सामाजिक संस्था आन्तरिक उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा लाग्नुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

 सामाजिक संस्था आन्तरिक उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा लाग्नुपर्छ : प्रधानमन्त्री


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी पुँजी, जनशक्ति र सीप प्रयोग गर्ने सोचमा आधारित भएर सामाजिक अभियन्ताहरू परिचालित हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज यहाँ आयोजित ‘सामाजिक अभियन्ता भेला’ कार्यक्रममा पार्टी अध्यक्ष दाहालले देशभित्रका श्रम शक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए ।

‘विदेशी पुँजी परिचालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मात्र होइनन्, देशभित्र रहेका श्रम शक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सहकारिता र सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि नेतृत्व गर्ने क्षेत्र पनि हुन्’, प्रधानमन्त्री दाहालले भने, ‘देशको मूल नीति विदेशी सहायतामा निर्भर हुने होइन, आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्दछ । यसका लागि म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

विश्वव्यापीकरणको वर्तमान युगमा गैरसरकारी संस्थालाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

यसै गरी प्रधानमन्त्री दाहालले सबै तहको पार्टी कमिटीमा गैरसरकारी तथा सामाजिक सङ्घ संस्था विभाग गठन गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने, सबै वडाहरूमा सामुदायिक केन्द्र र क्लबहरू गठन गर्ने नीति पार्टीले लिनुपर्ने बताए ।

‘पार्टी केन्द्रले समाज कल्याण विभागलाई सामाजिक सङ्घ, संस्थाको सञ्चालन र पार्टीको जिम्मेवारीसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा अध्ययन गरी पार्टी र सम्बन्धित सङ्घ, संस्थालाई आवश्यक राय सल्लाह दिनुपर्छ । पार्टीको सबै तहमा सामाजिक सङ्घसंस्था विभाग निर्माण गरी सञ्चालनका लागि राय सल्लाह र सुझाव दिनुपर्ने आवश्यकता छ’, उनले भने ।

स्थानीय सरकार र राज्यका निकायका कामको अनुगमन र सहकार्यका आधारमा सामाजिक क्षेत्रमा बलियो उपस्थिति र नेतृत्व स्थापित गर्न सुझाव दिँदै प्रधानमन्त्री दाहालले सिङ्गो पार्टीको पुनर्गठन र रूपान्तरणको प्रक्रियामा यस्ता संस्थाले योगदान गर्ने विश्वाससमेत व्यक्त गरे ।

सङ्घीय संरचनाबमोजिम समाज कल्याण विभागका प्रदेश र स्थानीय तहको संरचना निर्माण गरी ती क्षेत्रमा रहेका सङ्घ, संस्थालाई राय सल्लाह, परामर्श र आवश्यकताअनुसार निर्देशनसमेत दिनुपर्ने प्रधानमन्त्रीले उल्लेख गरे।

उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घीय निकायहरू र विकास साझेदारसँग सम्बन्ध स्थापित गरी सहयोग र समन्वय गर्नेजस्ता महत्त्वपूर्ण जिम्मेवारीसमेत विभागलाई प्रदान गरिएको बताए ।

समाजवादको आधार तयार पार्ने सन्दर्भमा माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने नीति अख्तियार गर्दै आएको बताउँदै दाहालले यसका निम्तिसमेत सामाजिक क्षेत्रको भूमिकालाई सङ्किर्ण तवरले नबुझ्न सुझाव दिए । उनले भने, ‘सामाजिक क्षेत्रलाई राजनीतिक र सामाजिक रूपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही र क्रान्तिकारी प्रवृत्ति हो । हामी यही प्रवृत्तिको पक्षमा छौँ ।’

पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन मेहनत र सङ्घर्ष गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पनि यी नै विषयमा केन्द्रित रहेका बताए ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ४९ बजे

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई

खोलामा डुबेर ७० वर्षीय वृद्धको मृत्यु

सिराहा– मिर्चैया नगरपालिका-९ घुर्मी टोल बस्ने ७० वर्षीय राम बहादुर पुलामीको