युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, रहस्यमय मृत्यु | Khabarhub Khabarhub

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, रहस्यमय मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार एक जोडी युवा–युवती पुगे । होटलले उनीहरुलाई तेस्रो तल्लाको ९ नम्बर कोठा उपलब्ध गरायो ।

काठमाडौंका अधिकांश गेष्ट हाउसले श्रीमान-श्रीमती रहेको कागज प्रमाण नहेरी जथाभावी कोठा उपलब्ध गराउँदा अपराधका घटना हुने गरेका छन् । शुक्रबार राति पनि त्यस्तै भयो ।

शुक्रबार उनीहरुबीच होटलमा अचानक विवाद भयो । त्यही क्रममा युवकबाट कुटपिट भएको कल्पनाको शरीरका विभिन्न ठाउँमा लागेको चोट पटकबाट अनुमान गर्न सकिन्छ । यही क्रममा युवतीको ज्यान गयो ।

युवतीको मृत्युको घटना रहस्यमय देखिएको छ । महाराजगञ्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटलमा बोलाएर कोठामा राख्ने व्यक्ति काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अनित कार्की हुन् । अञ्दाजी ३२ वर्षका कार्कीलाई महाराजगञ्ज प्रहरीले हिरासतमा लिएको छ ।

मृतक युवती कल्पना भण्डारी सुवेदी हुन् । मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पना सानी छोरीलाई लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी थिइन् ।

शरीरभरि चोटैचोट

प्रहरीका अनुसार मृतक युवतीको दायाँ घुँडामा डेढ इञ्च लम्बाई र आधा ईञ्च चौडाईको घाउ देखिएको छ । त्यस्तै, वायाँ घुँडामा पनि आधा इञ्चको चोट देखिएको छ ।

युवतीको दायाँ स्तनको भागमा पनि आधा इञ्चको घाउ देखिएको छ । त्योभन्दा एक इञ्च तल केराउको दाना आधारको कालो–रातो दागसमेत देखिएको घटनास्थल मुचुल्कामा उल्लेख छ ।

युवतीको छातीको दायाँ भागमा एक इञ्च कोतरिएको घाऊ देखिएको छ । वायाँ हातको पाखुरामा समेत रातो कालो दाग देखिएको छ । निधारको दायाँ भागको आँखिभौं छेउमा कालो–नीलो डाम देखिएको छ । दायाँपट्टि चिउँडोमा रातो घाऊ चोटपटक देखिएको छ । दायाँ हातको नाडीमुनि कोतरिएको घाऊ छ ।

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको मृत युवतीको शरीरमा दाहिने पातोभन्दा माथि पछाडिको भागमा पनि घाउ छ । सर्ट र हाफपाइन्ट लगाएको अवस्थामा भेटिएको थियो ।

राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले पहिले होटलवालालाई खबर गरे । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो

युवतीको शरीरमा नीलडाम र घाउचोट देखिए पनि मृत्यु के कारणले भएको हो भन्ने वास्तविक कारणचाहिँ पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीको भनाइ छ ।

कुटपिट लगत्तै मृत्यु

आफन्तले दिएको जानकारी अनुसार राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले पहिले होटलवालालाई खबर गरेका थिए । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो ।

कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नबोलेपछि होटल सञ्चालकलाई फोन गरेर बोलाएको कार्कीले प्रहरीलाई बताएका छन् ।

होटल सञ्चालक आएपछि बाथरुमको ढोका बलपूर्वक घँचेटी फोडेर हेर्दा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा भेटिएको र कपडा झुण्ड्याउने हुकसमेत भुईमा झरेको पाइएको युवकले प्रहरीलाई प्रारम्भिक वयान दिएका छन् ।

होटलवाला र युवकले प्रहरीलाई फोन गरेको र तत्काल प्रहरीसमेतले त्रिवि शिक्षण अस्पतालमा पुर्‍याउँदा डाक्टरले राति ११ः३५ बजे कल्पनालाई मृत घोषित गरेको युवक र होटलवालाको भनाइ उधृत गर्दै आफन्त बताउँछन् ।

जाहेरी ‘आत्महत्या दुरुत्साहन’को

एउटै कोठामा सँगै बसेको जोडी । कुटपिटबाट घाउ चोटपटक पनि शरीरभरि देखिएको अवस्था । साथमा रहेका युवक पक्राऊ पनि परेको अवस्था छ । तैपनि प्रहरीले यो घटनामा किटानी जाहेरी भने लिएन ।

मृतक कल्पनाकी सासूका तर्फबाट दर्ता गरिएको जाहेरीमा ‘ज्यानसम्बन्धी कसूर’ मा नभई ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर’ मा जाहेरी दिएको उल्लेख छ ।

प्रहरीका अनुसार सुरुमा ज्यान मुद्दामा किटानी जाहेरी नलिइए पनि पछि अनुसन्धानबाट कैफियत देखिएमा पुनः किटानी जाहेरी लिएर अनुसन्धान अघि बढ्न सक्छ

मृतकका आफन्तलाई प्रहरीले दिन लगाएको जाहेरीमा भनिएको छ, ‘निज प्रतिवादीले मेरी बुहारीलाई कर्तव्य गरी मारेको हुन सक्छ भन्ने कुरामा आशंका भएता पनि हाल आत्महत्या गर्न दुरुत्साहन दिन नहुने सम्बन्धी कसूरमा कानून बमोजिम मुद्दा चलाई निज बुहारीको मृत शरीरको पोष्टमार्टम गराई प्रमाणमा लगाई कारवाही गरी अन्तिम दाहसंस्कार गर्न निमित्त म जाहेरवाला सासूआमाको जिम्मा लगाईपाउँ ।’

प्रहरीले अहिले आत्महत्या दुरुत्साहनमा मात्र मुद्दा चलाउन लागेको भए पनि कल्पनालाई प्रतिवादी वा अरु कसैले कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएमा छुट्टै किटानी जाहेरी लिने ढोका भने प्रहरीले खुल्लै राखेको छ ।

प्रहरी स्रोतका अनुसार सुरुमा ज्यान मुद्दामा किटानी जाहेरी नलिइए पनि पछि अनुसन्धानबाट कैफियत देखिएमा पुनः किटानी जाहेरी लिएर अनुसन्धान अघि बढ्न सक्छ ।

कल्पनाका आफन्त भन्छन्, ‘श्रीमान पनि साथमा थिएनन् । गाउँबाट काठमाडौंमा आएर सानी छोरीका साथमा बसेकी महिलालाई होटलमा बोलाएर यसरी प्राण लिइयो, दोषीमाथि कडाभन्दा कडा सजायँ होस् ।’

छोरीको रहस्यमय मृत्युको खबर सुनेर मोरङ केराबारी–९ देवीझोडाबाट काठमाडौं आइपुगेका कल्पनाका पिताले भने,‘ हामीलाई न्याय चाहियो ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : २० बजे

आजका समाचार : गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेसदेखि नीति तथा कार्यक्रम पारितसम्म

सहकारीको मुद्दा बोकेर सडकमा उत्रियो कांग्रेस  उपप्रधान एवम् गृहमन्त्री रवि

बेरुजुको पहिलो नम्बरमा अर्थमन्त्रालय, अन्यको अवस्था कस्तो ?

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी

कसका कारण भाँडियो दलहरूबीच जुटिसकेको सहमति?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको

आईपिएल फाइनल : कोलकाताविरुद्ध पहिले ब्याटिङ गर्दै हैदरावाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा सनराइजर्स

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन