रोनाल्डोलाई ल्याउने गफ दिएका राजदूतले पोर्चुगल नटेकी गुमाए जागिर « Khabarhub

रोनाल्डोलाई ल्याउने गफ दिएका राजदूतले पोर्चुगल नटेकी गुमाए जागिर


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेससमेत संलग्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन २०८० माघ २६ गते पोर्चुगलका लागि शनिल नेपाल र क्यानाडाका लागि भरतराज पौडेललाई राजदूतमा नियुक्त गर्‍यो ।

क्यानाडाका लागि राजदूत बनेका पौडेलले अहिले उक्त जिम्मेवारी सम्हालिरहेका छन् । उनले राजदूतमा नियुक्त भएलगत्तै क्यानाडा पुगेर काम थाले ।

उनले ओटावामा आयोजित कार्यक्रममा गत वैशाख २० गते त्यहाँस्थित गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र पनि बुझाइसकेका छन् ।

पौड्यालले त्यसक्रममा सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश पनि सुनाए।

तर उनै पौडेलसँग एकैदिन नेपाली राजदूतमा नियुक्त शनिल नेपालले एक पटक पनि पोर्चुगल टेकेनन् ।

पोर्चुगलमा दूतावास खोल्ने गरी पहिलो आवासीय राजदूतको जिम्मेवारी पाएका उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

तर नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईले राजदूत नेपाललाई आफूले त्यहाँ देख्न नपाएको बताए । उनका अनुसार राजदूत नेपालको एग्रिमो पनि स्वीकृत भएको थिएन ।

‘उहाँ राजदूतमा नियुक्त भएको समाचार सुनेको थिएँ, आज उहाँ राजदूतबाट फिर्ता भएको खबर तपाईंले सुनाउनु भयो’, राईले खबरहबसँग भने, ‘राजदूत नेपाल पोर्चुगल आउने अपेक्षामा थियौँ । तर, उहाँ आउने कुरा दन्त्य कथा जस्तो भयो । न उहाँ आउनु भयो, न दूतावास नै खोलियो ।’

राईका अनुसार पोर्चुगलमा हजारौँ नेपाली राहदानी नवीकरण गर्न नसकेर तनावमा थिए । आवासीय दूतावास खोल्ने सरकारको निर्णयले त्यहाँका नेपाली राहत मिल्ने आशमा थिए । पत्रकार राई यसअघि पोर्चुगलमा बस्दै आएका थिए, उनी अहिले बेल्जियममा रहेका छन् । उनले युरोपका ३० देशमा रहेका नेपाली पत्रकारहरूको नेतृत्व गरिरहेका छन् ।

‘यहाँ ५ हजारभन्दा धेरै नेपाली राहदानी नवीकरण गर्न नपाएर तनावमा छन्’, राईले खबरहबलाई भने, ‘राजदूत नेपाल यहाँ ५ दिन मात्रै आएर बसिदिएको भए पनि ठूलो राहत हुन्थ्यो । तर उहाँले पाइलासमेत नटेकी सरकारले फिर्ता बोलाएको सुन्दा आश्चर्य लाग्यो ।’

राजदूत नेपाल तत्कालीन कांग्रेससहितको गठबन्धन सरकारको पालामा कांग्रेस नेता डा. शेखर कोइरालाको कोटाबाट नियुक्त भएका थिए । उनलाई कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठनमा आबद्ध भएकै आधारमा राजदूतमा सिफारिस भएको भन्दै सांसदहरूले त्यसबेला आलोचना पनि गरेका थिए ।

पोर्चुगलका लागि राजदूतमा सिफारिस भएपछि गत मंसिरमा २२ मा भएको सुनुवाइका क्रममा नेपालले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने बताएका थिए ।

संसदीय सुनुवाइका क्रममा सांसदहरूको जिज्ञासामा उनले रोनाल्डोलाई नेपाल ल्याएर सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तनबारे सन्देश दिने गरी फुटबल खेलाउने बताएका थिए ।

‘रोनाल्डोलाई भित्र्याउन चाहेको छु, मनमा योजना छ । सगरमाथाको बेसक्याम्पमा लगेर जलवायु परिवर्तनमा काम गर्ने योजना छ,’ उनले त्यसबेला भनेका थिए ।

राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा रोनाल्डो नै नेपाल ल्याएर फुटबल खेलाउने प्रशिक्षण गराउने कार्य योजना सुनाएका नेपालले पोर्चुगल नै नटेकी राजदूत पद पनि गुमाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ७ : ३२ बजे

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल

सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै

काठमाठौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन