अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी र गण्डकीका दर्जनौं सहकारीले बचतकर्ताको अरबौं बचत अपचलन गरेका छन् । चार अर्बको लागतमा हायात रिजेन्सी लुम्बिनी बन्ने भएको छ । मंगलबार झिनो अंकले घटेको नेप्से आज पनि केही अंकले घट्न पुगेको छ ।
खाद्य व्यवस्था कम्पनीले चामल उत्पादन सुरु गरेको छ । त्यस्तै, सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएर काम सुरु गरेको छ ।

आजका प्रमुख आर्थिक समाचार :

कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन

कोशी प्रदेशका एक दर्जन बढी सहकारीहरूले बचतकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेका छन् ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्रका ९ वटा सहकारीले ८८ करोड ६० लाख रूपैयाँ अपचलन गरेका छन् । अन्य केही सहकारीको अपचलनबारे अहिले पनि अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीकाअनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्रका सहकारीहरूमा अपचलनबारे उजुरी आएपछि अनुसन्धानपछि मुद्दा दर्ता र मिलापत्र गर्ने काम भइरहेको छ ।

उनकाअनुसार अहिलेसम्म रजिष्ट्रार कार्यालयले अनुसन्धान गरेर ३ वटा सहकारीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । अन्य ६ वटा सहकारीको अनुसन्धान टुंगिएको छ । बाँकी एउटा सहकारीको मिलापत्र भइसकेको छ।

रजिष्ट्रार खत्रीकाअनुसार इलामको सानीमाई चिया सहकारीमा ४२ लाख, पाँचथरको दोरम्भा कृषि बजार व्यवस्थापन सहकारीमा २ करोड र ओखलढुंगाको ककनी गैरीवन कृषि सहकारीमा ३ करोड बराबरको बचत अपचलन भएबारे अदालतमा मुद्दा चलिरहेको छ ।

रजिष्ट्रार कार्यालयमा परेका उजुरीका आधारमा अनुसन्धान गर्दा सुनसरीको निर्धन उत्थान बचत तथा ऋण सहकारीमा ५ करोड, इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारीमा ६१ करोड र विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीमा ८ करोड बचतकर्ताको बचत अपचलन भएको देखिएको उनले बताएका छन् ।

गण्डकी प्रदेशका १० सहकारीमा ४ अर्ब बचत हिनामिना

गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब बचत हिनामिना भएको छ ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्र पर्ने १० वटा सहकारी संस्थाहरूमा ३ अर्ब ९२ करोड २७ लाख ५९ हजार १३३ रूपैयाँ बचत हिनामिना भएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख भेषराज रिजालले खबरहबलाई उपलब्ध गराएको विवरणअनुसार कास्कीको ३, पर्वतको ३, बागलुङको १, लमजुङको १, स्याङ्जाको १ र नवलपरासीको एक सहकारी संस्थामा बचतकर्ताको अर्बौं रकम हिनामिना भएको हो ।

प्रदेशमा बचतकर्ताको बचत हिनामिना गर्नेमा कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी संस्था सबैभन्दा अगाडि रहेको छ । सो संस्थाले बचतकर्ताको १ अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रूपैयाँ हिनामिना गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको नेतृत्वमा रहेको बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ३१४ रूपैयाँ हिनामिना गरेको विवरणमा उल्लेख छ ।

खाद्य व्यवस्था कम्पनीले गर्यो चामल उत्पादन सुरु

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ ।

धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए।

विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ ।

त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।

पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति एक सय केजी बोरा चामलमा एक केजी पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भने।

झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेको हो । आज ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच भएको छ ।

१२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२० वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २३८ पटक शेयर किनबेच भएको छ ।

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै १३ वटा समूहमध्ये ८ वटा समूह घटेको छ भने बाँकी ५ वटा समूह बढेको छ । सबैभन्दा बढी म्यूचुअल फण्ड समूह १.०९ प्रतिशतले बढेर २१.५५ विन्दुमा पुगेको छ ।

४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै

लुम्बिनीमा ४ अर्बको लागतमा ह्यात रेजेन्सी लुम्बिनी बन्ने भएको छ । हयात होटल्स कर्पोरेसनले नेपालको चेन होलटको रुपमा रहेको ह्यातमा गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याउने भएको हो ।

काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही सञ्चालनमा रहेको होटल नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्रान्ड हो । गोल्यान समूह अन्तर्गतको दोस्रो होटल कुल ११ एकड (८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको छ । जसमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू भएको गेल्यान ग्रुपले जनाएको छ ।

सन् २०२७ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी निर्माण भइरहेको गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यानले जानकारी दिएका छन् ।

रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधीन होटल बढी भ्रमण हुनेमध्ये एक तीर्थस्थल मायादेवी मन्दिर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहेको छ ।

लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मलाई उजागर गर्न ह्यात विश्वभरका यात्रु र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहने ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौर बताउँछन् ।

लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्य गर्ने राठौरको भनाई छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : ०६ बजे

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ,

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस

लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा (तस्बिरहरू)

लुम्बिनी– पूर्वराजा ज्ञानेन्द्र शाह गौतमबुद्धको जन्मथलो पुगेर शुक्रबार विशेष पूजा