एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता पुर्याउन र सहर छाड्न चाहने बासिन्दालाई सुरक्षित स्थानमा जान सहयोग गर्ने उद्देश्यले मङ्गलबार बिहानदेखि सीमित क्षेत्रीय युद्धविराम लागू भएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको भनिएको उक्त युद्धविराम प्रभावकारी भए–नभएको भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
रुस र युक्रेनले स्थानीय समयअनुसार बिहान ३ बजेदेखि युद्धविराम पालना गर्ने बताएका छन् । रुसी रक्षा मन्त्रालयले खेरसन क्षेत्रमा गोलीबारी रोकिएको जनाएको छ भने युक्रेनका मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले पनि सहमति कार्यान्वयन भइरहेको बताएका छन् ।
यद्यपि, युद्धविराम लागू भएको भनिएकै समयमा युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी गरिएको थियो । किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार एउटा प्रमुख पुलमा भएको आक्रमणबाट मेट्रो पूर्वाधारमा क्षति पुगेको छ ।
सन् २०२२ मा रुसी सेनाले कब्जा गरेको ओलेस्कीमा युद्धअघि करिब २४ हजार मानिस बसोबास गर्थे । अहिले सहरमा करिब दुई हजार मानिस मात्र बाँकी रहेको अनुमान छ, जसमा ५० जना बालबालिका छन् । खाद्यान्न र औषधिको अभाव झेलिरहेका उनीहरूलाई सहर छाड्नसमेत कठिनाइ भइरहेको छ ।
केही बासिन्दा परेवा सिकार गरेर र बगैँचामा उपलब्ध खानेकुराको भरमा गुजारा गर्न बाध्य छन् । सहरकी पूर्वबासिन्दा ओल्गाका अनुसार त्यहाँ रोटी बनाउन आवश्यक पिठोसम्म अभाव भएको छ ।
मेलानिया ट्रम्पले सहर छाड्न चाहने बासिन्दालाई उनीहरूले रोजेको गन्तव्यसम्म पुग्न यातायात र आवश्यक सहयोग उपलब्ध गराइने बताए । तर, युद्धविरामको अवधि, त्यसको निगरानी र मानवीय सहायता वितरणको प्रक्रियाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । युक्रेनले रुसमाथि बासिन्दालाई सहरबाट बाहिरिन नदिएको आरोप लगाउँदै आएको छ भने मस्कोले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
युद्धका साथै सन् २०२३ मा काखोभ्का बाँध भत्किएपछि आएको बाढीले ओलेस्कीमा ठूलो क्षति पुर्याएको थियो । युक्रेनी सेनाले सार्वजनिक गरेका ड्रोन दृश्यमा सहरका आवासीय भवनहरू क्षतिग्रस्त अवस्थामा देखिएका छन् । सेनाका अनुसार बाँकी रहेका बासिन्दालाई खाद्यान्न र औषधि पुर्याउन ड्रोनको प्रयोगसमेत गरिएको छ ।
युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला यो युद्धविराम भएको हो । रुस, युक्रेन र अमेरिकाबीच शान्ति वार्ता नोभेम्बरमा पुनः सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता ठूलो सङ्ख्यामा सैनिक तथा सर्वसाधारणको मृत्यु भएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् । हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ ।













प्रतिक्रिया