महाधिवेशनको मुखमा माधव–झलनाथ टकराव, युवा संघमा समानान्तर अभ्यास | Khabarhub Khabarhub

महाधिवेशनको मुखमा माधव–झलनाथ टकराव, युवा संघमा समानान्तर अभ्यास



काठमाडौं–महाधिवेशनको तयारीमा जुटेको सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनमा किचलो सुरु भएको छ ।

मातृपार्टी महाधिवेशनमा होमिएका बेला युवा संघ नेपालमा सुरु भएको किचलो समानान्तर भेलासम्म पुगेको छ ।

युवा संघ नेपालका संयोजक कृष्ण विक र सह–संयोजक नितेश पौडेलबीच नेतृत्वका लागि विवाद हुँदा समानान्तर अभ्यास सुरु भएको हो । असन्तुष्ट पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेलासमेत गरेर नेतृत्व तोकेको छ ।

तर यसबारे विके समूहले कुनै जानकारी नभएको जनाएको छ । पौडेल समूहले समानान्तर गतिविधि गरेपछि विके समूहले संगठनबाट निष्कासन गर्ने तयारी गरेको छ ।

संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट हुन् । यता सहसंयोजक पौडेल अध्यक्ष माधव नेपालनिकट हुन् ।

उनीहरूबीच विवाद हुँदा आज पौडेलले कार्की ब्यांक्वेटमा नेताहरूको भेला गराएर आफू संयोजक भएको दाबी गरेका छन् ।

तर, यता खनाल पक्ष भने नेपालनिकट पौडेल संयोजक भएको कुरा नीतिसम्मत नभएको दाबी गरिरहेको छ ।

असन्तुष्ट पौडेल समूहले राष्ट्रिय भेला गरी नेतृत्व तोकेको स्वीकार गरेका छन् । जसमा संयोजक नितेश पौडेल र सहसंयोजक फुर्बा लामा भएको उनले खबरहबलाई बताए ।

पौडेलले भने, ‘साथीहरूले ६ महिनामा महाधिवेशन गर्ने भनेर नेतृत्व लिनुभयो, तर २ वर्षमा पनि महाधिवेशन नगरेपछि साथीहरूको इच्छा बमोजिम राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका छौँ । साथीहरूले मलाई अगाडि सार्नुभयो ।’

तर यता विक भने सहमतिमा महाधिवेशन गर्न छलफल चलिरहेकामा पौडेलले आफूखुसी आफूलाई नेतृत्व तोकेको बताउँछन् ।

उनले खबरहबलाई भने, ‘साथीहरू पार्टीको बैठकमा पनि आउनु भएन । विशेषतः पौडेलजी पार्टीले बोलाएको बैठकमा आउनु भएन । एकोहोरो असहयोग गर्नुभयो । कति पटक नेताहरू राखेर छलफल गर्न खोजियो तर उहाँहरूले मान्नु भएन ।’

विक आफूलाई सुरुदेखि नै पौडेल पक्षले असहयोग गरेको बताउँछन् । उता पौडेल भने विक संयोजक भएपछि बैठक नै नबसेको बत्ताउँछन् ।

पौडेल पक्षले भेला बोलाएपछि संयोजक विकले विज्ञप्ति निकालेर युवा संघले कुनै भेला नगरेको जानकारी दिएका थिए । तर पौडेल पक्ष ३ हजार हाराहारीमा सबै जिल्लाबाट नेताहरू आएको बत्ताउँछन् ।

यसबीचमा पार्टी उपाध्यक्ष वेदुराम भुसाल लगायत नेताहरू बसेर पनि मिलाउने प्रयास गरेका थिए । तर पौडेल तयार भएनन् ।

यता पौडेल पक्ष भने विके समूहले संगठनलाई कमजोर बनाउँदै लगेर मैपरीवाद हाबी गरेकाले पार्टीको महाधिवेशन नजिकिँदै गर्दा बाध्यताले संयोजकमा आउनु परेको बताउँछन् ।

नेकपा एकीकृतको महाधिवेशन यही असार १६ देखि २० गते काठमाडौंमा हुँदैछ ।

महाधिवेशनमा सम्मानित नेता खनाल र नेपाल अध्यक्षका दाबेदार छन् । तर उनीहरूनिकट युवा नेताहरूको लडाइँले पार्टीे महाधिवेशनलाई प्रभावित गर्नेमा नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

दुवै नेताहरूले आफूलाई अध्यक्षको दाबेदारका रूपमा प्रस्तुत गरिसकेका छन् । उनीहरूले नेतृत्व लिने योजनासहित पार्टी विधानबाट ७० वर्षे उमेर हदको व्यवस्था पनि हटाइसकेका छन् ।

यी शीर्ष दुई नेताबीचको तानातानले पार्टीमा तनाव बढिरहेका बेला दोस्रो तहका नेता भने विकल्प खोजिरहेका छन् । दुई शीर्ष नेताबीच टकराव बढ्दै जाँदा दोस्रो पुस्ताका नेताहरूले महासचिव घनश्याम भुसाललाई अघि सार्न थालेका छन् ।

यदि दुईजना सहमतिमा नआएमा दोस्रो पुस्ताले भुसाललाई अध्यक्षका रूपमा अघि सार्न अहिलेदेखि नै तयारी थालेका छन् ।

भुसाललाई पार्टी नेतृत्वमा पुर्याउने योजनासहित जनसङ्गठनमा छलफल सुरु भइसकेका बोला नेपालनिकट युवाले कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर वर्तमान सन्दर्भमा पार्टीमा अर्को विकल्प नभएको बताएका थिए ।

भेलालाई सम्बोधन गर्दै अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले आजको भेलाले विल्कुल १० औँ महाधिवेशनमा माधव नेपालको विकल्प नभएको कुरा प्रस्ट पारेका थिए ।

भेलामा सहभागी युवा संघका एक नेताले भने, ‘अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले यो भेलाले माधव नेपाललाई अध्यक्ष बनाउने हो भन्नु भयो । हामी उहाँबिना पार्टीको विकल्पमा जान सकिँदैन । माधव नेपालको विकल्प देशले त खोजेको छैन ।’

शनिबारको भेलामा हस्त शाहीबाहेक कुनै नेताहरूको उपस्थित थिएन । यस्तै युवा संघ इन्चार्ज दिलु पन्त पनि उपस्थित थिएनन् ।

यसबारे पार्टी अध्यक्ष र सम्मानित नेता झलनाथ खनालले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

सुरुदेखि नै विवाद

२०८० भदौ १० गते युवा सँघले नेकपा समाजवादीनिकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन भएका थिए ।

त्यो बेला दुई पक्षबीच सचिवालय संख्यामै विवाद भएको थियो । यति मात्रै होइन, यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री भएपछि म्यादीका जिल्ला कमिटी अध्यक्ष विकलाई आफूखुसी संयोजक बनाएकोमा सह–संयोजक पौडेलले गहिरो असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष नेपालका भाञ्जासमेत रहेका नितेश पौडेल पक्षले ४२५ सदस्यीय सचिवालय रहेको बताइरहँदा खनाल पक्षले भने ३०६ जना सचिवालय सदस्य रहेको भन्दै नाम सार्वजनिक गरेको थियो ।

शाहीले बिदा हुँदा महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा नितेश पौडेल र महासचिव सञ्जीव राई चयन भएका थिए । सुरुदेखि नै विवादमा रहेको युवा संघमा थप विवाद चुलिएको हो ।

पौडेल समूहले यो विवादको मूल जड पूर्वअध्यक्ष नरेश शाही रहेको बताइरहेको छ । तर विक समूह आफूहरू पार्टीका बलियो भएको दाबी गर्छ ।

यसबीचमा विवाद मिलाउन महासचिव घनश्याम भुसाल, उपाध्यक्ष प्रमेश हमाल, केशवलाल श्रेष्ठ, युवा संघ इन्चार्ज दिलु पन्त र पूर्व अध्यक्ष नरेश शाही, संयोजक कृष्ण विक, युवा संघका सचिवालय नेता सञ्जीव राई लगायत नेताहरू पटक पटक छलफलमा बसेका थिए ।

यता पौडेलनिकट नेता पनि रोशन थापा, फुर्वा लामाहरूसँग पनि नेताहरूले छलफल गरेका थिए ।

पछिल्लो समय माधव नेपाल कांग्रेससँग नजिक छन् । झलनाथ खनाल एमालेसँग नजिकिएका छन् । यसैको असर युवा संघमा देखिएको हो ।

एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादी दल २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको थियो । त्यबेला सम्मानित नेता खनाल उपचारका लागि विदेशमा थिए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १० : ४८ बजे

एमाले–कांग्रेस सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी हुने

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नागरिक उन्मुक्ति

७३ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौं – डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ ।

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन

छनोटमा परेका श्रमिकको खातामै ज्याला

मुगु – मुगुको सोरुगाउँपालिकाले पालिका र वडाबाट सञ्चालन हुने विकास

न्यायाधीश सारङ्गाको राय : रविले गृहमन्त्रीबाट राजीनामा दिनुपर्छ

काठमाडौं- सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले पोखरास्थित सहकारीको बचत हिनामिना प्रकरणमा