खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।
एएफपीका अनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको उत्तरी भागस्थित बजारलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
एक स्थानीय बासिन्दाका अनुसार सोमबार राति करिब ८ बजे बजारमा ड्रोन प्रहार भएको थियो । अर्का स्थानीयले उक्त बजारमा युवाहरूका साथै आरएसएफका लडाकूहरू आउने गरेको बताए ।
न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । यद्यपि, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकु थिए भन्ने स्पष्ट हुन नसकेको उनले बताए ।
सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ । सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ । आरएसएफले न्यालालाई आफ्नो प्रमुख आधार बनाएको छ । उसले खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकारसमेत घोषणा गरेको छ ।
सुडानमा जारी युद्धका क्रममा पछिल्लो समय ड्रोन आक्रमण व्यापक बनेको छ । दुवै पक्षले देशका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान जाने गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामा मात्रै ड्रोन हमलामा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन् ।
सन् २०२३ मा युद्ध सुरु भएयता सुडानमा दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ । युद्धका कारण देशमा गम्भीर भोकमरी र व्यापक विस्थापनको सङ्कटसमेत उत्पन्न भएको छ ।














प्रतिक्रिया