अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध हो । हालसालै पनि १७ हजार बालबालिकाहरू गाजामा अभिभावकविहीन हुनुपरेको दर्दनाक समाचार पढ्यौँ । एक महिलाले आफ्नो मृत बालक समातेर बसेको सामाजिक सञ्जालको तस्बिरले हाम्रो आङ सिरिंग पारेको छ । त्यहाँ भइरहेको एकनासको बमबारीले लाग्छ– गाजा क्षेत्र छिट्टै मरुभूमि बन्नेछ ।
द गार्डियनले संयुक्त राष्ट्र संघका प्रमुख विशेषज्ञलाई उद्धृत गर्दै जनाए अनुसार इजरायलले प्यालेस्टिनीहरुलाई जानीजानी भोकमरीको चपेटामा पारिरहेको छ । गाजापट्टीमा भोकमरी र गम्भीर कुपोषण व्यापक छ । जहाँ, लगभग २२ लाख प्यालेस्टिनीहरुले गम्भीर अभावको सामना गरिरहेका छन् ।
इजरायलले खाद्य आपूर्तिहरू नष्ट गर्नुका साथै खाद्यान्न, औषधी र अन्य मानवीय आपूर्तिहरूको प्रवाहलाई गम्भीर रूपमा प्रतिबन्धित गरेको छ । मानवीय राहतको पर्खाइमा रहेका सहायता ट्रक रोकिँदा प्यालेस्टिनीहरु इजरायलको धरापमा परेका छन् । यो युद्धअपराध र नरसंहारका लागि इजरायल उत्तरदायी हुनुपर्ने आवाज उठिरहेको छ ।
जानाजानी मानवीय सहायताको बाटोमा रोक लगाउने वा गाजामा माछा मार्ने साना–साना जहाजहरू, हरित गृहहरू र बगैँचाहरूलाई नष्ट गर्नुपर्ने कुनै कारण छैन । खाद्य अधिकारमा संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक माइकल फाखरीका भनाइमा यी सबै प्यालेस्टिनी समुदायलाई खानाबाट रोक लगाउने दाउपेचबाहेक केही होइनन् ।
दुर्भाग्यवश: आज हामी जति डरलाग्दो तस्बिर देख्छौँ, यो अझै बिग्रने सम्भावना छ । गाजामा जनसंख्याको एक चौथाइ कम्तीमा ५ लाख ७६ हजार मानिसहरू अकालबाट एक कदम मात्र टाढा छन् । यो अवस्था जारी रहेमा मे सम्म उत्तरी गाजामा पूर्णरुपमा कृषि बन्द हुनेछ । बाँच्नका लागि अपर्याप्त खानाका कारण अनिकाल सम्मुखमा छ । विश्व खाद्यान्न कार्यक्रमको कर्मचारीको सुरक्षाका कारणले पनि खाद्यान्न वितरणमा समस्या देखिएको छ ।
को हुन् प्यालेस्टिनी ?
प्यालेस्टियन जनता अरब नागरिक हुन् । उनीहरू मध्यपूर्वको एक निश्चित भौगोलिक क्षेत्रमा बस्छन् । इतिहासले पनि त्यही देखाउँछ । सामान्यतः प्यालेस्टाइनलाई पूर्वमा भूमध्यसागरदेखि पश्चिममा जोर्डन नदीसम्म फैलिएको भौगोलिक क्षेत्रलाई जनाउन प्रयोग गरिन्छ ।
हालको प्यालेस्टाइन क्षेत्र, गाजापट्टी र पश्चिम किनारलाई प्यालेस्टाइन राज्य भनेर चिनिन्छ । यी दुवै क्षेत्रहरू इजरायलले सन् १९६७ मा ६ दिनको युद्धमा कब्जा गरेको थियो ।
यी क्षेत्रहरूमा संयुक्त रूपमा त्यहाँ लगभग ७० लाख प्यालेस्टिनीहरु छन् । प्यालेस्टिनीहरु रहेको स्थानले इतिहासमा प्रमुख भूमिका खेलेको छ । प्यालेस्टाइन अन्तर्गतका भूभागहरू विश्वका धेरै प्रमुख धर्महरूका लागि महत्त्वपूर्ण रूपमा लिइन्छ । सबै प्यालेस्टाइनहरुको लगभग ९८ प्रतिशत जनसंख्या मुस्लिमहरुको छ । यस अन्तर्गत जेरुसेलम सहरको पनि प्रतिनिधित्व गर्दछ ।
प्यालेस्टाइन शब्द ग्रीक शब्द ‘फिलिस्टिया’बाट आएको हो जसले फिलिस्टिनहरुको पुरानो राज्यलाई बुझाउँछ । यो नाम १२ औं ईशापूर्व शताब्दीका ग्रीक लेखकहरुले यस क्षेत्रलाई दिएका थिए ।
मध्यपूर्वको यस क्षेत्रलाई वर्णन गर्न प्रयोग गरिएको अर्को शब्द लेभान्ट हो । जुन सामान्यतया आधुनिक दिनमा प्यालेस्टाइन, इजरायल, लेबनान, सिरिया र जोर्डनलाई समेटेको क्षेत्र हो ।
हाल लाखौं प्यालेस्टिनीहरु इजरायल राज्यको नियन्त्रणमा रहेको गाजापट्टी,पश्चिम किनारा र इजरायलमा बस्छन् । यी भूमिहरुमाथिको द्वन्द्वले यी प्यालेस्टिनीहरुले पानी, खाना, बिजुली तथा स्वास्थ्य सेवाको संकटको सामना गरिरहेका छन् ।
प्राचीन समयमा प्यालेस्टाइन कनान क्षेत्रको भाग थियो, जुन यहुदीहरुको इजरायल राज्य मिलेर बनेको थियो । यसले निरन्तर राजनीतिक द्वन्द्व, जमिनमाथि कब्जा र युद्धसमेत निम्त्याएको छ । यिनै विवादहरुको श्रृंखला नै आजको नरसंहारकारी युद्धको सिलसिला रहेको हुन सक्छ ।
प्यालेस्टाइन संकट : बल्झिरहेको विपत्ति
प्यालेस्टिनी जनतालाई सन् १९४८ मा आफ्नो पैतृक भूमिमा रहेको घरजग्गा र सम्पत्तिबाट जबरजस्ती निष्कासन गरियो । यसरी जातीय सफाया गरिएको ७५ वर्ष बितिसकेको छ ।
विभिन्न समयमा भएका विपत्तिका घटना (नक्बा) मा प्यालेस्टिनी समाजको बिनास भएको थियो । ५३१ प्यालेस्टिनी गाउँहरू ध्वस्त भएका थिए । निर्दोष नागरिकविरुद्ध नरसंहार गरिएको थियो । सन् १९४७ देखि १९४९ को बीचमा १५ हजारभन्दा बढी प्यालेस्टिनीहरुलाई मारिएको थियो ।
विपद्पूर्ण घटनाहरूको विरासत भनेको लगभग र दुई तिहाई हो । प्यालेस्टिनी जनता सन् १९४८ देखि शरणार्थी बन्न थाले । ऐतिहासिक प्यालेस्टिनी भूगोलभित्र रहेका एक चौथाईलाई आन्तरिक रूपमा विस्थापित गरियो । त्यसबेलादेखि नै आफ्नो गाउँ, शहर र मूल बस्तीहरुमा फर्कने अधिकार अस्वीकार गरियो ।
सन् १९४८ देखि इजरायलले प्यालेस्टिनी जनतामाथि मुख्यतः राष्ट्रियता र भूमिको क्षेत्रमा जातीय प्रभुत्व र दमनको शासन स्थापना गर्यो ।
नक्बाको तुरुन्तैपछि इजरायलले विभिन्न कानुन, नीतिहरू र अभ्यासहरू अपनायो, जसले प्यालेस्टिनीहरुको फिर्तीलाई व्यवस्थित रूपमा अस्वीकार गर्दै आदिवासी प्यालेस्टिनी जनताको विस्थापनमा छाप लगाए । उही समयमा इजरायलले प्यालेस्टिनीहरुमाथि संस्थागत जातीय भेदभावको प्रणाली लागु गर्यो ।
यो कार्य उनीहरूमाथि गरिएको थियो, जो भूमिमा बसेका थिए । उनीहरूमध्ये पनि धेरै आन्तरिकरुपमा विस्थापित भएका थिए । इजरायली कानूनहरुले रंगभेदको कानुनी संरचना गठन गरेको छ, जुन आज प्यालेस्टिनी जनतामा लादिएको छ ।
इजरायलले सन् १९५० मा लागु गरेको कथित सम्पत्तिसम्बन्धी कानुन मुख्य औजार बन्यो । जुन कानुन इजरायलले प्यालेस्टिनी शरणार्थी र विस्थापित व्यक्तिहरूको सम्पत्ति जफत गर्न प्रयोग गर्यो । विस्थापित प्यालेस्टिनीको पुनर्वासलाई अस्वीकार गरेको इजरायलले कारणको रूपमा प्यालेस्टिनीहरुको अनुपस्थितिलाई मानेको थियो । जुन चलाखीपूर्ण रूपले सम्पत्ति जफत गर्नका लागि सहज बनाइएको भान हुन्छ ।
७५ वर्षपछि यो सम्पत्ति जेरुसेलम सहरसहित पश्चिम किनारका केही भागमा इजरायलको यहुदीकरण र यसको प्यालेस्टिनी चरित्र, जन सांख्यिकीय संरचना र पहिचानलाई परिवर्तन गर्ने कार्यमा जारी राखेका छन् । इजरायलले सन् १९५० को प्यालेस्टिनी फिर्ताको कानुन र १९५२ को नागरिकता कानुनले इजरायलको संस्थागत जातीय भेदभावलाई कानुनमा जोड्यो ।
इजरायलले प्रत्येक यहुदीलाई आप्रवासीका रूपमा राज्यमा प्रवेश गर्ने र नागरिकता प्राप्त गर्ने विशेष अधिकार प्रदान गर्यो । सोही समयमा प्यालेस्टिनी शरणार्थीहरूलाई उनीहरूको घर, भूमि र सम्पत्तिमा फर्कने अधिकारलाई स्पष्ट रूपमा अस्वीकार गरिएको छ । जहाँबाट उनीहरूलाई अवैध रूपमा बेवास्ता गरिएको थियो ।
त्यस्ता इजरायली कानूनहरुले इजरायली रंगभेदको कानूनी आधार बनाएको थियो । यसले व्यवस्थित जातीय वर्चस्व र ग्रीनलाइनको दुवै छेउमा रहेको सबै प्यालेस्टिनीहरु, शरणार्थीहरू र निर्वासितहरूमाथि दमनलाई निरन्तरता दिने कार्य गर्दछ ।
साढे सात दशकमा इजरायलले प्यालेस्टिनी जनतालाई रंगभेद थोपर्ने र सोलाई कायम राख्नको लागि कम्तीमा चार अलग–अलग भौगोलिक, कानुनी, राजनैतिक र प्रशासनिक क्षेत्रमा रणनीतिक रूपमा विभाजन गरेको छ । इजरायलले गरेको प्यालेस्टिनी जनतामाथिको रणनीतिक विभाजनले उनीहरू भेटघाट गर्न, समूहबद्ध हुन, सँगै बस्न वा कुनै पनि सामूहिक अधिकार प्रयोग गर्न सक्दैनन् । विशेष गरेर उनीहरूले प्राकृतिक श्रोतहरूमा आत्मनिर्णय र स्थायी सार्वभौमसत्ताको अधिकार गुमाउँछन् । गाजापट्टीको अवैध बन्द, नाकाबन्दी एनेक्सेसन वाल र इजरायलको अनुमति व्यवस्थाले चेक प्वाइन्टहरु र अन्य भौतिक अवरोधहरू समावेश गरेर इजरायलले प्यालेस्टिनीहरुको आवागमनको स्वतन्त्रतालाई गम्भीर रूपमा प्रभाव पारेको छ ।
प्यालेस्टिनी शरणार्थीहरूको जातीय सफाया र निष्कासन, प्यालेस्टिनी सम्पत्तिको व्यापक विनाश, सामूहिक हत्या र प्यालेस्टिनी शरणार्थीहरूको स्वदेश फिर्ताको लामो समयसम्म इन्कारसहित नक्बाको अपराधहरूलाई अहिलेसम्म पनि सुधार गरिएको पाइँदैन । पाँच वर्षअघि इजरायली सेनाले गोली हान्ने नीति लागु गर्यो ।
गाजापट्टीमा ७०औं नक्बाको सम्झनाको पूर्व सन्ध्यामा करिब ६० निहत्था प्यालेस्टिनी प्रदर्शनकारीहरूको सामूहिक हत्या गरेको थियो । नक्बाको अन्याय र स्वदेश फिर्ताको अधिकारको निरन्तर अस्वीकारले गाजामा दुई वर्षदेखि हरेक शुक्रबार ग्रेट रिटर्न मार्च प्रदर्शन कार्यक्रममा इजरायलले दण्डहीनताको सीमाना नाघ्दै प्यालिस्टिनीहरुमाथि घातक दमन गर्यो ।
यस वर्ष प्यालेस्टिनीहरुले ७५औं नक्बाको सम्झनामा गरिएको कार्यक्रममा इजरायलको सबैभन्दा दक्षिणपन्थी र नश्लवादी सरकारले प्यालेस्टिनी जनतामाथिको दमनलाई तीव्र बनायो । जसमा, पूर्वी जेरुसेलम लगायत दैनिक छापा पश्चिम किनारमा गैर न्यायिक हत्याहरू भए । ९ मे २०२३ मा इजरायलले गाजा स्ट्रिपमा रहेको आवासीय भवनहरूलाई लक्षित गरी ५ दिनको अप्रत्याशित सैन्य आक्रमण गर्यो, जसको परिणामस्वरुप ३३ प्यालेस्टिनी नागरिक मारिए । यसमा ६ जना बालबालिका र ४ महिलासमेत थिए । आजसम्म पनि गाजामा नरसंहारको सिलसिला जारी छ ।
दर्दनाक विश्व घटनाहरूमा अहिले प्यालेस्टिनी जनता विशेषतः महिला र बालबालिकाहरू निहत्था युद्ध, भोकमरी र अकाल मृत्युको चपेटामा छन् । मानव समुदाय मानवमाथि नै क्रूर र आततायी हुँदै गइरहेको छ । जमिन, धर्म, समुदाय भन्दै सदिऔं अगाडिका तुषहरूलाई बम बारुदले सखाप पार्न खोज्दा मानव अस्तित्व नामेट हुँदै जाने त होइन ? युद्ध विभीषिकाले यस्तै देखाउँदै छ । अहिलेको इजरायल–प्यालेस्टाइन युद्धले यसै भनिरहेछ ।
सँगसँगै इरान पनि इजरायललाई बदलाको रंग देखाउन लागिरहेको छ । युद्ध विभीषिकाबाट नोक्सान त मानव अनि मानव निर्मित सभ्यतालाई नै त हो । आशा गरौँ, संयुक्त राष्ट्रसंघ, मानव अधिकार संगठनहरुले मानवीय पहल गर्नेछन् । मानव रहे पो मानव सभ्यता पनि रहनेछ ।
साभार : अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा
प्रतिक्रिया