुनव्र्याख्या गर्ने प्रयास गरेका छन् । याक्थुङ मुन्धुम भित्रकै सानो उदाहरुणको रुपमा लिन पर्दा ‘पंक्षि हुनकालागि पखेटामात्र भए हुँदैन आकर्षक पुच्छर पनि हुनुपर्छ ।’ 

पहिले पहिले येवा येमानी, साम्बाफेदाङ्माहरुले आफ्नो मौलिक शैलीमा फलाक्दा आउने भौतिक स्थलहरु र ती भौतिक स्थललाई सभ्यताको रुपमा विस्तार गर्ने याक्थुङ लिम्बुका पुर्खाहरुका नाम सुन्दा काल्पनिक लाग्ने गरेको थियो । माया र एज्टेक, मिश्र, बेविलोन, मेसोपोटामिया, लुम्बिनी, ह्वाङ् हो देखि महेन्जोदाडो हरप्पा हुदै सिन्धुको सम्यताबारे व्यापक खोज अनुसन्धान भइरहँदा याक्थुङ मुन्धुमले बर्णन गरेका भौतिक स्थलहरुबारे भने स्वयम् याक्थुङ लिम्बुहरु वेखवर थिए । अहिले पनि त्यस्तै छन् । राज्य पक्षले वास्तै गरेको देखिदैन ।

याक्थुङ मुन्धुमले भारतमा पर्ने गंगा, जमुना र सरस्वती नदीको बर्णन गर्दैन । फक्ताङलुङ भन्दा उत्तर चीन तिब्बतको पनि खासै वर्णन गर्दैन । युरोप अमेरिकाको बर्णन गर्नु परै जाओस् । कतिसम्म भने कोशी–अरुण नदी पश्चिम हुँदै काठमाडौँ उपत्यकासम्मको पनि एक शब्द वर्णन र व्याख्या गर्दैन । किरातकालमा यलम्बर, यलम्बर पछिका २८ वा ३२ जनाले करिव ९ सय बर्षसम्म शासन गरे भनिन्छ  ।


लिच्छवी कालका पछिल्ला शासक मानदेव (इ.५२१) ले किरातलाई हराएको इतिहास छ । किरात कालका यी तमाम शासकका बारेमा पनि एक शव्द बोल्दैन मुन्धुम । तर जति बोल्छ, व्याख्या र बर्णन गर्छ कोशी–अरुण पूर्वका सङ्खुवासभा, धनकुटा, सुनसरीको उत्तरी क्षेत्र, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापाका उत्तरी क्षेत्रका बारे अनेक पात्र मार्फत आदिम नीति कथादेखि प्राकृतिक घट्ना शैलीमा मानव सभ्यता विस्तार भएको कुरा गर्छ ।

बुझ्नु पर्ने के हो भने मुन्धुममा वर्णित कथाहरूले कुनै आध्यात्मिक, धार्मिक, अलौकिक र काल्पनिक घट्ना नभनेर आदिम याक्थुङ लिम्बुका पुर्खाहरु सावायेहाङ, येत्हाङको बारेमा मात्र व्याख्या गर्छ । ती कथाहरूले कृषियुगको प्रारम्भकालिन अवस्थालाई देखाउँछ । सम्भवत जंगली युग हुँदै कृषियुगमा प्रवेश गरेको, पशुपंक्षी पालन सुरु गरेको, साइनो सम्बन्ध कायम हुन थालेको, एउटै बंश भित्रका चेली माइती बीचको यौन सम्बन्धलाई बर्जित गर्दै ल्याएको, परिवार र स्थायी घर निर्माणको आवश्यकता हुन थालेको, विवाह संस्कार, समाज र सभ्यताको निर्माण हुँदै गरेको समयको कथालाई मुन्धुमले बोल्ने गरेको छ । यो समय भनेको वैज्ञानिक आधारमा करिव १० हजार इसापूर्व आसपास मानिन्छ । 

विश्व इतिहासमा विशेषज्ञता हासिल गरेका प्रख्यात लेखक प्रा.डा. युवाल नोआ  हरारीले पनि आफ्नो पछिल्लो पुस्तकमा मानवले अनेक चरण पार गरेर करिब १२ हजार वर्ष अघिदेखि कृषि क्रान्ति गरेको उल्लेख गरेका छन् ‘सेपियन्सः मानव–जातिका संक्षिप्त इतिहास’ पुस्तकमा । जंगली र शिकारी युगपछि कृषि क्रान्तिले मानव सभ्यतामा साइनो–सम्बन्ध, परिवार, समाज, विवाह संस्कार, सम्पति संग्रह र अन्य मानवीय गुण सृजित कला संस्कृतिको विकासमा तीव्रता ल्याएको मानिन्छ । 

याक्थुङ मुन्धुममा आदिम पुर्खा सिकेरा÷सिवेरा एक्थुङमाऔयुमा (स्त्री)ले आफ्नो समुदायलाई पाखा पखेरा, वनजंगल, खोरिया भस्मे फाँडेर खनजोत गरी जंगली अन्नबाली पारामा, तक्मारु, घैया, धान, कोदो, कागुनका बीउबिजन छरपोख गर्न सिकाएको र पाकेपछि भूमि–प्रकृतिलाई पहिले अर्पण गरेर मात्र आगोमा पकाएर खान निर्देशन दिएको वर्णन छ । 

यहाँ केही उल्लेख गर्नै पर्ने हुन्छ, अर्लि ‘इण्डियन्स’ (आरम्भिक भारतीय) का लेखक टोनी जोसेफलाई । उनले उक्त पुस्तकमा भनेका छन्, ‘इपू. १६ हजार बर्षअघि हिमयुगको अन्त विस्तारै भएपछि अलास्काको जमिनी मार्गबाट एसियालीहरु अमेरिका छिरे । हिमयुगको अन्त्यले जताततै हरियाली छाएको इरान, इराक, मिश्रदेखि एसियाली मानवलाई कृषिले डोर्‍यायो । इपू ९७०० देखि इपू ५००० बीचमा कृषिकै कारण विश्वको जनसङ्ख्यामा परिवर्तन ल्यायो ।’ 

याक्थुङ मुन्धुमले प्रकृति र कृषिमा आधारित जीवन शैलीको वर्णन गर्दै ल्याउँदा समय निकै बितेको हुनसक्छ । मौखिकरूपमा पूर्व ज्ञान र सीप याक्थुङ लिम्बुहरूले आफ्ना पछिल्ला पुस्तालाई हस्तान्तरण गर्दै ल्याए । यसबीच विवाह सम्बन्धी नैतिक शिक्षा तयार भयो । 

यसका लागि हालको फक्ताङलुङ गाउँपालिकाको विप्पुधापतिर मेन्दुरीपासाङ्मा तयार गरे । बेहुलाबेहुली तौलने त्यो ढुङ्गाको तुलोको एक भाग अझै त्यहीँ छ । विवाह संस्कारको नीति बनेसँगै घर निर्माण सम्बन्धी ज्ञान प्राप्त गरे । सोही गाउँपालिकाको तापेथोक पारी सांगुयक कोप्पीयकमै घर निर्माणको कथा जोडिन्छ । 

गर्भवती अवस्थामा आमा र गर्भको बच्चाको हितमा गर्नुपर्ने कर्मकाण्डहरु (सापोक चमेन मुन्धुम) तयार भए । समाज र परिवारकै सदस्यबीच हुने रिस, इष्र्या, आखिडाहीका विषयमा निति तय भए । प्राकृतिक र अप्राकृतिक रुपमा मरिमराउ हुनेहरुको बारेमा फरकफरक अत्येष्टी गर्ने संस्कारहरु तयार भए । प्राकृतिक विपत्ति र अग्रज पूर्वजको गालीसराप नलागोस भन्नकालागि  ‘वादेम्मा’को सुरुआत भयो । याक्थुङ लिम्बुहरुले आदिम कालमा पहिलो पटक वादेम्मा (गालीसराप वगाएको खोलालाई नुवा (खोला भनेर चिनिन्छ) युखावुमा अझै बगिरहेको छ ।  

आदिम पुर्खा तेत्लारा लाभियङ्मा (स्त्री) को मृत्युपछि उनका छोराहरु लाकेरेक र नाम केरेक (लुङजेकहाङसिङजेकहाङ) ले ओढारमा छाडेर फर्के तर चित्त नबुझेपछि एउटा विधि अपनाएर फेरि चेधाप (शव राख्ने खट) बनाए । मौलिक र मौखिक निति संस्कार जान्ने अगुवा नावारा उसुक साम्बालाई बोलाएर खाम इङ्मा (चिहान स्थलमा शव गाड्न प्रकृतिसंग अनुरोध गर्ने विधि) अनुसार डाँडामा पुरे । 

अनि खाउमा–फराक्लो गरे । तेत्लारा लाभियङ्मालाई राखिएको ओढारलाई मुन्धुममा चेजिङ फुक्कु भनिन्छ । त्यो ओढार अझै छ । त्यहाँभित्र कम्तिमा ३५  जना बढी मानिस अटाउन सक्छन । जुन युखावकै भएर बग्ने तमोरको किनारमा पर्छ । याक्थुङ लिम्बुले पहिलो पटक  खाउमा फराक्लो गरेको खाओलुङ मुरिङला खारिङ्ला डाँडासंगै छ ।

यी भौतिक स्थलहरुसंग जोडिएका मुन्धुमी कथाहरूले मानव संस्कृति, संस्कार विकास हुनु केही अघिका र आचरणको वर्णन गर्दै क्रमागतरुपमा संस्कृति र संस्कारको रुपमा विकास भएका विवाह, परिवार, साइनो सम्बन्धका निर्माण समयलाई वर्णन गर्छ । याक्थुङ समुदायले भोगेका ज्ञान र अनूभुतिलाई जीवन यापनको सीप अवसरको रुपमा  स्थापित गर्दै मौखिक रुपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने चलन अहिले पनि छ । 

मुन्धुमी कालमा सुरु भएको सभ्यतामा संस्कार र संस्कृतिको निर्माण भएको सुदूर ज्ञानको निर्माण काल शायद पाँच हजारदेखि सात हजार वर्ष अघि नै भएको अनुमान गर्न सकिन्छ । किनकी लामो समय कृषिमा आधारित जीवन शैलीलाई मुन्धुमले वर्णन गर्दै आएको छ । 

वैश्विक भारतीय इतिहासकार रोमिला थापरले रामायण र माहाभारत कथा निर्माण काललाई महाकाव्य काल भनेकी छन् आफ्नो पुस्तक ‘भारतका इतिहास’ पुस्तकमा । जसको समय उनले ३२०१ इपू भनेकी छन् । उनले भनेको महाकाव्य कालमा राजवंशको सुरुआत भएको देखिन्छ । अलौकिक र काल्पनिक अस्त्र शस्त्र प्रयोग भएको पाइन्छ । यो हिसावले मुन्धुम काल वा मुन्धुम निर्माणकाल करिव ५००० इपू पहिले हो भन्न सकिन्छ । किनकी मुन्धुमका प्रारम्भिक कथाहरुमा राजवंश बारे कुनै उच्चारण छैन । न त हत्या हिंसाको वर्णन छ, न मान्छेले मान्छेलाई, आफन्तले आफन्तलाई घोर षडयन्त्र गरेर आपत विपत बनाएको बर्णन नै छ । छ त मान्छे र प्रकृतिको कथाहरु मात्र । 

याक्थुङ मानवपूर्खाद्वारा आर्जित अमूल्य सम्पत्ति हो मुन्धुम । मुन्धुमलाई आफ्नो जीवनदर्शन तथा समाज र समुदायकै मार्गदर्शक मानेर बाँचिरहेका याक्थुङ लिम्बुहरु मुन्धुमलाई नै मूल मियो मान्दछन् । पछिल्लो समयमा मुन्धुमसम्बन्धी निक्कै महत्वपूर्ण खोज, अन्वेषण तथा अनुसन्धानहरु भएका छन् ।

केही प्रमुख मुन्धुमी स्थल
याक्थुङ लिम्बुका मुन्धुम र इतिहासका अध्येता अर्जुनबाबु माबुहाङ, याक्थुङ मुन्धुम संकलक तथा लेखक तुम्याहाङ लक्ष्मण मेन्याङ्बो, मुन्धुम र याक्थुङ सभ्यताका जानकार एसवी ताप्मादेन, याक्थुङ सिभिलाइजेसन (इम्बिरि याङ्धाङ्वा–तमोर सभ्यता) कि लेखिका सन्ध्या सिङ्जाङ्गो, याक्थुङ थात थलोका मौलिक स्थल नाम खोज अनुसन्धानकर्ता राज माङ्लाक, सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोटका लेखक अमित थेवे, च्याब्रुङका नालिवेलीका लेखक आइत खजुम, मुन्धुम साम्बा भवानी अन्छङ्बो, युमा साम्यो महासभाका विरान लिम्बु, तङ्सिङ मुन्धुमका संकलन सम्पादक मेहेरमान लाबुङ र हर्कजङ कुरुम्बाङलगायत मुन्धुमका अध्येताहरुको बहस र दावीअनुसार मुन्धुमी स्थल भएका स्थानबाटै याक्थुङ सभ्यताको विस्तार भएको हो । जुन तमोर आसपास पर्छन् ।

वि.सं. २०१८ सालमा सम्भवत पहिलो पटक इमानसिंह चेम्जोङले ‘किरात मुन्धुम (किरातको वेद)’ भनेर मुन्धुमी पुस्तक प्रकाशित गरे । वैरागी काइँला (तिल विक्रम नेम्बाङ) ले ०५२ सालमा तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘तङ्सिङ तक्मा मुन्धुम्ः आख्यान र अनुष्ठान’ पुस्तक निकाले । सोही वर्ष हरि चोङ्बाङ (सेनछेनहाङ) लेपनि ‘किरात ऐतिहासिक दर्पणः धर्म मुन्धुमको संक्षिप्त बर्णन भाग–१’ मार्फत याक्थुङ मुन्धुम भित्रका महत्वपूण वर्णन लेखे । त्यसयता धेरैले आफ्नै तरिकाले मुन्धुम संकलन गरेर पुस्तकको रुपमा निकालेका छन् । तर कसैले पनि ती मुन्धुमभित्रका अनेक महिला र पुरुष पात्रहरुले जीवन यापन गरेको स्थलहरुलाई भने पहिचान गर्न र विश्लेषण गर्न भ्याएनन् ।

पछिल्लो समय ६० को दशकदेखि केही फरक सोच भएका नयाँ पुस्तामा मुन्धुम भित्र बर्णन गरिएका आदिम पात्रहरुले दैनिक जीवन यापन गरेका स्थलहरू कहाँ पर्छ भनेर सामान्य बहस सुरु गरे  । यो बहसलाई आइत खजुम र अर्जुनबाबु माबुहाङ जस्ता युवाहरुले मुन्धुममा वर्णित स्थल पहिचान गर्ने अभियान चलाए । हजारौं वर्ष अघिको मुन्धुममा वर्णित पात्रहरुले जीवन यापन गरेको स्थल काल्पनिक नभएर सबैभन्दा बढी त ताप्लेजुङको तमोर र काभेली नदी सेरोफेरो मै रहेको विस्तारै पुष्टि हुँदै आयो । धन्न ताप्लेजुङका स्थानीय याक्थुङ लिम्बु र गैर याक्थुङ लिम्बु बुढापाकाहरुले ती स्थानका नाम अहिले पनि जस्ताको तस्तै सम्बोधन गर्दै आएका रहेछन् ।

मुन्धुममा वर्णित आदिम स्त्री पात्र मुजिङ्ना खेयोङ्ना, उनको छोरा सुसुवेन लालावेन, सुसुवेन लालावेनका चार श्रीमतिहरु जुनबेला विवाह संस्कार स्थापित नभए पनि यौन सम्पर्क गरेका स्त्रीहरु थोसुलुङ्मा फियमलुङ्मा, योसुलुङ्मा मुक्कुमलुङ्माउनीहरुका सुसारेहरु, थोसुलुङ्मा पट्टीको छोरा सुच्छुरु सुहाम्फेवा, योसुलुङ्मा पट्टिको छोरी लाहादङ्नादुइ सुसारेहरुबाट जन्मेका छोराहरु लिङ्दाङखेवासाङ्दाङखेवाहरुले शिकार गरेर जीविका चलाएकोदेखि विपरित लिङ्गीसंग यौनसम्पर्क गरेको स्थान हालको फक्ताङलुङ गाउपालिकाको सांगुयक कोप्पियक, मुरिङला खारिङ्ला तेम्बे, छिरुवानी, थोकपुन तेम्बे, विप्पुधाप मै पर्छ ।

सुहाम्फेवालाहाङ्दना बीच पहिलो पटक भेट भएको तुम्दुम्सो लालासो भन्ने ठाउँ मुरिङ्ला खरिङ्ला डाँडाको पश्चिम तर्फ पछ भने पहिलो पटक यौन सम्पर्क गर्दा हल्लिएको ढुङ्गा काइलुङधुङ साविक लेलेपको गोवाटारमा पर्छ । तमोर किनारमा रहेको काइलुङ (यौन सम्पर्क गर्दा विस्ताराको रुपमा प्रयोग भएको विशाल ढुङ्गामा सुत्दा वा उभिदा अहिले पनि हल्लिन्छ । 

यस्तै बाघ प्रवृत्तिको एक भाइ छोरा केसामी र मानवीय गुण भएको एक भाइ नामसामीगरी दुइ भाइ जुम्ल्याहा छोरा जन्माउने आमा इप्ना सरेधङ्ना (तुम्याहाङ लक्ष्मण मेन्याङ्बोले नामसामी केसामीको आमा खाप्पुना मेल्लङ्नामा पनि भनेका छन्)दुइ दाजुभाइ (पशुत्वमनुषत्व) बीच युद्ध भएको स्थान नामसामीलुङ केसामीलुङ साविक थेचम्बु र नाङ्खोल्याङको माझमा पर्छ । सिमलको रुख चढेर तीर हानी हिंस्रक दाजुलाई मारेको स्थान साविक नाङखोल्याको पुच्छर कावेली नदी नजिक सुभेवामा पर्छ । हाल यो स्थान पाथिभरा याङ्वरक गाउँपालिका भित्र समेटिएको छ ।   

मुन्धुममा वर्णन भएअनुसार पाजाइ तेन्दुम्याङलुप्लिनामा अदन्नापोङ्लिसो अयासक्पाआङ्गुरी शशीहाङ्मा बीच  विवाह गर्ने टुंगो हुनु अगाडि तौलिएको मेन्तुरी नेम्पासाङ्गा साविक लेलेपमा पर्छ । यो तुलो हो । हाल तुलोको रुपमा करिब आठ फुट अग्लो ढुङ्गा अवशेषको रुपमा रहेको छ ।
आदिम स्त्री मुजिङ्ना खेयोङ्ना बयस्क भएपछि यौन सम्पर्कका लागि आव्हान गर्दै तन्नेरी पुरुष खोज्दै जाँदा रुखको कापमा बसेर सुसेली हाल्दा योनीमा हावा छिरेर यौन सन्तुष्टि पाएको सुरितथाङ केजङ डाँडा हाल लेलेप साँघुको तल्लो बेल्टमा पर्छ । च्याब्रुङ याक्थुङ लिम्बूको मौलिक बाजा हो । यो बाजा बनाएर बज्छ, बज्दैन भनेर पहिलो पटक हङसिङ रुख काटेर भित्र खोली दुईतिर गोरुको छाला मोरेर छालाकै डोरीले तन्काएको स्थान काम्भिलाङ पनि साविक लेलेपमा छँदैछ । 

मुन्धुममा बर्णित याक्थुङ लिम्बूको सभ्यताको सुरुवात भएको आदिम पाङभे (गाउ) सावायेहाङ पाङ्भे साविक लेलेपको मुरिङलाखारिङ्ला तेम्बेको मुनी छँदैछ । याक्थुङ सभ्यतासंग जोडिएका यस्ता अनेक घट्ना र पात्रहरुकै जीवन भोगाइलाई मुन्धुमले सरल तरिकाले बर्णन गरेको छ ।

 यी यावत पात्र र घट्नाका आधारमा दिल्ली विश्वविद्यालयकी इतिहास र राजनीति शास्त्रकी अध्येता सन्ध्या सिङ्जाङ्गो सुब्बाले पछिल्लो समयमा विश्व इतिहाससंग तुलना गर्दै समयअनुसार बर्गीकरण गरेकी छिन् । 

उनले मुन्धुमलाई आधार बनाएर याक्थुङ सभ्यताको संक्षिप्त रुपरेखा तयार गरेकी छिन् । उनले प्राचीनऔप्रारम्भिक काल जसमा चइत (श्रृष्टिरचना) काल, ढुङ्गे युग, जंगली युग, सिकारी युग हुदै कृषि युगमा काल विभाजन गरेकी छिन् । कृषियुगपछि मध्ययुगमा सभ्यताको तीब्र सुरुआत भएको बर्णन गरेकी छिन् सन्ध्याले । मध्ययुग सावायेत्हाङको समयपछि आधुनिक युग सुरु भएको र त्यसैबेला देखि दश लिम्बु, महाफेदापऔलिम्बुवान, गोर्खा शासकसंग नूनपानीको सन्धीसम्मलाई समेटेकी छन् भने समकालिन युगमा सुभाङ्गी र किपट नस्ट भएको विषयलाई समेटेकी छन् । 

उनको अघिल्लो पुस्तक याक्थुङ सिभिलाइजेसनमा पनि याक्थुङ मुन्धुमले आदिमकालमा याक्थुङ लिम्बु समुदायले फक्ताङलुङ दक्षिण इम्बिरि याङ्धाङ्वा (तमोर)काङवा (कावेली) आसपासमा आफ्नो सभ्यता विस्तार गर्दै संस्कार र संस्कृतिको विकास गरेको उल्लेख छ । याक्थुङ थातथलोका अध्येता राज माङ्लाक पनि याक्थुङ लिम्बुहरू पछिल्लो समय राजनैतिक रुपमा राज्यशक्तिको केन्द्र बाहिर पारिएकाले  हरेक पक्षमा कमजोर बनाउँदा मौलिक सांस्कृतिक चेत पनि गुम्न पुगेको दावी गर्छन् । 

उनको भनाई छ, ‘राज्यशक्तिद्वारा लिम्बूहरूको मुन्धुममा वर्णित स्थानहरुको नाम कतिपय ठाउँमा नामेट पारिएको छ भने कतिपय ठाउँमा नाम परिवर्तन गरिएको छ । यो सन्दर्भमा शक्तिमा कमजोर भएपछि लिम्बूहरूको अन्य पक्षहरू खोसिदै लगिए जस्तै मुन्धुमका स्थान नामहरू पनि कुनै लुप्त अवस्थामा छन् । कुनै परिवर्तन गरिएका छन् । यसर्थ अबको पुस्ताले आफ्नो गौरवका लागि अस्तित्व पहिचान गर्दै थप  अध्ययन गर्न जरुरी छ । किनकी मुन्धुममा वर्णित भौतिक स्थलहरू यति बेला संरक्षणविहीन अवस्थामा छन् ।’ 

स्थानीय सरकार, प्रदेश र संघीय सरकारले यी मुन्धुमी स्थलहरूलाई संरक्षण गर्दै मूर्त र अमूर्त सम्पदाको रुपमा प्रचार गरेर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकेको छैन । न त त्यता तिर ध्यानै दिएको छ ।  

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : १३ बजे

अर्थ मन्त्रालयद्वारा राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं– अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र

प्रधानमन्त्री उद्धार कोषमा एमालेको पनि ५० लाख सहयोग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

पाटन– गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार

काठमाडौं– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक