निजामती विधेयक : लोकसेवाका परीक्षार्थीको उमेर कटौती | Khabarhub Khabarhub

निजामती विधेयक : लोकसेवाका परीक्षार्थीको उमेर कटौती

सरकारले निजामती सेवा प्रवेशलाई निरुत्साहित पार्न खोजेको गुनासो



काठमाडौं – सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा सेवा प्रवेशको उमेर हद घटाउने प्रस्तावबाट लोकसेवा तयारी गरेकाहरू असन्तुष्ट बनेका छन् । सरकारले लोक सेवा आयोगको परामर्शमा सरकारी कर्मचारीहरुको सेवा प्रवेशको उमेर घटाउने र अवकाश पाउने उमेर बढाउने प्रस्ताव गरेको छ ।

हाल निजामती सेवा ऐनको दफा १० को ‘ग’ मा  निजामती सेवामा प्रवेश लागि पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म उम्मेदवार बन्न पाउने व्यवस्था छ । तर, प्रस्तावित विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष कटेपछि लोकसेवामा  प्रतिस्पर्धा गर्न नपाउने प्रस्ताव गरिएको छ । यो विधेयक यही रुपमा पारित भएमा अब पहिलेको भन्दा तीन वर्ष कम उमेरका व्यक्तिले मात्रै लोकसेवाको जाँच दिन पाउने छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको सङ्घीय निजामती सेवा विधेयकको दफा १८ अनुसार राजपत्र अनङ्कित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको र राजपत्राङ्कित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको व्यक्ति लोकसेवाको परीक्षामा  सहभागी हुन पाउने छन् । विद्यमान कानुनमा पनि यही नै व्यवस्था छ । तर, उपल्लो उमेर हद भने विधेयकमा ३ वर्ष घटाइएको छ ।

निजामती सेवा ऐनमा उल्लेखित लोक सेवा आयोगको परीक्षा दिन पाउने उमेर हदलाई घटाएर सरकारले निजामती सेवामा नयाँ जनशक्तिलाई रोक्न खोजेको यो क्षेत्रका जानकारहरू बताउँछन् । मुख्य गरी निजामती सेवा प्रवेशका लागि लोकसेवा परीक्षाको तयारी गरिरहेकाहरू यसबाट प्रभावित भएका छन् ।

धनगढीबाट लोकसेवा तयारीका लागि काठमाडौं आएका देवराज जोशी सरकारले उमेर हद घटाउन गरेको प्रस्ताव सही नभएको बताउँछन् । उनी भन्छन्, ‘खरिदार, नायब सुब्बाका लागि त फरक नपर्ला तर, सिधै अधिकृतबाट सेवा प्रवेश गर्न चाहनेका लागि यो प्रावधान गलत छ ।’

उनी थप्छन्, ‘अधिकृत सेवामा प्रवेशका लागि स्नातक उत्तीर्ण हुनुपर्छ, त्यसपछि निजामती सेवालाई सपना बनाएकाहरू ३२ वर्षमा नै आफ्नो लक्ष्यमा सफल हुन्छन् भन्ने कहाँ हुन्छ र ?’

अधिकृत स्तरको परीक्षा पास गर्नका लागि बुझाइ र लेखाइको स्तरमा परिपक्वता चाहिने रयसले  सेवा प्रवेशपछिको काममा पनि असर गर्ने भएकाले उमेर हदमा अहिलेकै प्रावधान ठिक रहेको जोशीको भनाइ छ ।

खुला प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेशका लागि उम्मेदवार हुन तोकिएको विद्यमान उमेर हदलाई संशोधन गर्न लागिएको हो । विधेयकमा पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर नकटेको हुनुपर्ने प्रावधानका लागि प्रस्ताव गरिएको छ

जोशी जस्तै निजामती सेवालाई आफ्नो सपना बनाएर काठमाडौँका विभिन्न तयारी सेन्टरमा गएर कक्षा लिइरहेकाहरू उमेर हद घटाउने विधेयकको प्रावधानबाट असन्तुष्ट देखिएका छन् । सरकारले लोक सेवा आयोगको परामर्शमा परीक्षा दिन पाउने परीक्षार्थीको उमेर हद हालको व्यवस्थामा महिला र पुरुषकै तीन/तीन वर्ष घटाएर सरकारी सेवामा जान चाहने नागरिकलाई निरुत्साहित  गर्ने खोजेको उनीहरुको गुनासो छ  ।

महिला र अपाङ्गता भएका व्यक्तिले अहिले पनि ४० वर्षसम्म लोक सेवा आयोगको परीक्षा पास गर्दा ५८ वर्षमा पेन्सन हुँदा पेन्सन पाक्न चाहिने २० वर्ष अवधि नपुग्ने भएकाले सेवा प्रवेश गर्ने उमेर घटाउन आयोगले सुझाव दिएको थियो । तर विधेयकमा अवकाश उमेर हद भने दुई वर्ष बढाएर ६० वर्ष प्रस्ताव गरिएको छ । यसले ४० वर्षमा सेवा प्रवेश हुँदा पनि पेन्सनका लागि आवश्यक पर्ने २० वर्ष अवधि पुग्ने देखिन्छ ।

गुल्मीदेखि निजामतीको सपना बोकेर काठमाडौं आएका आकाश ज्ञवाली विधेयकमा उमेर घटाउने प्रस्तावले आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुगेको तर्क गर्छन् ।

अवकाश उमेर हद ६० वर्ष कायम हुँदा सेवा प्रवेशको हालको उमेर हदमा कुनै पनि समस्या नहुने उनको बुझाइ छ । उनी भन्छन्, ‘विभिन्न सेवामा अनुभव बटुलेर सरकारी सेवाको सपना देख्ने ठूलो जमात छ ।  पछिल्ला वर्षका नतिजाले पनि शाखा अधिकृत तहको परीक्षामा ३० वर्षमाथिका उम्मेदवारको उल्लेख्य उपस्थिति देखिन्छ । जसले सेवामा परिपक्व जनशक्ति प्रवेश गरेको देख्न पाइन्छ ।’

ज्ञवाली आफैँ पनि ३१ वर्षको उमेरमा लोकसेवा तयारीमा जुटेको बताउँछन् । यो वर्ष शाखा अधिकृतमा खुलाबाट प्रवेश गरेका मध्य ३० देखि ३५ वर्षको उमेर समूहका ३२ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

उम्मेदवारको असन्तुष्टिमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भने फरक मत छ । मन्त्रालयका अधिकारी निजामती सेवामा कम उमेरकै ऊर्जाशील जनशक्ति भित्र्याउने उद्देश्यले आयोगको परीक्षा दिन पाउने उमेर हद घटाइएको तर्क गर्छन् ।

अहिले अधिकांश व्यक्तिले ३० वर्षको उमेरभित्रमा नै आफूले गर्न चाहेको सेवा निश्चित गरी सोही सेवातर्फ लाग्ने भएकाले निजामती सेवाको प्रवेश गर्ने उमेर हद घटाइएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यो वर्ष शाखा अधिकृतको परीक्षामा सफल भएका मध्य ४२ प्रतिशत बढी उम्मेदवार २५ देखि ३० वर्ष उमेर समूहका छन् ।

के छ प्रावधान ?

खुला प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेशका लागि उम्मेदवार हुन तोकिएको विद्यमान उमेर हदलाई संशोधन गर्न लागिएको हो । विधेयकमा राजपत्र अनङ्कित वा सहायक तहको पदमा १८ वर्ष पूरा भएको र राजपत्राङ्कित वा अधिकृत तहको पदमा २१ वर्ष पूरा भएको हुनुपर्नेछ । पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर नकटेको हुनुपर्ने प्रावधानका लागि प्रस्ताव गरिएको छ ।

अपाङ्गता भएका व्यक्ति ३७ वर्षसम्म उम्मेदवार हुन सक्नेछन् । हाल उम्मेदवार हुन पाउने उमेर हद पुरुषको हकमा अधिकतम ३५ वर्ष र महिलाको हकमा ४० वर्ष रहेको छ । अधिकृत नवौँ तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति मात्रै उम्मेदवार हुन सक्नेछ ।

राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि मुख्य सचिव वा सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि तीन वर्ष र सचिवको पदावधि पाँच वर्ष रहेको छ । एक आर्थिक वर्षमा बढीमा तीन महिनाका लागि मात्र काज खटाउने सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

हेर्नुहोस् विधेयकको पूर्णपाठ

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : ०५ बजे

बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस दिने  

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले बोनस घोषणा गरेको छ ।

पाँचपोखरीमा स्वास्थ्य शिविर, पाँच हजार बढीले लिए सेवा

सिन्धुपाल्चोक – यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य

एनपीएल दोस्रो क्वालिफायर : कर्णालीविरुद्ध जनकपुर फिल्डिङमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायरमा इलिमिनेटरको

सुन्तला किन्न व्यापारी बगैँचामै पुगेपछि किसान खुसी

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस

मेलम्चीको ‘पाइप लाइन’ काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी