प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी | Khabarhub Khabarhub

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी



अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध हो । हालसालै पनि १७ हजार बालबालिकाहरू गाजामा अभिभावकविहीन हुनुपरेको दर्दनाक समाचार पढ्यौँ । एक महिलाले आफ्नो मृत बालक समातेर बसेको सामाजिक सञ्जालको तस्बिरले हाम्रो आङ सिरिंग पारेको छ । त्यहाँ भइरहेको एकनासको बमबारीले लाग्छ– गाजा क्षेत्र छिट्टै मरुभूमि बन्नेछ ।

द गार्डियनले संयुक्त राष्ट्र संघका प्रमुख विशेषज्ञलाई उद्धृत गर्दै जनाए अनुसार इजरायलले प्यालेस्टिनीहरुलाई जानीजानी भोकमरीको चपेटामा पारिरहेको छ । गाजापट्टीमा भोकमरी र गम्भीर कुपोषण व्यापक छ । जहाँ, लगभग २२ लाख प्यालेस्टिनीहरुले गम्भीर अभावको सामना गरिरहेका छन् ।

इजरायलले खाद्य आपूर्तिहरू नष्ट गर्नुका साथै खाद्यान्न, औषधी र अन्य मानवीय आपूर्तिहरूको प्रवाहलाई गम्भीर रूपमा प्रतिबन्धित गरेको छ । मानवीय राहतको पर्खाइमा रहेका सहायता ट्रक रोकिँदा प्यालेस्टिनीहरु इजरायलको धरापमा परेका छन् । यो युद्धअपराध र नरसंहारका लागि इजरायल उत्तरदायी हुनुपर्ने आवाज उठिरहेको छ ।

जानाजानी मानवीय सहायताको बाटोमा रोक लगाउने वा गाजामा माछा मार्ने साना–साना जहाजहरू, हरित गृहहरू र बगैँचाहरूलाई नष्ट गर्नुपर्ने कुनै कारण  छैन । खाद्य अधिकारमा संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक माइकल फाखरीका भनाइमा यी सबै प्यालेस्टिनी समुदायलाई खानाबाट रोक लगाउने दाउपेचबाहेक केही होइनन् ।

दुर्भाग्यवश: आज हामी जति डरलाग्दो तस्बिर देख्छौँ, यो अझै बिग्रने सम्भावना छ । गाजामा जनसंख्याको एक चौथाइ कम्तीमा ५ लाख ७६ हजार मानिसहरू अकालबाट एक कदम मात्र टाढा छन् । यो अवस्था जारी रहेमा मे सम्म उत्तरी गाजामा पूर्णरुपमा कृषि बन्द हुनेछ । बाँच्नका लागि अपर्याप्त खानाका कारण अनिकाल सम्मुखमा छ । विश्व खाद्यान्न कार्यक्रमको कर्मचारीको सुरक्षाका कारणले पनि खाद्यान्न वितरणमा समस्या देखिएको छ ।

को हुन् प्यालेस्टिनी ?

प्यालेस्टियन जनता अरब नागरिक हुन् । उनीहरू मध्यपूर्वको एक निश्चित भौगोलिक क्षेत्रमा बस्छन् । इतिहासले पनि त्यही देखाउँछ । सामान्यतः प्यालेस्टाइनलाई पूर्वमा भूमध्यसागरदेखि पश्चिममा जोर्डन नदीसम्म फैलिएको भौगोलिक क्षेत्रलाई जनाउन प्रयोग गरिन्छ ।

हालको प्यालेस्टाइन क्षेत्र, गाजापट्टी र पश्चिम किनारलाई प्यालेस्टाइन राज्य भनेर चिनिन्छ । यी दुवै क्षेत्रहरू इजरायलले सन् १९६७ मा ६ दिनको युद्धमा कब्जा गरेको थियो ।

यी क्षेत्रहरूमा संयुक्त रूपमा त्यहाँ लगभग ७० लाख प्यालेस्टिनीहरु छन् । प्यालेस्टिनीहरु रहेको स्थानले इतिहासमा प्रमुख भूमिका खेलेको छ । प्यालेस्टाइन अन्तर्गतका भूभागहरू विश्वका धेरै प्रमुख धर्महरूका लागि महत्त्वपूर्ण रूपमा लिइन्छ । सबै प्यालेस्टाइनहरुको लगभग ९८ प्रतिशत जनसंख्या मुस्लिमहरुको छ । यस अन्तर्गत जेरुसेलम सहरको पनि प्रतिनिधित्व गर्दछ ।

प्यालेस्टाइन शब्द ग्रीक शब्द ‘फिलिस्टिया’बाट आएको हो जसले फिलिस्टिनहरुको पुरानो राज्यलाई बुझाउँछ । यो नाम १२ औं ईशापूर्व शताब्दीका ग्रीक लेखकहरुले यस क्षेत्रलाई दिएका थिए ।

मध्यपूर्वको यस क्षेत्रलाई वर्णन गर्न प्रयोग गरिएको अर्को शब्द लेभान्ट हो । जुन सामान्यतया आधुनिक दिनमा प्यालेस्टाइन, इजरायल, लेबनान, सिरिया र जोर्डनलाई समेटेको क्षेत्र हो ।

हाल लाखौं प्यालेस्टिनीहरु इजरायल राज्यको नियन्त्रणमा रहेको गाजापट्टी,पश्चिम किनारा र इजरायलमा बस्छन् । यी भूमिहरुमाथिको द्वन्द्वले यी प्यालेस्टिनीहरुले पानी, खाना, बिजुली तथा स्वास्थ्य सेवाको संकटको सामना गरिरहेका छन् ।

प्राचीन समयमा प्यालेस्टाइन कनान क्षेत्रको भाग थियो, जुन यहुदीहरुको इजरायल राज्य मिलेर बनेको थियो । यसले निरन्तर राजनीतिक द्वन्द्व, जमिनमाथि कब्जा र युद्धसमेत निम्त्याएको छ । यिनै विवादहरुको श्रृंखला नै आजको नरसंहारकारी युद्धको सिलसिला रहेको हुन सक्छ ।

प्यालेस्टाइन संकट : बल्झिरहेको विपत्ति 

प्यालेस्टिनी जनतालाई सन् १९४८ मा आफ्नो पैतृक भूमिमा रहेको घरजग्गा र सम्पत्तिबाट जबरजस्ती निष्कासन गरियो । यसरी जातीय सफाया गरिएको ७५ वर्ष बितिसकेको छ ।

विभिन्न समयमा भएका विपत्तिका घटना (नक्बा) मा प्यालेस्टिनी समाजको बिनास भएको थियो । ५३१ प्यालेस्टिनी गाउँहरू ध्वस्त भएका थिए । निर्दोष नागरिकविरुद्ध नरसंहार गरिएको थियो । सन् १९४७ देखि १९४९ को बीचमा १५ हजारभन्दा बढी प्यालेस्टिनीहरुलाई मारिएको थियो ।

विपद्पूर्ण घटनाहरूको विरासत भनेको लगभग र दुई तिहाई हो । प्यालेस्टिनी जनता सन् १९४८ देखि शरणार्थी बन्न थाले । ऐतिहासिक प्यालेस्टिनी भूगोलभित्र रहेका एक चौथाईलाई आन्तरिक रूपमा विस्थापित गरियो । त्यसबेलादेखि नै आफ्नो गाउँ, शहर र मूल बस्तीहरुमा फर्कने अधिकार अस्वीकार गरियो ।

सन् १९४८ देखि इजरायलले प्यालेस्टिनी जनतामाथि मुख्यतः राष्ट्रियता र भूमिको क्षेत्रमा जातीय प्रभुत्व र दमनको शासन स्थापना गर्‍यो ।

नक्बाको तुरुन्तैपछि इजरायलले विभिन्न कानुन, नीतिहरू र अभ्यासहरू अपनायो, जसले प्यालेस्टिनीहरुको फिर्तीलाई व्यवस्थित रूपमा अस्वीकार गर्दै आदिवासी प्यालेस्टिनी जनताको विस्थापनमा छाप लगाए । उही समयमा इजरायलले प्यालेस्टिनीहरुमाथि संस्थागत जातीय भेदभावको प्रणाली लागु गर्‍यो ।

यो कार्य उनीहरूमाथि गरिएको थियो, जो भूमिमा बसेका थिए । उनीहरूमध्ये पनि धेरै आन्तरिकरुपमा विस्थापित भएका थिए । इजरायली कानूनहरुले रंगभेदको कानुनी संरचना गठन गरेको छ, जुन आज प्यालेस्टिनी जनतामा लादिएको छ ।

इजरायलले सन् १९५० मा लागु गरेको कथित सम्पत्तिसम्बन्धी कानुन मुख्य  औजार बन्यो । जुन कानुन इजरायलले प्यालेस्टिनी शरणार्थी र विस्थापित व्यक्तिहरूको सम्पत्ति जफत गर्न प्रयोग गर्‍यो । विस्थापित प्यालेस्टिनीको पुनर्वासलाई अस्वीकार गरेको इजरायलले कारणको रूपमा प्यालेस्टिनीहरुको अनुपस्थितिलाई मानेको थियो । जुन चलाखीपूर्ण रूपले सम्पत्ति जफत गर्नका लागि सहज बनाइएको भान हुन्छ ।

७५ वर्षपछि यो सम्पत्ति जेरुसेलम सहरसहित पश्चिम किनारका केही भागमा इजरायलको यहुदीकरण र यसको प्यालेस्टिनी चरित्र, जन सांख्यिकीय संरचना र पहिचानलाई परिवर्तन गर्ने कार्यमा जारी राखेका छन् । इजरायलले सन् १९५० को प्यालेस्टिनी फिर्ताको कानुन र १९५२ को नागरिकता कानुनले इजरायलको संस्थागत जातीय भेदभावलाई कानुनमा जोड्यो ।

इजरायलले प्रत्येक यहुदीलाई आप्रवासीका रूपमा राज्यमा प्रवेश गर्ने र नागरिकता प्राप्त गर्ने विशेष अधिकार प्रदान गर्‍यो । सोही समयमा प्यालेस्टिनी शरणार्थीहरूलाई उनीहरूको घर, भूमि र सम्पत्तिमा फर्कने अधिकारलाई स्पष्ट रूपमा अस्वीकार गरिएको छ । जहाँबाट उनीहरूलाई अवैध रूपमा बेवास्ता गरिएको थियो ।

त्यस्ता इजरायली कानूनहरुले इजरायली रंगभेदको कानूनी आधार बनाएको थियो । यसले व्यवस्थित जातीय वर्चस्व र ग्रीनलाइनको दुवै छेउमा रहेको सबै प्यालेस्टिनीहरु, शरणार्थीहरू र निर्वासितहरूमाथि दमनलाई निरन्तरता दिने कार्य गर्दछ ।

साढे सात दशकमा इजरायलले प्यालेस्टिनी जनतालाई रंगभेद थोपर्ने र सोलाई कायम राख्नको लागि कम्तीमा चार अलग–अलग भौगोलिक, कानुनी, राजनैतिक र प्रशासनिक  क्षेत्रमा रणनीतिक रूपमा विभाजन गरेको छ । इजरायलले गरेको प्यालेस्टिनी जनतामाथिको रणनीतिक विभाजनले उनीहरू भेटघाट गर्न, समूहबद्ध हुन, सँगै बस्न वा कुनै पनि सामूहिक अधिकार प्रयोग गर्न सक्दैनन् । विशेष गरेर उनीहरूले प्राकृतिक श्रोतहरूमा आत्मनिर्णय र स्थायी सार्वभौमसत्ताको अधिकार गुमाउँछन् । गाजापट्टीको अवैध बन्द, नाकाबन्दी एनेक्सेसन वाल र इजरायलको अनुमति व्यवस्थाले चेक प्वाइन्टहरु र अन्य भौतिक अवरोधहरू समावेश गरेर इजरायलले प्यालेस्टिनीहरुको आवागमनको स्वतन्त्रतालाई गम्भीर रूपमा प्रभाव पारेको छ ।

प्यालेस्टिनी शरणार्थीहरूको जातीय सफाया र निष्कासन, प्यालेस्टिनी सम्पत्तिको व्यापक विनाश, सामूहिक हत्या र प्यालेस्टिनी शरणार्थीहरूको स्वदेश फिर्ताको लामो समयसम्म इन्कारसहित नक्बाको अपराधहरूलाई अहिलेसम्म पनि सुधार गरिएको पाइँदैन । पाँच वर्षअघि इजरायली सेनाले गोली  हान्ने नीति लागु गर्‍यो ।
गाजापट्टीमा ७०औं नक्बाको सम्झनाको पूर्व सन्ध्यामा  करिब ६० निहत्था प्यालेस्टिनी प्रदर्शनकारीहरूको सामूहिक हत्या गरेको थियो । नक्बाको अन्याय र स्वदेश फिर्ताको अधिकारको निरन्तर अस्वीकारले गाजामा दुई वर्षदेखि हरेक शुक्रबार ग्रेट रिटर्न मार्च प्रदर्शन कार्यक्रममा इजरायलले दण्डहीनताको सीमाना नाघ्दै प्यालिस्टिनीहरुमाथि घातक दमन गर्‍यो ।

यस वर्ष प्यालेस्टिनीहरुले ७५औं नक्बाको सम्झनामा गरिएको कार्यक्रममा इजरायलको सबैभन्दा दक्षिणपन्थी र नश्लवादी सरकारले प्यालेस्टिनी जनतामाथिको दमनलाई तीव्र बनायो । जसमा, पूर्वी जेरुसेलम लगायत  दैनिक छापा पश्चिम किनारमा गैर न्यायिक हत्याहरू भए । ९ मे २०२३ मा  इजरायलले गाजा स्ट्रिपमा रहेको आवासीय भवनहरूलाई लक्षित गरी ५ दिनको अप्रत्याशित सैन्य आक्रमण गर्‍यो, जसको परिणामस्वरुप ३३ प्यालेस्टिनी नागरिक मारिए । यसमा ६ जना बालबालिका र ४ महिलासमेत थिए । आजसम्म पनि गाजामा नरसंहारको सिलसिला जारी छ ।

दर्दनाक विश्व घटनाहरूमा अहिले प्यालेस्टिनी जनता विशेषतः महिला र बालबालिकाहरू निहत्था युद्ध, भोकमरी र अकाल मृत्युको चपेटामा छन् । मानव समुदाय मानवमाथि नै क्रूर र आततायी हुँदै गइरहेको छ । जमिन, धर्म, समुदाय भन्दै सदिऔं अगाडिका तुषहरूलाई बम बारुदले सखाप पार्न खोज्दा मानव अस्तित्व नामेट हुँदै जाने त होइन ? युद्ध विभीषिकाले यस्तै देखाउँदै छ । अहिलेको इजरायल–प्यालेस्टाइन युद्धले यसै भनिरहेछ ।

सँगसँगै इरान पनि इजरायललाई बदलाको रंग देखाउन लागिरहेको छ । युद्ध विभीषिकाबाट नोक्सान त मानव अनि मानव निर्मित सभ्यतालाई नै त हो । आशा गरौँ, संयुक्त राष्ट्रसंघ, मानव अधिकार संगठनहरुले मानवीय पहल गर्नेछन् । मानव रहे पो मानव सभ्यता पनि रहनेछ ।

साभार : अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ११ : ५९ बजे

झापामा रगत अभाव

झापा– अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु–  रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा

भारतको प्रतिक्रिया- नेपालबाट बिजुली बंगलादेश पुग्नु उत्साहजनक

काठमाडौं- नेपाल-बंगलादेश विद्युत् व्यापारबाट ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने प्रतिक्रिया

काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका