सहरमा महिलाका संघर्ष : भारी जिम्मेवारीमा नारी | Khabarhub Khabarhub

सहरमा महिलाका संघर्ष : भारी जिम्मेवारीमा नारी

संघर्षशील महिलाका उत्प्रेरक कथा



काठमाडौं  – ‘समान कामका लागि समान ज्याला’ भनेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउन थालिएको ११३ वर्ष पूरा भयो। आजको दिनसम्म आइपुग्दा महिलाले धेरै क्षेत्रमा आफ्नो पहुँच पुर्याएका छन्। पारिवारिक, सामाजिक, सांस्कृतिक विविध अवरोधलाई छिचोल्दै महिलाले आफूलाई अब्बल साबित गरेका छन्।

राजनीतिक, प्रशासनिक, शैक्षिक तथा व्यवसाय लगायतमा महिलाले उत्कृष्ट काम गरेका छन्। नेतृत्व तहमा महिलाको उपस्थिति कम भएपनि स–साना काममा उनीहरुको सहभागिता उल्लेखनीय देखिन्छ।

पढेलेखेका मात्रै नभएर विद्यालय नै जान नपाएका तथा अक्षर चिन्न नपाएकाले पनि घरको आर्थिकभार धान्ने काम गरेका छन्। पितृ सत्ताले महिलालाई दोस्रो दर्जामा राखेपनि घरको मुख्य तथा जिम्मेवार भूमिकामा उनीहरु रहन सफल छन्।

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी शुक्रबार मनाइँदैछ। नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक बिदा दिएको छ। यो वर्षको महिला दिवसको नारा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिन्छ। महिला दिवसको अवसरमा काठमाडौं सहरमा संघर्ष गरिरहेका केही महिलासँगको कुराकानी :

२० वर्षदेखि मकै पौल्दै दिलकुमारी

नाम दिलकुमारी माझी, वर्ष ४५, घर सिन्धुली। मकै पोल्न थालेको २० वर्ष भयो। अहिले मकैसँगै साग पनि बेच्न थालेकी छु। आमाबाले एक कक्षा पनि पढाएनन्। तीन छोरी र दुई छोरामध्ये भाइले मात्रै अलिअलि पढेको छ। बाँकी तीन जनालाई नाम लेख्न पनि आउँदैन। मेरा आफ्नै पनि चार छोराछोरी छन्। कान्छी छोरीलाई माल्टा पठाएकी छु। एउटा छोरा दुबईमा छ।

काम गर्दागर्दै मकै र सागको हिसाबकिताब राम्ररी गर्न थालेकी छु। यति पनि नजाने कसरी गरेर खाने। धेरै ठुलो हिसाब नभएर होला यो चाहिँ आउँछ। पहिले पहिले थोरै मान्छेले मात्रै मकै पोलेर बेच्थे। त्यो बेला महिनाको ७० हजारसम्म कमाइ हुन्थ्यो। अहिले यो काम अरु धेरैले गर्न थाले। त्यसपछि कमाइ घट्दै गयो।

पहिला शंखमुलमा मकै बेच्ने म एक्लै थिएँ। अहिले जताततै छन्। काठमाडौंमा अहिले व्यवसाय पनि घट्दै गएको छ। कति छोरी र बुहारीलाई दाइजो दिएन भनेर मारेका छन्। पढेलेखेका छोरीलाई पनि सुख छैन। महिलालाई पुरुषलाई भन्दा धेरै दुःख छ। घरबाहिर निस्किए पनि हेला गर्छन्। अझ हामी जस्तो सानो काम गर्ने महिलालाई त झन् हेप्छन्। कोही–कोही मकै खान आएका मान्छे पनि जिस्कन खोज्छन्। मकै बेच्ने भनेर हेपेका होलान् जस्तो लाग्छ।

टेम्पोको स्टेरिङमा धनमाया

नाम धनमाया श्रेष्ठ, वर्ष २३, घर ओखलढुङ्गा। म एकल महिला हुँ। एक वर्ष भयो टेम्पो चलाउन थालेको। मित्रपार्कमा टेम्पो सिकेको लाइसेन्स निकाल्दा ४० हजार खर्च भयो। टेम्पो मेरो होइन। साहुलाई दिएर बाँकी रहेको पैसा आफूले राख्ने हो। जागिर खान भन्दा टेम्पो चलाउन राम्रो लाग्छ।

पढेको भए राम्रो ठाउँमा जागिर खान सकिन्छ। तर मैले ५ कक्षासम्म मात्रै पढेकी छु। अर्काको घरमा भाँडा माझ्ने हो। अफिसमै पाए पनि सरसफाइ गर्ने हो। त्यो भन्दा आफ्नै काम गर्नु फाइदा देखेर ट्याम्पो चलाउन सिकेँ। धन्न ५ कक्षासम्म पढेको भएर अक्षर चिन्न र हिसाबकिताब गर्न आउँछ।

कहिलेकाँही ४/५ जनाको भाडा कटाउन हजार रुपैयाँ दिन्छन्। त्यस्तो बेला सोचेर हिसाब गर्नुपर्छ। फेरि यसमा एकछिन सोचेर बस्न पनि फुर्सद हुँदैन। तुरुन्तै फिर्ता दिएर हिँड्नुपर्छ। सुरुका दिनमा कसैले धेरै पैसा दिँदा साट्न अत्यास लाग्थ्यो।

अहिले हिसाबकिताबको बानी लाग्दै गएर सजिलो भएको छ। पढ्न पाएको भए ठुला हिसाब गर्न आउथ्यो। अंग्रेजी बुझिन्थ्यो। आफूले पढ्न नपाए पनि छोरी र बहिनी मैले पढाएकी छु। कमाएको पैसा पढाइ र घर खर्चमै सकिएको छ। बचत गर्न सकेको छैन। आज कमाएको भोलि सकिन्छ।

मलाई महिला र पुरुष कहिल्यै समान हुन सक्दैनन् जस्तो लाग्छ। म एकल महिला भएकै कारणले कति अप्ठ्यारो र समस्या भोग्नुपरेको छ। मेरै ठाउँमा एकल पुरुष भएको भए समाजमा यस्तो हुँदैन। तर महिलालाई नियतले ठगेको भन्छन्। हरेक ठाउँमा महिलाले महिला भएकै कारण पीडा खेप्नुपरेको छ।

नर्सरीमा आरतीको मेहनत

मेरो नाम आरती कुमारी कुशवाहा हो । अहिले २६ वर्षकी भएँ । घर बारा कलैया विश्वम्भरपुर हो। अहिले काठमाडौंमा पढ्दै व्यवसाय गर्दैछु। कम्प्युटर साइन्स स्नातकोत्तर सकेकी छन् । अहिले नर्सरी व्यवसायमा सक्रिय छु। घरमा आमा, बुवा र भाइबहिनी छन्। म घरकी जेठी छोरी हुँ। यो हाम्रो पारिवारिक व्यवसाय हो। मैले पार्ट टाइम काम गरिरहेकी छु।

बुवाआमाले सुरुदेखि नै यही काम गरिरहनु भएको छ। यो सम्बन्धी मैले प्राविधिक तालिम लिएकी छु। सानैदेखि देखिरहेकाले कतिपय कुराहरु थाहा पनि छ। हाम्रा भाइबहिनीलाई पनि यो काम कसरी गर्ने भन्ने थाहा छ।

व्यक्तिगत रुपमा आफूले हिंसा भोग्नु परेको छैन। तर धेरै महिला यो समाजमा महिला भएकै कारणले हिंसामा परिहेका छन्। हरेक दिन समाचारमा बलात्कार, हत्या गरेका डरलाग्दा कुरा सुन्नुपर्छ। दाइजोका नाममा आजको दिनमा पनि छोरी र बुहारीले मर्नुपरेको अवस्था छ।

यस्तो घटना नहोस् भन्ने हो। यस्ता कुराबाट टाढा राख्न सानैदेखि छोरा र छोरीलाई राम्रो संस्कार दिनुपर्छ। राम्रो व्यवहार छोरीलाई मात्रै सिकाएर हुँदैन। आर्थिक रुपमा आत्मनिर्भर हुन छोरीलाई सिकाइरहँदा छोरालाई दाइजो लिनु अपराध हो भनेर पनि सिकाउनुपर्छ। ज्ञानले नै परिवर्तन आउने हो।

महिला भनेर कतिले प्रोत्साहन पनि गर्छन्। तिमी महिला हो, तिमीले गर्नुपर्छ भन्छन्। घरमा अभिभावकले छोरी भनेर विभेद गरेको भए म यो अवस्थामा पुग्नेसक्ने थिइन। आर्थिक रुपले आत्मनिर्भर महिलालाई पुरुषले पनि सम्मान गर्छन्। मेहनत गर्ने महिला धेरै प्रकारका शोषणबाट टाढा हुन्छन्।

पछिल्लो समय महिला हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाएर पुरुषसँग प्रतिस्पर्धा गरिहेका छन्। कलेज नसकिँदै उत्पादनमुखी हुने प्रयासमा आजका छोरी दौडिरहेका छन् । यो समाज परिवर्तनको संकेत हो।

तरकारी बेच्ने १५ वर्षीया सिर्जना

म १५ वर्षकी भए। मेरो नाम सिर्जना नेगी हो। मेरो घर बैतडी हो। काठमाडौंमा परिवारसँगै बस्छु। म कक्षा १० मा पढ्छु। हाम्रो परिवारले तरकारीको व्यापार गर्छ। सटरको भाडा तिरेर तरकारी पसल राख्नका लागि धेरै पैसा छैन। साँझ बिहान हामी बागमती खोलाको छेउमा तरकारी बेच्छौं। यसरी बिक्री गरेको देखेमा महानगरले उठाएर लान्छ। महानगरको आँखा छलेर यहाँ ठेला राखेको हो।

तरकारी धेरैजसो आमाले बेच्नुहुन्छ। आज आमा कामले बाहिर जानुपरेपछि म आएकी हुँ। तरकारी बिहानै कालीमाटी गएर ल्याउन म पनि सहयोग गर्छु। बेलुका दुई तीन घण्टा तरकारी बेचेको पैसाले घरखर्च चल्छ भनेर आमाले भन्नुहुन्छ। व्यापारको काम बुवाले भन्दा धेरै आमाले गर्नुहुन्छ।

समाजमा छोरा छोरीबिचमा धेरै विभेद छ। छोरीलाई पहिलेदेखि हेप्ने चलन थियो। छोरालाई शिक्षा दिने कुरामा बाउआमा जति सचेत छन्। त्यत्ति नै छोरीको लागि छैनन्। छोरीलाई आज पनि आत्मनिर्भर र सक्षम होस् भनेर पढाइएको छैन। छोरीलाई शिक्षामा लगानी गर्ने कुरा परिवारको प्राथमिकतामा परेको छैन।

विद्यादेवी भण्डारी महिला राष्ट्रपति भएको बेला बलात्कार गर्नेलाई फाँसीको कानुन बनाउनुपर्ने आवश्यकता थियो। तर पुरुषले महिलाको पीडा बुझ्न गाह्रो हुन्छ। महिलाले नै महिलाको समस्या बुझ्नुपर्छ।

उहाँ दुई वटा छोरीको आमा भएर पनि नेपालमा महिलामाथि भएका अत्याचारका लागि बलियो कानुन बनाउन सक्नुभएन। महिलाको सुरक्षा सरकारले गर्नुपर्छ। महिला र पुरुषको अधिकारका लागि समान कानुन बन्नुपर्छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १ : १२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न