शताब्दी नाघ्यो समान ज्यालाको आन्दोलन, प्रहरी भन्छ-८० प्रतिशत महिला हिंसा आफन्तबाटै | Khabarhub Khabarhub

शताब्दी नाघ्यो समान ज्यालाको आन्दोलन, प्रहरी भन्छ-८० प्रतिशत महिला हिंसा आफन्तबाटै



महात्मा गान्धीले भनेका थिए– जब रातको १२ बजे महिला घरबाहिर डुल्न सक्छन्, तब मात्र महिला र पुरुष बराबर हुनेछन् । समयको विभिन्न कालखण्डका आन्दोलन, संघर्ष र लडाईले महिला घर बाहिर निस्कन सक्ने त भए । तर महिला घरभित्रै सुरक्षित छैनन् । उनीहरूको श्रमलाई कम आँकलन गरिएको छ । विना तलबको श्रममा उनीहरूलाई लगाएर घर भित्रै कमजोर बनाइएको छ ।

शारीरिक, मानसिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा महिलालाई कमजोर बनाइँदा  उनीहरु हिंसा र शोषणमा परिराखेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार ८० प्रतिशत महिला हिंसा ‘परिवार र आफन्त’ बाटै हुने गरेको छ । यस्तो अवस्थामा झनै घटना बाहिर आउन सक्दैन । 

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी यो वर्ष पनि मनाइँदैछ ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले चिनेजानेको बाटै हिंसा धेरै हुन थालेको बताए । 

‘दुई दशकअघि सम्म परिवार भित्र अनुशासन नैतिकता थियो । अहिले कमजोर भएको अवस्था छ ।’ सामाजिक सञ्जालको प्रयोगले हिंसा बढाएको छ । ‘मदिरा खाने प्रवृत्तिले घटना भएका छन् । ८० प्रतिशत घटना नशामा भएको बेला भएका छन् ।’ अहिले आर्थिक अभावले पनि घटना बढेका छन् । 

वैदेशिक रोजगारको पीडाले परिवार विखण्डन भएका छन् । यस्ता कारण खोजेर न्यूनीकरणका लागि कार्यक्रम गर्नुपर्ने प्रवक्ता बताउँछन् । हिंसा रोक्न अब नयाँ तरिकाले ठाउँ, वर्ग, पहिचान गरेर काम गर्नुपर्ने उनले बताए । 

कसैले पीडा दियो, समस्यामा पार्यो भने उजुरी दिने भन्ने स्वाभाविक हो । महिलाहरूको हितको लागि प्रहरीले केन्द्रमा महिला बालबालिका र जेष्ठ नागरिक निर्देशनालय बनाएको छ । प्रदेशमा शाखा कार्यालय र जिल्लामा महिला सेल र इलाका महिला सेल क्रियाशील रहेको उनले जानकारी दिए । 

प्रहरीकोमा उजुरी दिन आउनेको संख्या बढेको प्रहरी प्रवक्ता ढकालले बताए । हिंसा सहनु हुँदैन भन्नेमा महिला सचेत भएको अवस्था हो , उनले भने,‘उजुरी गर्नु सकरात्मक हो । अझ घटना लगत्तै उजुरी गर्ने हो तत्काल एक्सनमा जान प्रहरीलाई सहज हुन्छ । 

महिलाले कानुनको दुरुपयोग गर्ने सम्भावना अत्यन्त न्यून हुने ढकाल बताउँछन् ।  उनी भन्छन्, ‘नारीलाई सम्मान गर्ने भावनाको विकास गर्नुपर्छ । राजनीतिक पार्टी, नागरिक समाज, संघसंस्था, स्कुल कलेज हरेक क्षेत्रमा महिलामैत्री वातावरण बनाउनुपर्छ ।’

महिला हिंसाको एक वर्षको तथ्याङ(२०७९-८०)

यो आर्थिक वर्ष सकिन अझै केही महिना बाँकी नै छ  तर यो सात आठ महिनाकै दौरान करिब २१ हजार महिला विभिन्न किसिमका हिंसामा परेका छन् । ५ जनाको त बलात्कारपछि हत्या नै गरिएको छ । 

महिला र पुरुषको समान कामको समान ज्याला भनेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिव मनाउन थालेको सय वर्ष नाघ्दा पनि महिला बाँच्न पाउने अधिकारबाटै वञ्चित हुनुपर्ने अवस्थामा छन् । 

७० प्रतिशतको न्यायमा पहुँच छैन : अध्यक्ष, राष्ट्रिय महिला आयोग

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले प्रहरी कार्यालयमा आएको उजुरी ३० प्रतिशत मात्रै भएको बताएकी छन् । उनी भन्छिन्, ‘ ७० प्रतिशत हिंसाको उजुरी आजपनि प्रहरीमा आएको छैन । ’त्यो भनेको पहुँच नपुग्दाको अवस्था हो । 

राज्यले पीडितलाई न्याय दिन नसकेको अवस्था हो । पीडितले न्याय पाउँछु भन्नेमा डरत्रास व्याप्त भएको उनले बताइन् । आयोगमा वार्षिक हजार बढी पीडित उजुरी लिएर आउने उनी बताउँछिन् । 

२०४७ साल पछाडिको महिला अवस्था सुधारोन्मुख हो । महिलाहरुले हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाइरहेका छन् । ‘राजनीतिक, प्रशासनिक, न्यायिक, पत्रकारिता, र सुरक्षालगायतमा सहभागिता सुखद हो ।’तर जति महिलाहरु घरबाहिर निस्किएका छन्, उति नै चुनौतीहरु थपिएको उनको गुनासो छ । 

परम्परागत भूमिकाबाट महिलाहरुले छुटकारा पाएका छैनन् । उनी भन्छिन्, ‘नयाँ दायित्वहरु थपिएका छन् ।’ दोहोरो, तेहरो भुमिका निर्वाह गर्नुपरेको स्थिति छ । जसले गर्दा प्रतिस्पर्धात्मक क्षेत्रमा महिलालाई काम गर्न चुनौती थपिएको बताइन् । 

‘आमाहरु कामकाजी हुनुपर्छ । आर्थिकरुपमा सबल हुनुपर्छ भनिएको छ । तर परिवार, बच्चाको  जिम्मेवारी हेरचाह महिलाको मात्रै काम हो भन्ने मानसिकताबाट गुज्रिएको छ ।’ खबरहबसँग कुराकानी गर्दै भन्छिन्, त्यहाँ पुरुषले समान भूमिका निर्वाह गर्न सकेका छैनन् ।’

‘यस्तो चुनौतीको सामना गर्न महिलाले अझ धेरै प्रत्यत्न गर्नुपर्ने छ । पुरुषलेसहकार्य नगर्दासम्म समानता आउँदैन । घरभित्र र घर बाहिरको भूमिकामा परेका छन् । ’

परम्परागत हिंसाको अन्त्य भएको छैन । घरबाहिर निस्केका महिलाहरु अफिस, कार्यालय, विद्यालयमै पनि यौन हिंसामा परेका छन्, उनले भनिन्, ‘सँगै साइबर हिंसा भएका छन् ।’ सामाजिक सञ्जालबाट पनि महिलाहरु हिंसामा परिरहेका छन् । त्यसलाई राज्यले नियमन गर्न नसकेको उनको गुनासो छ । 

‘अझै पनि उजुरी गर्न सहजता छैन, महिलाहरुको न्यायमा पहुँच पुगेको छैन ।’ राज्यले हिंसा हुन नदिने अवस्थाको तयारी गर्नुपर्छ । तर पीडितलाई पनि न्याय दिन सकेको छैन । महिला हिंसा मुक्त नभइ, उनीहरु सशक्त नभई समानता नहुने उनी बताउँछिन् । 

कानुनको कार्यान्वयन छैन : समाजशास्त्री
समाजशास्त्री सविता प्रसाईँले प्राप्त कानुनको कार्यान्वयन फितलो भएको बताएकी छन् । उनी भन्छिन्, ‘नेपालमा महिलामैत्री कानुन बनेको छ ।’ तर त्यसको कार्यान्वयन र पहुँच पुगेको छैन । 

‘श्रमिक महिला दिवस, समान कामको लागि समान ज्याला भनेर सुरु भएको हो । उचित न्याय र उचित अवसरको लागि यो दिवस भएको बताउँदै उनी भन्छिन्, ‘आन्दोलन गर्ने समय सकियो, अब प्राप्त उपलब्धीको कार्यान्वयन नै प्रमुख दायित्व हो ।’

नेपाल विकासोन्मुख राष्ट्र हो । अभावमा नै हिंसा अपराध सिर्जना हुने उनी बताउँछिन् । कानुन महिलामैत्री बनेको छ, तर घरभित्रै विभेद छ । कसरी असमानताको अन्त्य हुन्छ ? उनी प्रश्न गर्छिन् । 

राज्यको तीन प्रमुख निकायमा महिला पुगेका थिए, तर काम हुन सकेन । ‘महिला आफ्नै परिवारबाट सुरक्षित नभएको प्रहरी अथवा बाहिर ल्याउन धेरैले सकेका छैनन् ।’ यदि केही गरी कसैले ल्याइहालेपनि समाजले उसलाई लगाउने लाञ्छना सुनिनसक्नु छ । महिलाले घर र समाजमा आफूलाई सुरक्षित महसुस गर्न नसक्दासम्म समानता नआउने प्रसाईँ बताउँछिन् । 

स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारकै लागि संघर्ष गर्नुपरेपछि महिला अन्य क्षेत्रमा अगाडि कसरी बढ्न सक्छन् ? उनी प्रश्न गर्छिन् । काम गर्ने वातावरण बनाइदिने हो भने महिलाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्ने उनी बताउँछिन् । महिला सक्षम हुनु भनेको समुन्नत समाज र राष्ट्र निमार्णमा सहयोग पुग्छ । त्यसको लागि आफ्नै घरबाट छोरा र छोरी समान हैसियतमा हुर्काउनु पर्ने कुरामा प्रसाईँले जोड दिएकी छन् । 

अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक बिदा दिएको छ । नेपालमा यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ७ : १० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि