भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय : पाठकको भीड | Khabarhub Khabarhub

भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय : पाठकको भीड



राजधानी काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डपको हाताभित्र धेरैको जमघट चल्छ । चियापानदेखि कार्यालय नहुने सानातिना संघसंस्थाका बैठक समेत यहीँको खुल्ला आकास मुनि सम्पन्न हुने गर्छ । सरकारी जग्गा भएकाले सवारी साधन पार्किङका लागि पनि सहज छ । थकाई मार्नेहरुका लागि जक्सन बन्दै आएको भृकुटीमण्डपको फराकिलो पटाङ्गिनी छिचोलेर भित्र गएपछि ज्ञानको भण्डार मानिने भव्य पुस्तकालय छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । इन्टरनेटले पठन संस्कृतिमाथि धावा बोलिरहेका बेला यहाँ सञ्चालित दुईवटा सार्वजनिक पुस्तकालयमा पढ्न आउनेको घुइँचो लाग्ने गर्छ । बस्ने व्यवस्था मिलाउन नसक्दा पाठक नै निरास भएर फर्किन्छन ।

पहिला पहिला भनिन्थ्यो– नयाँ पुस्तक किन, पुरानो कोट लगाउ । अब त्यसो होइन, नयाँ कोट लाएर, नयाँ पुस्तक पढ्ने पुस्ता हावी छ । त्यसो गर्न नसक्नेका लागि पुस्तकालयका किताब ज्ञान– तिर्खा मेटाउन हाजिर छन् । देशको राजधानी काठमाडौंमा सबैथोक छ । तर कहाँ छ ? धेरैलाई थाहा छैन । युवापुस्ता सामाजिक सञ्जालमा अल्मलिरहँदा केही युवाहरु पुस्तकालय झुम्मिएको भेटिए ।

लोकसेवाको तयारी देखि अध्यात्म, दर्शन, राजनीतिशास्त्र, अर्थशास्त्र, अंग्रेजी साहित्य, इतिहासमा रुचि भएकाहरु पुस्तकालय पुग्ने गरेका छन । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुले पनि शान्त पढ्ने थलोका रुपमा पुस्तकालयलाई रोजेको पाइयो । चिकित्साशास्त्र, इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीमा रहेकाहरु पनि आउने गरेको पुस्तकालयमा कार्यरत लक्ष्मी खतिवडा बताउँछिन् ।

कसरी जन्मियो पुस्तकालय ?

पुस्तकालयको बीउ कांग्रेस नेता डा. नारायण खड्काले आजभन्दा दुईदशकअघि रोपेका थिए । त्यही पुस्तकालय झाँगिएर अहिले देशकै लोकप्रिय पुस्तकालय बनेको छ । काठमाडौँ महानगरपालिकाका तात्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर पुस्तकालय सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अहिले त सरकारबाट वर्षेनी ५० लाख अनुदान पाएपछि सञ्चालनको गर्जो टर्दै आएको छ । पुस्तकालय ब्रिटिस काउन्सिलले आठ हजार बढी पुस्तक उपलब्ध गराएपछि यहाँ पढ्न जाने पाठकहरूको रुचिमा आकर्षण थपियो । यसैगरी एसिया फाउन्डेसनले पनि सुरुवाती अवस्थामा उल्लेख्य संख्यामा किताब दिएर पुस्तकालयलाई आकर्षक बनाउन मद्दत गरेको थियो ।

अवसरसंगै चुनौती

सरकारी स्वामित्वमा रहेको भृकुटीमण्डपको भवनमा पुस्तकालय राखिएको छ । किताब राखिएका साना भवन संरक्षणको अभावमा छत रसाउँदा हिउँद बर्खाको झरीबाट किताब जोगाउन हम्मे पर्छ । यही वर्ष वर्खायाममा पानी चुहिएर पुस्तकलाई क्षति भएको बताउँदै लक्ष्मी भन्छिन्, ‘कुनै पुस्तक हामीले घाममा सुकाएर कोही हिटर बालेर हिटरमा सुकाएर धेरै पुस्तक काम दिने बनाउन सकियो । कतिपय पुस्तक काम नै नदिने अवस्थामा पुगेपछि हामीले स्टोरमा थन्क्याएर राखेका छौँ ।’ सदस्य बनेर निश्चित मापदण्ड पूरा गरेपछि पुस्तकालयबाट पुस्तक घर लगेर पढ्न पाइन्छ ।

‘बाहिर पुस्तक लैजान सबैभन्दा पहिला सदस्य कार्ड बनाउनु पर्छ । त्यसको लागि नागरिकताको फोटोकपी, पासपोर्ट साइजको दुई प्रति फोटो र विद्यार्थी भए कलेजको परिचयपत्र अथवा नोकरी गर्नेको हकमा कार्यालय परिचयपत्रको फोटोकपी, १ हजार रुपैयाँ डिपोजिट र ३ सय सेवा शुल्क बुझाएपछि सेवा लिन सकिन्छ ।’ पुस्तकालयको नियमबारे लक्ष्मीले जानकारी दिइन ।

सार्वजनिक पुस्तकालयबाट कुनै पनि पुस्तक घर लगे पश्चात् च्यातियो वा हरायो भने त्यही पुस्तक किनेर सोधभर्ना तिर्नुपर्ने हुन्छ । त्यो सम्भव भएन भने पुस्तकको मूल्यको दोब्बर दस्तुर जरिवाना स्वरुप बुझाउनु पर्छ । कतिपयले उपहारका रुपमा नयाँ पुस्तक किनेर दिने गरेका छन् । म्यारिज एनिभर्सरी, बर्थडेको अवसर पारेर किताब दिने पनि छन् । पुस्तक दान दिनेलाई पुस्तकालय व्यवस्थापनले प्रशंसापत्र दिएर उत्साही बनाउने गरेको छ । पुस्तकालयमा पुस्तक घरमा लगेर फिर्ता नगर्ने गरेकाे पनि लक्ष्मी गुनासाे गर्छिन् । दुई वर्ष देखि करिब ५० जना जतिले पुस्तक फिर्ता नगरेकाे उनी बताउँछिन् ।

प्रविधि र इन्टरनेटको कारण पछिल्लो समय पुस्तक किन्ने, पढ्ने मान्छे घटेको प्रसङ्गमा पुस्तकालय प्रशासन सहमत छैन । बरु पसलका पुस्तक महँगो भएकाले पाठकले बठ्याइँ गरेर पुस्तकालयबाट आवश्यकता परिपूर्ति गर्ने गरेको विश्लेषण सञ्चालकको छ ।

पुस्तकालयमा कुन उमेर समूहका बढी आउँछन त ? विशेष गरी १५ देखि ३० वर्ष उमेरका युवा आउने गरेको खतिवडा बताउँछिन् । व्यवस्थित भवन नहुँदा किताब जोगाउन हम्मे परेको अनुभव सुनाउँदै लक्ष्मी थप्छिन– ‘किताब सुरक्षित राख्न हामीलाई पहिला भवनको अभाव थियो । अस्थायी समयका लागि ट्रस त बनाएका छौं, तर यो सजिलो छैन । यसले १,२ वर्ष बढी धान्दैन । त्यसैले स्थायी समाधान तत्काल खोज्न जरुरी छ ।’

पाठक बस्ने ठाउँ नभएर फर्केर जानुहुन्छ । त्यसको लागि सुविधा सम्पन्न भवन भइदिए हुन्थ्यो जस्तो लाग्छ । सेवा दिने ठाउँमा त हामी बसेको छौँ तर पूर्ण रूपमा सेवा दिन नसक्दा मनमा असन्तुष्टि हुने उनको गुनासो छ ।

पाठकलाई तातो चिसोको सुविधा !

पुस्तकालय आउने पाठकलाई मौसमअनुसार पंखा, शुद्ध चिसो, तातोपानीको सुविधा दिने गरिएको छ । पुस्तकालयमा जोसुकै आएर नाम ईन्ट्री गरेपछि दिनभर पढ्न निशुल्क पढ्न पाउँछन । डिपोजिट राखिएको हजार रुपियाँ पनि फिर्ता पाइन्छ । पुस्तकालय सञ्चालनमा सघाउन ८ जना सहयोगी राखिएको छ ।

पुस्तकालयले बालबालिकालाई पठनसंस्कृतिमा ढाल्न उनीहरुको रुचिलाई पनि ध्यान दिएको छ । बालबालिकाका लागि प्रशस्त बालपुस्तकको व्यवस्था गरिएको छ । त्यसबाहेक मानिसको भीडभाड रहने यस ठाउँलाई सरसफाई राख्न उत्तिक्कै प्रयास गरिएको बताइन्छ । तर सार्वजनिक सम्पतिलाई आफ्नो नठान्ने चरित्रका कारण कतिपय समस्या झेल्नुपरेको सञ्चालकहरु बताउँछन् ।

दुई वर्ष देखि लोकसेवाको तयारी गरिरहेकी पुष्पा सापकोटा पुस्तकालयकी नियमित पाठक हुन । उनी भन्छिन् ’घरमा बसेर पढ्दा मन कता कता टोलाउने समय पनि त्यतिकै बित्ने गर्छ तर यहाँ आएर पढ्दा मन एकाग्र हुन्छ । अरूले सँगै भएको साथीले पढ्दा पढ्न मन लाग्छ । दैनिक रूपमा केही सिकेर जाने अवसर मिलेको छ ।’

पुस्तकालय बिहान १० बजे देखि बेलुका ५ बजेसम्म खुल्छ । अझ यो समयलाई विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म विस्तार गरिदिए धेरैले लाभ लिने उनको तर्क छ ।

पुस्तकालयले दिएको सुविधाप्रति सन्तुष्ट पुष्पा भन्छिन– ‘ पंखा, पानीजस्तै जाडोमा हिटर वा एसी सुविधा उपलब्ध गराइदिए अझ गुन लाग्थ्यो ।’ पुस्तकालयमा पढ्ने माहोल राम्रो छ । आफूले नजानेको विषयमा छलफल गर्न पाइन्छ । नायव सुब्बा परीक्षाको तयारीमा रहेकी मिना जोशी आफूले दुई महिनादेखि यहाँ पढ्न आएको र हार्दिक वातावरण पाउँदा खुसी लागेको बताउँछिन ।

‘यहाँ खोजेका सबैजसो पुस्तकहरू उपलब्ध छन्, निःशुल्क पढ्ने व्यवस्था छ, समसामयिक पुस्तकहरू पनि पाइने हुँदा बजारमा पुस्तक खोज्न धाउनु परेन, यसरी पाठ्यपुस्तकसँग सम्बन्धित पुस्तक उपलब्ध भएपछि धेरै सजिलो भएको छ’ उनी भन्छिन् ।

सार्वजनिक पुस्तकालयमा करिब ६० हजार माथि पुस्तक रहेको वरिष्ठ पुस्तकालय सहायक रितेश नेवाले जानकारी दिए । उनी भन्छन्– ‘यहाँ पढ्न दैनिक रूपमा १५० भन्दा माथि पाठक आउने गर्नुहुन्छ । तर यो संख्या कोरोना कालअघिको भन्दा निक्कै कम हो ।’

’पुस्तक घरमा लगेपछि त्यसको लागि हामीले दुई हप्ता समय दिएका हुन्छौँ ।१५ दिनभित्र फिर्ता ल्याइसक्नु पर्ने हुन्छ’ नेवा भन्छन्– ‘पुस्तक सुरक्षित राख्न चुनौती धेरै छन् । मुसा र माउबाट जोगाउन कठिन छ । केही हदसम्म कपुर हालेर पनि सुरक्षित राख्छौँ । ’

सार्वजनिक पुस्तकालयले वार्षिक रूपमा सरकारलाई एक लाख ५० हजार नियमित भाडा बुझाउँदै आएको छ ।

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ४७ बजे

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।