देउसीभैलोबाट क्याम्पसलाई ४० लाख रुपैयाँ संकलन « Khabarhub

देउसीभैलोबाट क्याम्पसलाई ४० लाख रुपैयाँ संकलन


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ सहयोग जुटाएको छ ।

मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट ४० लाख रुपैयाँ सहयोग जुटेको बताए । दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म ५३ लाख रुपैयाँ जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ’, उनले भने ।

देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा. रेखा रोका, डा. रञ्जना रोका र डा. स्वस्ती रोकाले एक लाख ९२ हजार रुपैयाँका दरले पाँच लाख ७६ हजार सहयोग गरेका छन् ।

मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ ।

अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ । १२ लाख रुपैयाँ सहयोग गर्नेलाई संरक्षक, सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने क्याम्पसले जनाएको छ ।

म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावाससहितको संरचनासमेत बनेको छ ।

हाल यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ११ : ५५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी