बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ « Khabarhub

बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीका पशुगोठ लेकमा सार्न थालिएको छ । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभैंसी, घोडा र चौँरी गाईका घुम्ती गोठहरु लेकमा सार्न थालिएको छ ।

रघुगङ्गा गाउँपालिका–८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हुँदै असारको पहिलो साता रिरुको बुकी पुग्ने गोठ भदौ महिनासम्म त्यहाँ रहने बताए ।

“उभौली लागेपछि गोठ लेकतर्फ लैजान थालेका छौँ । पालुवा पलाउँदै गरेको पोषिलो घाँस खुवाउन दुई÷तीन दिनका ठाउँ फेर्दै गोठ सार्दैसार्दै चार हजार आठ सय मिटर उचाइको रिरुको बुकीमा पुग्छौँ”, उनले भने, “गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुनसँगै बोकेर हिँडेका छौँ ।”

चालिस वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबुबाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिएका छन् । उनले झण्डै चार सय भेडा पालेका छन्। पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । असार, साउन र भदौमा बुकीमा चराएपछि असोजमा गोठ दसँैको असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेंसीका फाँटमा ल्याइने गोठ बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।

गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ लागेका छन् । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताए ।

बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँअनुसार विभाजन गरिएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् ।

म्याग्दीमा करिब दुई सय घुम्ती गोठ रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र केन्द्रका प्राविधिक गणेश रिजालले बताए । घुम्ती गोठका लागि केन्द्रले सहयोग गर्दैआएको उनले बताए।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको