समाचार

भोटेकोशीले बेलिब्रिज बगाएको लार्चामा अस्थायी पुल, गुड्न थाले गाडी

By खबरहब

October 06, 2024

काठमाडौं- बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको रार्जमार्ग सूचारु भएको छ ।

लार्चामा अस्थायी पुल निर्माण भएसँगै सवारी साधनहरू सुचारु भएका हुन् । निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो ।

अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी गाँउपालिकाले अस्थायी पुल बनाएको हो । अस्थायी पुलनजिकै सर्वसाधारणलाई पैदल आवतजावत गर्न बाँसको अर्को अस्थायी पुलसमेत बनाइएको छ ।

अस्थायी पुल निर्माणको स्थलगत निरीक्षण गर्दै सिन्धुपाल्चोकका सांसद मोहन बहादुर बस्नेत लगायतले पक्की पुल निर्माणको लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएका थिए ।

सांसद बस्नेतले बाढीपहिरोका कारण अरनिको राजमार्गका अन्य स्थानमा पनि ठूलो क्षति भएको भन्दै अधिकांश स्थानमा सडक खुलाइसकेको बताए ।

त्यस्तै खागदलमा बेलिब्रिज बगाएको स्थानमा पनि नयाँ बेलिब्रिज राख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।

यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो ।

०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो । उक्त लार्चाको बेलिब्रिज हालैको बाढिले बगाएको थियो ।