को हुन्‌ सिरियामा असदलाई अत्याइरहेका विद्रोही कमान्डर अल-जुलानी ? | Khabarhub Khabarhub

विश्व

को हुन्‌ सिरियामा असदलाई अत्याइरहेका विद्रोही कमान्डर अल-जुलानी ?


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियामा सन् २०११ देखि जारी द्वन्द्व १० दिन यता थप सघन बनेको छ । राष्ट्रपति बशर अल-असदको सेनाले देशका प्रमुख शहरमा नियन्त्रण गुमाइरहेको छ ।

देशको प्रमुख शहर अलेप्पोलाई इस्लामी चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले कब्जा गरेको छ । सिरियामा सक्रिय चरमपन्थी समूहहरूले एचटीएसको नेतृत्वमा हमा शहर पनि नियन्त्रणमा लिएको छ ।

एचटीएसका प्रमुख अबू मोहम्मद अल-जुलानी हुन्‌, जसमाथि जारी लडाइँमा मानव अधिकार उल्लङ्घन गरेको आरोप लागिरहेको छ ।

पछिल्ला वर्षहरूमा अल-जुलानीले विश्वसामू आफ्नो उदारवादी छवि देखाउने प्रयास गरिरहेका छन्‌ । तर, अमेरिकाले आतङ्कवादी सूचीमा राख्दै उनीमाथि एक करोड अमेरिकी डलर इनाम राखेको छ ।

अबू मोहम्मद अल-जुलानी एक उपनाम हो । उनको वास्तविक नाम र उमेरबारे विवाद छ ।

अमेरिकी प्रकाशक पीबीएसले सन्‌ २०२१ फेब्रुअरीमा अल-जुलानीको अन्तर्वार्ता लिएको थियो । सो अन्तर्वार्तामा जुलानीले जन्मपछि दिइएको नाम अहमद अल-शारा रहेको र आफू सिरियाली भएको बताएका थिए । उनको परिवार गोलान इलाकाबाट आएको थियो ।

अबूले बताएअनुसार उनको जन्म साउदी अरबको राजधानी रियादमा भएको थियो, जहाँ उनका बावु काम गर्थे । तर, अबू भने सिरियाको राजधानी दमास्कसमै हुर्के बढेका थिए ।

विश्वसामू अबूबारे फरक सूचना पनि छ । सो सूचना अनुसार उनको जन्म पूर्वी सिरियाको दैर एज-जोरमा भएको थियो । उनले चरमपन्थी बन्नुअघि चिकित्साशास्त्र अध्ययन गरेको पनि भनिन्छ ।

संयुक्त राष्ट्र सङ्घ र यूरोपेली सङ्घले प्रकाशन गरेको रिपोर्ट अनुसार अल-जुलानीको जन्म सन्‌ १९७५ र १९७९ को बीचमा भएको थियो ।

प्रहरीहरूको अन्तरराष्ट्रिय सङ्गठन इन्टरपोलले चाहिँ अबू सन्‌ १९७९ मा जन्मिएको जनाउँछ । तर अस-सफीरको प्रतिवेदनमा उनको जन्म सन्‌ १९८१ मा भएको उल्लेख छ ।

विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) का प्रमुख अबू मोहम्मद अल-जुलानी ।

कसरी बने इस्लामिक समूहको नेता ?

सन्‌ २००३ मा अमेरिकी गठबन्धन सेनाले इराकमाथि हमला थाल्यो । लगत्तै अल-जुलानी त्यहाँ सक्रिय जिहादी समूह अल-कायदामा आबद्ध भएको भनिन्छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकका राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटाइदिएको थियो । तर, पश्चिमी सेनाले इराकमा विभिन्न चरमपन्थी समूहबाट प्रतिरोध सामना गर्नुपरेको थियो ।

सन्‌ २०१० मा इराकमा अमेरिकी सेनाले अल-जुलानीलाई गिरफ्तार गरी कुबेतनजिक रहेको जेल क्याम्प बुकामा बन्दी बनायो । सोही जेलमा उनको भेट ती जिहादीसँग भयो, जसले पछि इस्लामिक स्टेट (आइएस) समूह बनाएर मध्यपूर्वमा आतङ्कको कहर मच्चाए ।

सोही जेलमा अल-जुलानीले पछि आइएसका प्रमुख बनेका अबु बकर अल बगदादीलाई पनि भेटेका थिए । बगदादीले अल-जुलानीलाई आइएसको नयाँ शाखा खोल्न सिरिया पठाएको मानिन्छ ।

अल-जुलानीले मिडियालाई बताएअनुसार सन्‌ २०११ मा जब सिरियाली राष्ट्रपति बशर अल-असदविरुद्ध हतियारबन्द सङ्घर्ष शुरू भयो – तब अल बगदादीले उनलाई आइएसको एक शाखा खोल्ने व्यवस्था मिलाउन सिरिया पठाए ।

आइएस प्रमुख बगदादी र एचटीएस प्रमुख जुलानी ।

सिरिया पुगेपछि अल-जुलानी हतियारधारी एक समूह नुसरा फ्रन्ट (जसलाई जबहत अल-नुसरा पनि भनिन्थ्यो) का कमाण्डर बने । सो समूहले इस्लामिक स्टेटसँग गोप्य ढङ्गले सम्बन्ध राख्थ्यो । लडाइँको मैदानमा नुसरा फ्रन्टले निकै ठूला उपलब्धि हासिल गरेको थियो ।

सन्‌ २०१३ मा अल-जुलानीले आइएससँग नुसरा फ्रन्टको सम्बन्ध तोडे र अल-कायदातर्फ नजिक भए । तर, सन्‌ २०१६ मा एक रेकर्डेड सन्देशमा अल-जुलानीले अब आफू अल-कायदाबाट अलग भएको बताएका थिए ।

सन्‌ २०१७ मा अल-जुलानीले आफ्ना लडाकुलाई सिरियाका अन्य विद्रोही समूहसँग मिलाउँदै हयात तहरीर अल-शाम (एचटीएस) गठन गरे । यो समूहका कमाण्डर नै अल-जुलानी हुन्‌ ।

अल-जुलानी नेतृत्वको एचटीएस उत्तर-पश्चिम सिरियाको इडलिब तथा आसपासका इलाकामा सक्रिय विद्रोही समूह बन्यो । लडाइँअघि इडलिबको जनसङ्ख्या करिब २७ लाख थियो । एक अनुमानअनुसार देशका अन्य भूभागबाट विस्थापित मानिसहरू समेत आइपुग्दा एक समय इडलिबको जनसङ्ख्या ४० लाखसम्म पुगेको थियो ।

यो समूहले इडलिब प्रान्तमा समानान्तर सरकारकै रूपमा काम गर्ने गर्छ । स्वास्थ्य, शिक्षा र आन्तरिक सुरक्षा प्रबन्धनको काममा स्थानीय प्रशासनले झैँ सक्रियता देखाइरहेको छ ।

सन्‌ २०२१ मा अल-जुलानीले पीबीएसलाई आफूले अल-कायदाको वैश्विक जिहादको रणनीति अनुशरण नगरेको बताएका थिए । आफ्नो मुख्य लक्ष्य सिरियाका राष्ट्रपति बशर अल-असदलाई सत्ताबाट हटाउनु रहेको उनको भनाइ थियो ।

सिरियाका वर्तमान राष्ट्रपति बशर अल-असद ।

त्यतिखेर उनले भनेका थिए, ‘यो क्षेत्रले यूरोप र अमेरिकाको सुरक्षामा खतरा निम्त्याउँदैन । यो क्षेत्र विदेशी जिहाद कार्यान्वयन गर्ने मञ्‍च पनि होइन ।’

सन्‌ २०२० मा एचटीएसले इडलिबमा अल-कायदाका कार्यालय बन्द गराइदियो, हतियार नियन्त्रणमा लियो र केही नेताहरूलाई जेलमा हालिदियो । इडलिबमा अर्को उग्रवादी सङ्गठन इस्लामिक स्टेटको सक्रियतामा पनि एचटीएसले अङ्कुश लगाइदियो ।

एचटीएसले आफ्नो नियन्त्रणमा रहेका इलाकामा इस्लामिक कानून कार्यान्वयन गरेको छ । अन्य इस्लामिक विद्रोही समूहको तुलनामा एचटीएसले इस्लामिक कानून कार्यान्वयनमा निकै कम कट्टरता देखाउने गरेको छ ।

एचटीएसले सार्वजनिक रूपमै ईसाइ र गैरमुस्लिमहरूसँग पनि सम्बन्ध राखेको छ । आफ्नो अत्यधिक उदारवादी रुझानका कारण यो समूहप्रति अन्य जिहादी समूहहरूले कठोर आलोचना गर्छन्‌ ।

तर, मानव अधिकार सङ्गठनहरूले एचटीएसमाथि सर्वसाधारणको विरोध प्रदर्शन दबाउने र मानव अधिकार उल्लङ्घन गर्ने आरोप लगाउँछन्‌ । अल-जुलानी चाहिँ यी सबै आरोप अस्वीकार गर्ने गर्छन्‌ ।

एचटीएसलाई पश्चिम र मध्य-पूर्वका सरकार एवम्‌ संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले चरमपन्थी सङ्गठनको समूहमा वर्गीकृत गरिदिएको छ । किनकी, जुलानीको विगत विश्वकै खतरनाक आतङ्कवादी सङ्गठन अल कायदासँग जोडिएको छ ।

उनलाई गिरफ्तार गर्न सूचना दिनेलाई अमेरिकी सरकारले एक करोड अमेरिकी डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सिरियाको अलेप्पो शहरतर्फ अघि बढ्दै लडाकु समूह ।

लडाइँको नयाँ कहर

यतिखेर सिरियामा लडाइको नयाँ लहर शुरू भएको छ । देशको दक्षिणी हिस्सा विद्रोहीको नियन्त्रणमा पुगेको छ ।

डेरा इलाकालाई विद्रोहीहरूले कब्जामा लिएका छन्‌ । डेरा त्यही इलाका हो – जहाँबाट सन्‌ २०११ मा राष्ट्रपति बशर अल-असदविरुद्ध विद्रोह शुरू भएको थियो ।

सिरियाको तेस्रो ठूलो शहर होम्सनजिक पुगिसकेका विद्रोहीहरू यतिखेर राजधानी दमास्कसतर्फ पनि अघि बढ्दैछन् । त्यहँ उनीहरूले बशर अल-असदका सेनालाई कित्ता परिवर्तन गर्न आग्रह गर्दैछन्‌ ।

अर्कातर्फ कुर्द लडाकुहरू पनि यतिखेर हतियारबन्द सङ्घर्ष गर्दै अघि बढिरहेका छन्‌ । सिरियाको पूर्वी मरुभूमि यतिखेर कुर्द लडाकुहरूको पूर्ण कब्जामा पुगेको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरीले सिरियाली सेनासँग हिंस्रक सङ्घर्ष गरेका स्थानीय विद्रोही गुटका सेनाले कयौं स्थान कब्जा गरिरहेको जनाएको छ । दक्षिणतर्फ रहेको डेराको ९० प्रतिशत इलाकामा यतिखेर विद्रोहीको कब्जा रहेको र सनाम्यन इलाकामात्र सरकारी सेनाको कब्जामा बाँकी रहेको अब्जर्भेटरीले उल्लेख गरेको छ ।

समाचार एजेन्सी रोयटर्सले सूत्रलाई उधृत गर्दै विद्रोही र सेनाबीच सम्झौता भएको र सोहीअनुसार सरकारी सेना डेरा इलाकाबाट पछि हटेको जनाएको छ । साथै, सरकारी सेनाले विद्रोहीहरूलाई राजधानी दमास्कसतर्फ जान सुरक्षित बाटो उपलब्ध गराएको पनि सो समाचारमा उल्लेख छ ।

पुष्टि भइनसके पनि यो खबर यस्तो समयमा आएको छ – जतिबेला विद्रोहीहरू उत्तरी सिरियाको होम्स शहर नजिकै पुगिसकेका छन्‌ । रणनीतिक र साङ्केतिक रूपमा यो क्षेत्रले निकै महत्व राख्छ । यो इलाका जोर्डनसँग जोडिएको मुख्य सीमानजिक छ ।

गत साता इस्लामी विद्रोहीहरूले आश्चर्यजनक ढङ्गले फौजी आक्रमण गर्दै निकै छिटो अलेप्पो शहरलाई कब्जामा लिएका थिए । अलेप्पोबाट ११० किलोमिटर दक्षिणमा रहेको हमा शहरमा १० लाख मानिसको बसोबास छ । विद्रोही समूहले हमालाई पनि कब्जा गरिसकेको छ । अब विद्रोही समूह सिरियाको तेस्रो ठूलो शहर होम्ससम्म पुगेको छ ।

राजधानी दमास्कसतर्फ अघि बढिरहेका विद्रोही लडाकुहरू ।

बीबीसीका मध्यपूर्व मामिला संवाददाताले सिरियाको दक्षिणी क्षेत्र स्थानीय विद्रोही समूहको कब्जामा पुगेको बताएका छन्‌ । राष्ट्रपति बशर अल-असदको सेना ती विद्रोही गुटको विस्तार रोक्न असफल भएको छ । ती विद्रोहीले असदलाई सिरियाको सत्ताबाट हटाउने लक्ष्य राखेका छन्‌ ।

संवाददाता ह्युगो बशेगाले बीबीसीलाई भनेका छन्‌, ‘पछिल्लो समय आफ्ना प्रमुख सहयोगी रूस र ईरानबाट सहयोग नपाएका असदको शासन निकै तीव्र गतिमा खतरानजिक पुग्दैछ ।’

विद्रोही लडाकुहरू राजधानी दमास्कसतर्फ तीव्र गतिमा अघि बढ्दैछन्‌ । केही मिडिया रिपोर्टका अनुसार उनीहरू दमास्कसबाट मात्र १०० किलोमिटर टाढा छन्‌ ।

बिहीबार हमा शहर कब्जा गरेपछि विद्रोहीहरू तेस्रो ठूलो शहर होम्सतर्फ अघि बढेका थिए । उनीहरू सोही दिन शहरबाट मात्रै पाँच किलोमिटर टाढा थिए ।

विद्रोहीहरू नजिकै आइपुगेपछि सम्भावित भिडन्तबाट बच्न दशौं हजार मानिसहरू शहर छाडेर भागेका छन्‌ । संयुक्त राष्ट्र संघले गत सातादेखि सिरियामा चर्किएको गृहयुद्धका क्रममा हालसम्म करिब तीन लाख मानिस विस्थापित भइसकेको जनाएको छ ।

होम्सलाई विद्रोहीहरूले कब्जा गरेमा दमास्कस र सिरियाली समुद्री तटबीचको सम्पर्क मार्ग टुट्नेछ । सिरियाका तटीय इलाका राष्ट्रपति बशर अल-असदको गढ मानिन्छ ।

(एजेन्सीहरूको सहयोगमा ।)

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : २३ बजे

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

घर जान लागेका गर्भनरलाई गालीको वर्षा !

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे

मस्कको स्टारलिंक भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौं– एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको

‘लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ’

 इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्