‘प्रचण्डलाई सास फेर्न उकुसमुकुस भएपछि राजनीतिक कोर्स फेरियो’ | Khabarhub Khabarhub

‘प्रचण्डलाई सास फेर्न उकुसमुकुस भएपछि राजनीतिक कोर्स फेरियो’



धोकाको श्रृंखलावद्ध अध्यायपछि आरोप प्रत्यारोपमा गुज्रिएका एमाले–माओवादी फेरि सहयात्राका लागि अघि बढेका छन् । नेपाल कम्युनिस्ट पार्टी गठन गरी पाइलट र को–पाईलटको भूमिकामा देखिएका शीर्ष नेतृत्व पुष्पकमल दाहाल र केपी ओलीको सम्बन्ध पानी बाराबारमा पुगेर टुंगियो । समयक्रमसंगै फेरि जोडियो, फेरि टुट्यो । जोड्ने र टुट्ने रसायनको काम नेताहरूकै मस्तिष्क उपज हो या अन्य संयोग जोडिन्छन्, त्यसको भविष्यले खोजी गर्ला । तर संसदको तेस्रो शक्ति माओवादी त्यसमाथि त्यसका सारथि प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस–एमालेमा किन माथापच्ची चल्छ ? ०८४ को मिसनमा लागेको एमाले फेरि सत्ताको जोड घटाउमा किन अलमलियो ? सत्ताको यसखाले भद्दा दाउपेचले लोकतन्त्रको मानमर्दन गरेको छैन ? कांग्रेस–एमाले कम्मर कसेर विधिको शासनका लागि केन्द्रीय राजनीतिमा किन हस्तक्षेप बढाउन सक्दैनन् ? पछिल्लो गठबन्धनको गन्तव्य कति लामो छ ? यिनै जिज्ञासाबीच एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : ः  

छोटो समयमा भएको अप्रत्याशित राजनीतिक उथलपुथलमा विदेशी शक्तिको हात रहेको विदेशी सञ्चारमाध्यमहरूले प्रसारण गरिरहेका छन् । यहाँको बुझाइमा राजनीतिक कोर्स फेरिनु पछाडिका पृष्ठभूमि के हो ?

विद्यमान संसदभित्रको अङ्कगणितले कुनै पनि बेला सरकारको फेरबदलको चक्र चलिरहन सक्छ भन्ने पूर्वानुमान छँदै थियो । अहिले कसैको कारण भन्दा पनि गठबन्धन भित्रको चरम विरोध र संसदको अङ्कगणितले निर्माण गरेको यो फेरबदल हो ।

हामी जोडिनु अघिको गठबन्धन बीचमा निकै ठूलो अन्तर विरोध, घात प्रतिघातहरू थिए । पछिल्लो कोशी र राष्ट्रिय सभाको निर्वाचनको मत परिणामबाट पनि उहाँहरूमा रस्साकस्सी देख्न सकिन्छ ।

त्यसैले त्यो गठबन्धनबाट प्रचण्डलाई सास फेर्न उकुसमुकुस भएको देखिन्थ्यो । यसो भएपछि हामीले प्रधानमन्त्रीको प्रस्ताव स्विकारेर नयाँ राजनीतिक कोर्स निर्माण गर्ने एउटा मार्गचित्र बनाएको हो । तर विगतका कतिपय  घटनाक्रमले हामीलाई बेला बेलामा झस्काउन सक्छन् । अब विगतबाट पाठ सिकेर सबैले आफूलाई ठिक ढङ्गबाट प्रस्तुत गर्नुपर्ने दायित्व छ ।

बाम एकताको अर्को श्रृंखला सत्ता यात्राको तुरुप हो कि एमालेको अग्निपरीक्षा ? 

निश्चय नै यो आधार हो ।  नेपालमा धेरै खालका सटर भएका पार्टी भन्दा मुख्य राष्ट्रिय शक्ति भएका दलहरू बीच केही मान्यता र एजेन्डाको प्रतिस्पर्धा भएर जनतालाई पनि त्यस प्रकारको छनोटको सुविधा दिने भन्ने हो । एजेन्डा, दृष्टिकोण, विचार र दर्शनका आधारबाट देश निर्माण गर्ने कार्य योजनालाई जनताले अनुमोदन गर्ने श्रृंखलामा देश पुर्‍याउनुपर्ने विभिन्न घटनाक्रमको निष्कर्षका रूपमा यो अवसरलाई लिन्छौँ ।

त्यसकारण कम्युनिस्ट आन्दोलन एक ढङ्गबाट विकास हुने विषय स्वाभाविक रूपमा आम कम्युनिस्ट पार्टीका कार्यकर्ताका लागि सुखद समाचार हो । आज सरकार छ भन्ने कुरालाई प्रमुख कुरा नबनाई सिंगो बामपन्थीलाई एक ठाउँमा ल्याउने आधारबाट यो यात्रा अघि बढाउन खोजिएको हो ।

विगतका गल्ती, कमजोरी सच्याएर विकास, समृद्धि र सुशासनका लागि कांग्रेससँगको यात्रा असहज भयो भन्दै एमालेसँग सहयात्राको प्रस्ताव राख्नुभयो । यो संगै बामपन्थीलाई एक ठाउँमा ल्याउने राजनीतिक कोर्स निर्माणको प्रस्ताव स्वाभाविक रूपमा आयो । यही सहमतिको बिन्दुमा उभिएर यो यात्रा तय भएको हो ।

अहिलेको संसदीय गणितको कारण पनि नयाँ सरकार बनाउन कहीँ न कहीँ हामीले सहयोग गर्नुपर्ने स्थिति थियो । हामी स्वयं सरकारको नेतृत्वमा आउन अहिले मरिहत्ते गर्ने योजनामा लागेका हैनौँ । गठबन्धन भत्किएर नयाँ सरकार बनाउन हामीले सहयोग गर्नुपर्ने अवस्थामा साथ दिएका हौँ ।

हिजो तपाईँहरूले यही जगमा उभिएर प्रदेश गुमाउनु भयो, संघ गुमाउनु भयो, अब फेरि यहीँ उभिएर त्यति ठूलो महल बन्ला भन्ने अपेक्षा दुस्वप्न होला नि ?

इतिहासको समीक्षा गर्दा यस्तै पर्छ । अब विगतको कमजोरी दोहोर्‍याउँदैनौं भन्ने धारणा हृदयदेखि आयो भने अगाडि जान सक्छौँ । नत्र यो संसदीय गणितले त कसैलाई उभ्याउने र कसैलाई ढाल्ने मात्रै हुन्छ ।

हामी जे अभ्यासमा गइरहेका छौँ, अहिलेको निर्वाचन प्रणालीले निर्माण गर्ने परिस्थिति यही हो । निर्वाचन प्रणालीको कारण पनि अस्थिरता निर्माण भएको छ । एकल पार्टीले बहुमत पाएको भए एउटा पार्टीले ५ वर्ष सरकार सञ्चालन गर्थ्यो । ठीक बेठिक जे भए पनि ५ वर्षपछि जनताले समीक्षा गर्थे ।

त्यसैले अब हामी राजनीतिक दलहरू जो नेतृत्व गर्दै आएका छौँ वा भोलि पनि गर्छौँ, तिनले आफूले बोलेको बोली र बचनमा कथनी र करनीमा एकरूपता कायम गरेर जाने विषयमा प्रतिबद्ध हुनुपर्छ । त्यसो भयो भने विगतको तितो यथार्थ भए पनि अपनत्व बढाएर यात्रा अगाडि लैजान सकिन्छ । शीर्ष नेतृत्व यस विषयमा गम्भीर हुनुपर्छ ।

प्रचण्डले मलाई प्रयोग गरे भने लात हानेर बाहिर निस्किन सक्छु भनेपछि यो उपयोगवादको  सिद्धान्त अनुसार बनेको सहयात्राबाट शुद्धीकरणको अपेक्षा कसरी गर्न सकिएला ?

यो विषयमा सम्बन्धित पात्रहरूले आफूलाई यही ढङ्गबाट प्रस्तुतिमा जोड्नु आवश्यक छ । नागरिकलाई सरकारको माध्यमबाट सेवा दिने भनेर अघि बढेका छौँ भने सुरु देखि नै यस्ता कुरामा सशङ्कित हुनु भएन । त्यसैले सबैले आफूलाई ठिक ढङ्गबाट सबैलाई समान मानेर आफूले लिएको नीति के हो त्यसको आधारमा काम गर्ने र धारणा बनाउने गर्नुपर्छ ।

नेकपा एमालेको अहिले सबैभन्दा ठूलो प्रहार एकीकृत समाजवादीमाथि हो ?

हामीले त्यस्तो सोचेका छैनौँ । सबै मिलेर जानुपर्छ भन्ने भाव बोकेर हिँडेका छौँ ।  युवाहरू पलायन भइरहेका छन् । सरकारले राम्रो गरिदेओस भन्ने सरकारमाथि नागरिकको ठूलो भरोसा छ । उद्योग व्यवसायीहरू ढुक्क भएर लगानी गर्ने वातावरण बनेको छैन । रोजगारी सिर्जना भएको छैन । यस्तो बेलामा हामीले हिम्मत राखेर काम गर्नुपर्छ भन्ने हो । यहाँ कसैलाई सिध्याउने भन्ने एजेण्डामा एमाले जोडिँदैन ।

हिजो जनताले दुई तिहाइको मत दिएर सरकार चलाएका हौँ । यहाँसम्म आउँदै गर्दा विभिन्न तरीका मिलाएर अदालतको समेत सहारामा एमालेको सरकार हटाउने सम्मका गठबन्धन भए । गठबन्धन निर्माण भएर आएको राजनीतिक शक्ति एकाध मान्छेले कहाँ चिमोटेको छ भनेर सम्झी सम्झी त्यसको बदलामा चिमोट्न जाने भन्ने सोच बनाएका छैनौँ । हामी सक्दासम्म सबैसँग मिलेर नै जाने भन्ने पक्षमा छौँ ।

एमालेले सरकारको नेतृत्व लिने पालो यही बाँकी रहेको कार्यकालमा आउँछ कि प्रचण्डलाई पुरै कार्यकाल दिएर बाँकी लाभ लिन खोजेको हो ? 
यो संयुक्त सरकार हो । यसमा शक्ति बाँडफाँड आपसी समझदारीबाट हुन्छ किनकि यहाँ मन्त्रालयको बाँडफाँडदेखि ७ प्रदेशको सरकार सम्मको विषय जोडिएको छ ।

हिजो बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धन बनेपछि त्यसको प्रभाव ७ प्रदेशमा पनि पर्ला । त्यस्तै राष्ट्रिय सभाको केही जिम्मेवारीमा निर्वाचन हुँदै छ । यो अर्को महत्त्वपूर्ण पाटो हो । त्यसैले यसमा पनि छलफल गरेर नै जाने हो । सरकारको आयु कहिले भन्ने हुँदैन । आवश्यकताको आधारबाट सरकार बन्छ र समय आएपछि फेरबदल हुन्छ ।

भोलिका दिनमा कांग्रेस र एमाले मिलेर राजनीतिलाई शुद्धीकरण गरेर लैजाने सम्भावना कतिको छ ?

यो सबै जनताको म्यान्डेटबाट निर्धारण हुन्छ । कोही न कोहीले सरकार त बनाउनु पर्छ । एमाले र कांग्रेसमा एउटा प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । अहिले जे बनेको छ, त्यसलाई बलियो ढङ्गबाट बोकेर अगाडि बढ्ने र यसलाई उपयोगको निम्ति भन्दा पनि सरकारको माध्यमबाट सुशासन, विकास, समृद्धि र सामाजिक न्यायका लागि कति काम गर्न सक्छौँ, त्यसमा आफ्नो तर्फबाट सेवा दिने हो । यो प्रयत्नमा एमाले निरन्तर लागिरहन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ३ : ०१ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन– चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको