समाचार

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

By खबरहब

October 06, 2024

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण सकेर स्वादेश फर्किएका छन् ।

गत १४ असोजमा काठमाडौं आएका मेजर जनरल देवगनले १९ असोजमा भ्रमण सकेर फर्किएका हुन् ।

उनले नेपाल भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेट तथा पोखरा भ्रमण गरे । पोखरामा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे ।

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरे ।

उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिए ।

भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरे ।

नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा प्रधानसेनापतिसँग संवाद भएको दूतावासले जनाएको छ ।

मेजर जनरल देवगनको भ्रमण सफल र फलदायी रहेको भारतीय दूतावासले जनाएको छ ।

उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणमा चालिएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीको प्रशंसा गरेको दूतावासले जनाएको छ ।