टुँडिखेलमा बेरोजगारलाई थरीथरीका 'अफर’ | Khabarhub Khabarhub

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

महानगरलाई व्यवस्थापन गर्नै मुस्किल सीप मेलामा युवाको भिड


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा उभिरहेका व्यक्ति हुन्- मोहनमान श्रेष्ठ । मोहन काठमाडौंकै बासिन्दा पनि हुन् ।  उनी केही सिप सिकेर आफ्नो परिवार पाल्न काठमाडौं महानगरले सञ्चालन गरेको सिप मेला-२०८१ मा आवेदन दिन बसेका हुन् ।

जसोतसो कक्षा १० सम्म पढेका मोहनले यो भन्दा अगाडि डकर्मीको काम गर्ने गर्थे । नसा च्यापिएर शरीरले साथ नदिएपछि उनले गर्दै आएको काम अचेल गर्न छाडेका छन् ।

‘त्यो भारी काम अब गर्न नसक्ने भएँ सर’, उनले आफ्नो जिउमा चोट लागेको खत देखाउँदै भने, ‘कहिले यता काट्छ त कहिले उता, त्यसैले अब त्यो काम गर्न सक्दिनँ लाग्न थाल्यो ।’

आमाबुवा, श्रीमती र छोरा छोरी गरेर ६ जनाको परिवार छ मोहनको । उनकाअनुसार विगतमा डकर्मी गरेर कमाएको पैसाले यति बेलासम्म जसोतसो घरको खर्च चलेको छ । तर, अब मुस्किल बन्दै गएको छ ।

विगतमा गरेको काम पनि गर्ने नसक्ने र अरु आयस्रोतको बाटो पनि नभएपछि मोहन अहिले महानगरको सिप मेलामा आएका हुन् ।

मोहन खाली समयमा सामाजिक सञ्जाल चलाएर बसिरहेका थिए । त्यहिबेला काठमाडौंको सिप मेलाबारे जानकारीमूलक सूचना आयो । त्यही सूचनाको आधारमा के रहेछ भनेर टुँडिखेलमा आएको मोहन बताउँछन् । ‘यहाँ आएपछि थाहा पाएँ की यहाँ त १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरू चलिरहेको रहेछ’, उनले भने ।

तालिम त लिने तर, के लिने भन्ने उनले सोचेका थिएनन् । महानगरले दिएको फारममा लेखिएका २९ वटा पेसाको विषयमा उनले धेरै बेर पढे ।

‘यसो सबै पेसा हेरेको आफूले गर्न पनि सक्ने अनि एकै ठाउँमा बसेर गर्न मिल्ने सैलुनको तालिम ठिक लाग्यो’, उनी हाँस्दै खबरहबलाई सुनाउँछन्, ‘यो भयो भने हल्का पनि काम, धेरै ठाउँमा हिँड्नु पनि नपर्ने ।’

महानगरले लिएको सिप सिकेर उनी केही समय अरूकोमा काम गर्ने र पछि आफ्नै सैलुन खोल्ने सोचमा सोचमा पुगेका छन् । खबरहबसँग कुरा गर्दै मोहन आफ्नो योजना यसरी भन्छन्, ‘यहाँ सिकेको सिपले त कपाल काट्न मात्र जानिन्छ होला, व्यापार नै गर्नलाई त केही समय सैलुनमा काम गर्नुपर्छ होला, अनि मात्र आफैँ खोल्नु पर्ला ।’

टुँडिखेलमा मेला लागेको उत्तरतिरको साइटमा पातली तर आफूभन्दा हटकट्टा साथीहरूलाई यो गर, त्यो गर भन्दै सिकाउने व्यक्ति हुन् सोनिया जिम्बा । मकवानपुर चित्लाङ घर भएकी उनी महानगरले लगाएको मेलामा बेकरीसम्बन्धी तालिम लिन आएकी हुन् । विदेश जानुभन्दा नेपालमै केही व्यवसाय गर्ने उनको सोच छ । त्यही सोचलाई मूर्तरूप दिन उनी महानगरले लगाएको सिप मेलामा आएको बताउँछिन् ।

कक्षा ११/१२ मा होटल म्यानेजमेन्ट पढेकी जिम्बा साथीले सिप मेला लागिरहेको बताएसँगै आफ्नो नाम लेखाउन आएकी हुन् । जिम्बासँग अन्य दुईजना साथी पनि आएका छन् । उनीहरूले आफ्नो इच्छाअनुसार टेलरिङ र ब्यूटिसियन तालिममा भरेका छन् ।

कुनै पनि काम गर्दा अनुभवको कति महत्त्व छ भनेर राम्ररी बुझेकी जिम्बाले महानगरले दिएको तालिममा भने आफूले बेकरी सम्बन्धी लिने बताउँछिन् । ‘सुरुमा त अनुभव चाहिन्छ, त्यतिकै आफैँले खोलेर पनि हुँदैन’, उनले भनिन्, ‘पहिले अरूकोमा काम गरेर अनुभव लिने अनि आफैँ खोल्ने ।’

नेपालमा रोजगार नभएर धेरै युवाहरू विदेश गएको देख्दा जिम्बालाई पनि दुःख लाग्छ । काठमाडौं महानगरले मेला सुरु गरेकोमा भने उनी खुसी छिन् । ‘यो मेलामा सिकेको कुराले हामीले आफ्नो जीवनमा काम लाग्यो भने हामीले पनि विदेश जानु पर्दैन नी’, जिम्बा भन्छिन्, ‘नेपालमा परिवारसँगै बसेर व्यवसाय गर्ने पाए झन् राम्रो, के थाहा पछि व्यवसाय नै पो गर्छु की ?

विदेश जानेभन्दा पनि नेपालमै केही गर्ने सोच छ उनको । तर, उनी नेपालको परिस्थितिमा भने के गर्ने भन्ने विषयमा अनिश्चितता भएको बताउँछिन् ।

‘अहिलेसम्म त विदेश जाने कुनै सोच छैन’, जिम्बा भन्छिन्, ‘अब हेरौँ नेपालमा केही गर्नै सकिएन भने परिस्थिति नै त्यस्तै बन्यो भने त केही भन्न सकिँदैन ।’

टुँडिखेलमा सिप मेलाको भिडमा फारम बुझाउने ठाउँ खोज्दै यता उता गर्दै गरेको अवस्थामा भेटिए नमिता टमट्टा र करुणा टमट्टा । कैलाली टिकापुरको शंकरपुर नगरपालिका–२ मा हो उनीहरूको घर। पढाइकै क्रममा उनीहरू काठमाडौं आएका हुन् । अहिले उनीहरू काठमाडौंको शंखमुलमा बस्दै आएका छन् । दिदीले ब्यूटिसियन र बहिनीले आइटी सम्बन्धी तालिम लिने उद्देश्यले उनीहरू यहाँ आएको बताउँछन् ।

उनीहरूको काकी पर्नेले महानगरले चलाएको सिप मेलाको बारेमा जानकारी दिएकाले यहाँ आएको बताएका छन् । ‘हामीलाई त थाहा नै भएन, आन्टीले हामीलाई त्यहाँ(टुँडिखेल) तालिम दिँदै छ तिमीहरु पनि जाओ न भन्नु भयो’, दिदीले भनिन्, ‘अनि हामी यहाँ आका हौँ ।’

दिदी नमिताको ब्यूटिपार्लर सिकेर व्यवसाय नै गर्ने सोच छ भने बहिनी करुणा भने आइटी क्षेत्रमा राम्रो कमाइ हुने भएकाले सिक्ने बताउँछिन् । उनीहरूले अहिले फर्म मात्र भरेका छन् । उनीहरूको तालिम कहिले देखी हुन्छ भन्ने बारेमा भने उनीहरूलाई थाहा छैन ।

‘अहिले त फम मात्र भरेको हो’, बहिनी करुणाले चिन्तित हुँदै भनिन्, ‘खै अब कहिले बोलाउनु हुन्छ, फर्म भरेर पनि नाम निकाल्नु पर्छ रे ।’

यो पनि-

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

केही समय अगाडि मात्र कपाल खौरिएर भर्खरै पलाएको कपाल, टाउकोको बीच भागमा टुप्पी, जिउमा साधारण टिसर्ट र कट्टु अनि खुट्टामा फित्ते चप्पल लगाएर सिप मेलाको कम्पाउन्डमा बसिरहेका शिशिर सापकोटाले महानगरले दिने मार्केटिङको तालिमको लागि फर्म भरिसकेका रहेछन् । उनले महानगरले सिप सिक्न आह्वान गरेको केही दिन हुनेवित्तिकै अनलाइनमा डिजिटल मार्केटिङ सम्बन्धी सिप सिक्न फर्म भरेको बताए ।

उनले महानगरले सुरु गरेको तालिममा पहिलो दिनबाट नै सहभागी हुँदै आएका छन् । १९ वर्षीय सापकोटाको घर नुवाकोट हो । उनले सिप मेलाको बारेमा महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले फेसबुकमा राखेको पोष्टबाट थाहा पाएका थिए । पढाइको क्रममा काठमाडौंको बानेश्वरमा बस्दै आएका सापकोटा कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतीक्षा पनि गरिरहेका छन् । पढाइपछिको खाली समयलाई सदुपयोग गर्ने र केही सिकेर आफ्नो भविष्यमा उपयोग गर्ने सोचका साथ उनी तालिम लिन आएको बताए ।

तालिममा अनुभवी प्रशिक्षकहरूबाट आफूले सिक्न पाएकोमा उनी निकै खुसी छन् । ‘मलाई त निकै राम्रो लाग्यो तालिम, निकै अनुभवी शिक्षकहरू हुनुहुँदो रहेछ, डिजिटल मार्केटिङको बारेमा यति थोरै समयमै मैले धरै कुरा जानिसकेँ, तालिम साँच्चिकै फाइदाजनक भएको छ’, उनले तालिमको अनुभव सुनाए ।

सापकोटाले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ, त्यसमा कसरी विज्ञापनमार्फत आम्दानी हुने रहेछ जस्ता विषयहरू यति बेला सिकिरहेको बताए । अहिले उनी दिउँसो २ बजेदेखि ५ बजेसम्मको ग्रुपमा डिजिटल मार्केटिङको सिप सिकिरहेका छन् ।

उनीसँगै सोही विषय सिक्ने उनको ग्रुपमा अरु ३० जना जति छन् । उनीहरूको ग्रुपमा धेरै भएर महानगरले राखेको कम्प्युटरले नपुग्ने अवस्था पनि बनेको छ । त्यसैले गर्दा उनीहरूलाई आफ्नो घरमा ल्यापटप भए ल्याउन शिक्षकहरूले आग्रह गरेको पनि सापकोटाले बताए ।

मोहन, जिम्बा र दिदीबहिनी जस्तै काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारासहित वैशाख २२ गतेदेखि सञ्चालन गरेको सिप मेला–२०८१ मा १३ हजार जनाले सिप सिक्न आवेदन दिएका छन् ।

सापकोटाको जस्तै मेला सुरु हुनुभन्दा अगाडि नै करिब २ हजारको हाराहारीमा आवेदन दिएर अहिले आफूले चाहेको सिप सिकिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि नै कक्षाहरू सुरु भएर ३ सिफ्टमा सञ्चालन हुने गरेको मेला संयोजक देवेन्द्र केसीले जानकारी दिए । तालिमका फास्टफूड एण्ड कुकिङ र बेकरीका कक्षाहरू ४/४ घण्टाको समयमा हुन्छन् । अरु कक्षाहरू ३/३ घण्टा हुन्छन् ।

‘अहिले एक सिफ्टमा सरदर पाँच सय ४० जनाको हाराहारीमा तालिम लिइरहेका भएको छ’, केसीले भने, ‘३ सिफ्टमा तालिम चलिरहेको छ, मेलामा आएर आवेदन दिने पनि आइतबार साँझसम्म १३ हजारको संख्यामा पुगेका छन् ।’

केसीका अनुसार महानगरले सिप तालिमका लागि अबको अबको एक हप्तासम्म मात्र लिन सक्छ । अहिले महानगरले आफ्ना सबै वडाहरुबाट पनि आवेदन लिइरहेको छ । ‘हाम्रो लक्ष ५० हजारलाई सिप सिकाउने भन्ने हो’, केसीले भने, ‘५० हजारसम्म आवेदन लिन्छौँ त्यसपछि हामी बन्द गर्छौँ, अहिलेसम्म गरेर ३५ हजार बढीले आवेदन दिइसकेका छन् ।’

तालिमको लागि यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सिप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले बताए ।

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइने छ । उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने उनले बताए । २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिने ढकालको भनाइ छ ।

धेरै माग आएपछि ‘मोबाइल रिपियरिङ’ तालिम थपिएको र टेलरिङ कक्षा थपेर २ वटा बनाएको महानगरले जनाएको छ ।

 

कुन तालिम कति दिन चल्छ ?

तालिमहरू विषयअनुसार ७, १५ र ३० दिनको रहेको महानगरले जनाएको छ । रोजगार संयोजक देवेन्द्र केसीकाअनुसार १० वटा विधामध्ये अटोमोवाइलको तालिममा अटो इलेक्ट्रिक १५ दिनको, दोस्रो अटो एअर कन्डिसन १५ दिनको र तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) ३० दिनको कक्षा रहेका छन् ।

त्यस्तै, निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम ३० दिनको हुने छ ।  हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फूड एण्ड कूक, बेकरी, वार ट्रेन्डिङ र वेटर/वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको र अरु ७ दिनको हुने केसीले बताए ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेशाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सिसिटिभी क्यामरा र मोबाइल रिपेयरिङ कक्षा चलिरहेका छन् । यीमध्ये सिसिटिभीको कक्षा ७ दिनको र अन्यको १५ दिन चल्ने छ ।

मेकानिकल विधा (पाँचौँ) मा वेल्डिङ पेशाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन र आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम १५ दिनको हुने केसी बताउँछन् ।

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ/ड्रेस मेकर र फेसन डिजाइनिङ गरी २ वटा पेशासँग सम्बन्धित कक्षा १५ दिन हुने भएको छ । टेलरिङ् र डेस मेकरमा अत्यधिक माग भएकोले यसलाई २/२ वटा कक्षा गरेर चलाइएको केसीले जानकारी दिए ।

ब्यूटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेशा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५÷१५ दिनको र मेक अप आर्ट, आइलेस आर्ट ७ दिन कक्षा हुन्छ । डिजाइनिङ विधा (नवौँ) मा ७ दिन अवधिको स्क्रिन प्रिन्टको कक्षा रहेको छ । पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेको महानगरले जनाएको छ ।

महानगरकाअनुसार तालिमको अन्तिम दिन रोजगार मेलाको आयोजना हुनेछ। सो दिन रोजगारदाताहरू स्टलमा आएर आफूहरूलाई आवश्यक परेको सिपअनुसारको जनशक्ति छनोट पनि गर्नेछन् ।

‘रोजगारी दिनेले सिप सिकेकाहरू आवेदन माग्नेछन्, एक आपसमा कुराकानी गर्नेछन्, सिप सिकेकाले आफूले सिकेको सिप र आफूसँग भएको क्षमताको बारेमा भन्नेछन्’, केसीले भने, ‘त्यसका आधारमा रोजगारदाताले आफूलाई मन पर्ने व्यक्तिको छनोट गर्नेछन् ।’

सोही मेलाबाट नै धेरै बेरोजगारले रोजगार पाउने र रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्ने केसीको भनाइ छ ।

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ४२ बजे

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन