बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो  « Khabarhub

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

कमलामाई– रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरू उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरू तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।

खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउने गरेका छन् ।

जिल्लाभित्रैका कतिपय ठाउँका बालबालिकाले प्रशिक्षकको अभावमा शुल्क तिरेर पनि तेक्वान्दो खेलको अभ्यास गर्न पाएका छैनन् । खेलमा विशेष रुचि भए पनि विभिन्न समस्याका कारण खेल अभ्यास गर्न पाउने अवसरबाट वञ्चित छन् ।

तर सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी क्षेत्रका बालबालिकाले दैनिक निःशुल्क तेक्वान्दो खेलको अभ्यास गर्न सक्छन् । यो अवसर यहाँका बालबालिकाले ३३ वर्षदेखि पाइरहेका छन् ।

कमलामाई नगरपालिका–४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्षअघिदेखि नियमित सामेल छिन् । बिहान सबेरै घरमा मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्किन्छिन् । जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारमा माध्यमिक तहको शिक्षा प्राप्त गरिरहेकि उनी बेलुका विद्यालयबाट पढेर घर फर्केपछि सोही कार्य दोहोर्‍याउँछिन् ।

चौरमा पुगेर उनी जस्तै साथीहरूसँग दौडिन्छन् । टाउको, आँखा, मुख, घाँटी, औँला, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको व्यायाम गर्छन् । खेलमा साइज स्ट्रेच, किक एक्सरसाइज लगायत खेलाडीको स्तरअनुसार सत्रुको कल्पनामा गरिने आत्मरक्षाको स्टेपहरु हुन्छन् । उनले यो अभ्यासका लागि बिहानको दुई घण्टा र बेलुकाको दुई घण्टा छुट्याएकी छन् ।

तेक्वान्दो खेलमा हाफ ब्ल्याक बेल्ड प्राप्त गरिसकेकी श्रेष्ठ खेल अभ्यासले आफ्नो क्षमता विकासमा सहयोग गरेको बताउँछिन् । उनी भन्छिन्, ‘खेल अभ्यासले खेलाडी मात्रै बनाउँदैन, असल खानपानको अभ्यास गराउँछ । समग्रमा असल नेतृत्व क्षमता भएको व्यक्तित्व निर्माण र अनुशासित बनाउन मद्दत गर्दछ । सानातिना आक्रमणलाई प्रतिकार गरेर अगाडि बढ्ने सामर्थ प्रदान गर्दछ ।

खेल अभ्यास गर्ने बालबालिका पढाइबाट बचेको समयमा चौरमै भेला हुन्छन् । राम्रो जीवनशैलीका लागि असल व्यवहारका बारेमा प्रशिक्षकको प्रवचन सुन्ने, खेलको अभ्यास गर्ने र अन्य रचनात्मक र सृजनशील काममा केन्द्रित हुन्छन् । यसले खराब आनीबानी भएका साथी र गलत सङ्गतबाट बालबालिकालाई जोगाउन  सहयोग पुगेको अभिभावकहरूको भनाइ छ ।

कनपा–७ माझीटारकी आकृति माझिकाअनुसार तेक्वान्दोका प्रशिक्षक (कोच) डम्बर आलेले तेक्वान्दो खेलसँगै असल खानपान, असल जीवनशैली, असल व्यवहार, व्यायाम, आचरण र असल सङ्गतका बारेमा पनि सिकाउँछन् । उनी भन्छन्, ‘अस्वस्थकर खानपान र जीवनशैलीले हामीलाई विभिन्न रोगले च्याप्छ । बिहान सबेरै उठ्ने, नियमित व्यायाम गर्ने, स्वास्थ्यकर र सन्तुलित खानेकुराहरू मात्रै खाने र हानिकारक तत्त्वहरूबाट बच्नु पर्छ ।’

तेक्वान्दोलाई विशुद्ध खेल मात्र नभए स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायामका रूपमा लिन्छन्, कमलामाई नगरपालिका–७ सिन्धुलीका स्थानीवासी तथा तेक्वान्दो खेलका प्रशिक्षक (कोच) डम्बर आले ।

विसं २०४८ देखि सिन्धुलीमा निरन्तर निःशुल्क तेक्वादो खेल सिकाउँदै आएका छन् उनी । खेलले स्वास्थ्य स्वस्थ, निरोगी बनाइराख्न र बालबालिकालाई आँटिलो र तेजिलो बनाउने उनी बताउँछन् । उनी भन्छन्, ‘कसैले कुनै पनि प्रकारको हिंसा गरेमा प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्दछ । खेलले शारीरिक, मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्दछ । लागूऔषध दुर्व्यसनी र मोबाइल, इन्टरनेटको लतबाट बचाउनसमेत खेलले सहयोग गर्दछ ।’

ध्यान, आत्मरक्षा, आत्मविश्वास, आत्मसम्मान, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकालाई तेक्वान्दो खेल अभ्यास गराउन उनी सम्पूर्ण अभिभावकलाई सुझाव दिन्छन् । प्रशिक्षक आलेका अनुसार तेक्वान्दो अभ्यास गरेका बालबालिकालाई खेलको अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक जस्तो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक विद्यालयमा एक जना खेलकुदका लागि शिक्षक राख्ने नीति लिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । कमलामाई नगरपालिकाभित्र रहेका पाँच वटा बोडिङ स्कुलले भने कार्यान्वयनको सुरुआत गरेका छन् । ‘तीनै तहका सरकारले खेल क्षेत्रलाई थप व्यवस्थित र विकाससँगै विस्तार गर्न जरुरी छ’, प्रशिक्षक आले भन्छन्, ‘तेक्वान्दो खेलको विकास र विस्तारले देशमा स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।’

उनले हाल २० वर्षमुनिका ५० जनाभन्दा बढी बालबालिकालाई दिनहुँ निःशुल्क तेक्वान्दो सिकाइरहेका छन् । अभिभावक अनिता तामाङ तेक्वान्दो खेल तालिममा जान थालेपछि आफ्नो छोरीमा धेरै परिवर्तन आएको बताउँछिन् । उन भन्छिन्, ‘खेलले बालबालिकालाई हरेक क्षेत्रमा सबल र सक्षम बनाउन सहयोग गरेको छ । असल खानपान, असल व्यवहार र अनुशासित बन्न पनि प्रेरित रहेको छ । ‘

निःशुल्क तेक्वान्दो सिक्ने अवसरको बढी लाभ बालिका तथा किशोरीहरूले लिन पाएका छन् । पहिला तेक्वान्दो खेलको अभ्यास गर्ने बालक र किशोर मात्रै हुने गर्दथे । खेलबाट आफ्नो आत्मरक्षा आफैँले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखनीय सहभागिता देखिन थालेको छ ।

बालबालिका मात्रै होइन, मोटोपनाबाट ग्रसितहरूले पनि तेक्वान्दोको सहारा लिएर शरीरलाई सन्तुलनमा राख्न थालेका छन् । सिन्धुलीगढी तेक्वान्दो दोजाङ र जिल्ला तेक्वान्दो सङ्घका अनुसार हाल जिल्लाभर चार सय तेक्वान्दोका खेलाडी छन् ।

 – सासस

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  २ : २० बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको