सरकार बर्हिगमनसँगै कांग्रेसलाई घाटै घाटा, मन्त्री–मुख्यमन्त्रीदेखि राजदूतसम्म गुम्दै | Khabarhub Khabarhub

सरकार बर्हिगमनसँगै कांग्रेसलाई घाटै घाटा, मन्त्री–मुख्यमन्त्रीदेखि राजदूतसम्म गुम्दै



काठमाडौं– आइतबारसम्म ठिकठाक चलेको नेपाली कांग्रेस सम्मिलित गठबन्धन एकाएक फेरियो । कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री बनेको पुष्पकमल दाहालले सहयात्री दल परिवर्तन गरेर नेकपा एमाले र रास्वपालाई रोजेपछि सरकारमा कांग्रेसको भूमिका सकियो ।

सत्ता गठबन्धनको काँध फेरिएसँगै नेपाली कांग्रेस फेरि एक पटक प्रतिपक्षमा पुगेको छ। यससँगै कांग्रेसले केन्द्रदेखि सातै प्रदेशमा सरकार गुमाउने भएको छ । प्रदेशमा कांग्रेसले चार मुख्यमन्त्री र ३८ मन्त्री गुमाउनेछ । कांग्रेसले केन्द्रमा ९ मन्त्री गुमाइसकेको छ भने मुख्यमन्त्री सहित २९ जना मन्त्री रहेका सातै प्रदेश मध्य कर्णालीका दुई र बागमतीमा तीन मन्त्री गुमाएको छ ।

कांग्रेसले गठबन्धनबाट कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री पाएको थियो । अब गठबन्धन परिवर्तन हुँदा कांग्रेस अधिकांश प्रदेशमा प्रतिपक्षमा पुग्नेछ ।

तर, साना दलहरुसँग गठबन्धनको तालमेल गर्न सके लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस सत्ताबाट विमुख हुने अवस्था नआउन सक्छ । हाल नेपाली कांग्रेसका तर्फबाट कोशी केदार कार्की, लुम्बिनी डिल्लीबहादुर चौधरी, गण्डकी सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन ।

संघ र प्रदेश सरकारमा मात्र होइन कांग्रेस गठबन्धन बाहिर हुँदा कांग्रेसको कोटामा राजदूत नियुक्त भएकाहरुलाई पनि नयाँ सरकारले फिर्ता बोलाउन सक्नेछ । कांग्रेसको कोटामा अमेरिकाका लागि श्रीधर खत्री, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि प्रा.डा. ज्योति प्याकुरेल तथा भारतका लागि डा. शंकर शर्मा राजदूत छन् ।

लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा गठबन्धनलाई सकस

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३ र जसपासँग १ सांसद छन् । त्यसैले यो प्रदेशमा सजिलै सरकार बन्नेछ ।

कोशी प्रदेशसभामा कांग्रेससँग २९, एकीकृत समाजवादीसँग ४ र राप्रपाका ६ सांसद छन् । तर, यो प्रदेशमा सरकार गठन हुँदा संविधानको धारा १६८ प्रयोग भएको हुँदा यहाँ फेरि पनि संवैधानिक संकट पैदाको अवस्था आउन सक्छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा रहेका दलहरु एमाले २३, जसपा १९ र माओवादीसँग ८ सांसद गरी कूल ५० जना सांसद पुग्छ । थप सांसदको समर्थन लिएर नयाँ सरकार बनाउन यो प्रदेशमा नयाँ गठबन्धनलाई जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी (लोसपा) मध्य एकको साथ अनिवार्य चाहिन्छ ।

मधेशमा कांग्रेस २२, जनमत पार्टी १३, लोसपा ९, एकीकृत समाजवादी ७, नाउपा, राप्रपा र संघीय समाजवादीका एक/एक सांसद छन् भने ३ जना स्वतन्त्र सांसद छन् । मधेशमा जसपाका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा रहेका दल एमाले २७ र माओवादीका २१ गरी ४८ सांसद छन् । यो प्रदेशमा सरकार बनाउन गठबन्धनलाई थप ८ जना सांसद आवश्यक पर्छ ।

यो प्रदेशमा एकीकृत समाजवादीसँग ७ जना सांसद छन् । एकीकृत समाजवादीले समर्थन गरेमा थप एक जना सांसदको समर्थन आवश्यक छ ।

बागमती प्रदेशमा कांग्रेस ३७, राप्रपा १३, हाम्रो नेपाली पार्टीका २ र नेमकिपाका ३ जना सांसद छन् । बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका दल एमालेका २२ र माओवादीका ८ गरी २९ सांसद पुग्छन् ।

कांग्रेससँग २७ सांसद छन् । राप्रपाका दुई सांसद छन् भने स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा छन् । गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार छ ।

८७ सदस्यीय लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमाले २९, माओवादी ९ र जसपाका ३ सांसद छन् । यी तीन दलसँग जम्मा ४१ सांसद छन् । एकीकृत समाजवादीले समर्थन गरेको खण्डमा एक जना सांसद थपिनेछन् । यो प्रदेशमा राष्ट्रिय जनमोर्चाका पनि एक जना सांसद छन् । एक सांसद रहेको दलले समर्थन गर्दा पनि नयाँ गठबन्धनले सरकार बनाउन सक्दैन ।

यो प्रदेशमा नयाँ सरकार बनाउन नाउपा, लोसपा, जनमत वा स्वतन्त्र सांसदको समर्थन अनिवार्य चाहिन्छ । नाउपा ४, लोसपा ३, जनमत पार्टी ३ सांसद र स्वतन्त्र सांसद तीन जना छन् । यसैगरी कांग्रेस २७ र राप्रपाका ४ सांसद छन् । हाल लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार छ ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसद चाहिन्छ । माओवादी १४ र एमालेसँग ९ सांसद छन् । नयाँ गठबन्धनले यो प्रदेशमा सहजै सरकारलाई निरन्तरता दिन सक्छन् । कर्णालीमा माओवादी नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् ।

यो प्रदेशमा कांग्रेस १४, एकीकृत समाजवादी १, राप्रपा १ र स्वतन्त्र सांसद एक जना रहेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । माओवादी ११ र एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका चार सांसद छन् ।

यो प्रदेशमा माओवादी, एमाले र एकीकृत समाजवादी मिल्दा समेत नयाँ सरकार बन्दैन । नयाँ सरकार बनाउन नाउपाको समर्थन अनिवार्य छ । नाउपाका ७ सांसद छन् । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार छ । कांग्रेससँग १९ सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : २६ बजे

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको

एकीकृत समाजवादीबाट सबै कमिटीका बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादीले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन

ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि जाने

काठमाडौं– पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा

कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?

आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा पर्यटक भित्र्याउन