अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह « Khabarhub

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण निर्धारित समयभन्दा एक दिनअघि नै समाप्त गरी शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन्। ट्रम्पले भ्रमण छोट्याएर फर्किनुको कारण ह्वाइट हाउसले सार्वजनिक गरेको छैन।

रुस टुडेका अनुसार अमेरिकी बी–१बी लान्सर बमवर्षक बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट पूर्ण आफ्टरबर्नरसहित उडेर मध्यपूर्वतर्फ गएको छ।

इरानको प्रेस टीभीले पनि उत्तरपूर्वी सिरियाको अल–हसकाहस्थित खाराब अल–जिर एयरबेस आसपास हवाई प्रतिरक्षा गतिविधि देखिएको जनाएको छ।

अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

मध्यपूर्वमा जारी संघर्ष तीव्र रूपमा बढ्न सक्ने भन्दै अमेरिकाले ती देशको यात्रा गर्ने आफ्ना नागरिकलाई समेत सावधानी अपनाउन भनेको छ। नागरिकलाई उडान तथा विमानस्थलसँग सम्बन्धित पछिल्लो जानकारी नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ।

युद्ध अन्त्यका लागि इरानका सात सर्त

इरानले जारी युद्ध अन्त्य गर्न अमेरिकासमक्ष सात सर्त राखेको जनाएको छ। आफ्ना माग पूरा नभए युद्ध जारी राख्न तयार रहेको इरानले जनाएको छ।

इरानका सुरक्षा प्रमुख मोहसिन रेजाईले अलजजिरासँग कुरा गर्दै कतारले मध्यस्थका रूपमा इरानका सर्त अमेरिकासमक्ष पुर्‍याएको र अहिले इरान अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफको प्रतीक्षामा रहेको बताएका छन्।

रेजाईका अनुसार इरानका मागमा सबै मोर्चामा युद्ध रोक्ने, विदेशमा रोक्का गरिएका इरानी रकम फुकुवा गर्ने र नौसैनिक नाकाबन्दी अन्त्य गर्नेलगायत विषय छन्।

साउदीमा हुथीले मिसाइल प्रहारको प्रयास गरेको दाबी

साउदी अरबले हुथी समूहले राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहारको प्रयास गरेको जनाएको छ। साउदी सेनाका अनुसार ती मिसाइललाई बाटोमै रोकिएको थियो।

हुथी प्रवक्ता याह्या सारीले भने संगठनले साउदी अरबतर्फ कैयौँ ब्यालिस्टिक तथा क्रुज मिसाइल र ड्रोन प्रहार गरेको बताएका छन्। उनका अनुसार रियाद तथा साउदी तेल कम्पनी अरामकोको यान्बुस्थित संरचनालाई लक्षित गरिएको थियो। उक्त घटनापछि साउदी अरब र हुथीबीच तनाव थप बढेको छ।

नोबेल विजेता नर्गिस मोहम्मदीको चिन्ता

इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीले देशमा जारी युद्ध, आर्थिक संकट र सरकारी दमनको सबैभन्दा ठूलो असर सर्वसाधारणमाथि परेको बताएकी छन्।

एसोसिएटेड प्रेससँग कुरा गर्दै उनले पछिल्लो डेढ वर्षमा सरकारी दमन बढेको र आर्थिक दबाबसँगै मानिसमाथि लगाइएका प्रतिबन्धले अवस्था थप कठिन बनाएको बताइन्।

यद्यपि, धेरै इरानी नागरिकले आफ्ना अधिकारका लागि आवाज उठाइरहेको उनले बताएकी छन्। विशेषगरी युवा पुस्ता आफ्ना अधिकारबारे सचेत रहेको र विरोध गर्न पछि नहटेको उनको भनाइ छ।

लामो समय जेलमा थिइन् मोहम्मदी

मोहम्मदी लामो समयदेखि मानवअधिकारका पक्षमा आवाज उठाउँदै आएकी छन्। उनी पटकपटक जेलसमेत परेकी छन्। उनलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

गत डिसेम्बरमा हिरासतमा रहेका बेला उनले सुरक्षा बलले आफूमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन्। पछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई जमानतमा रिहा गरी अस्पताल भर्ना गरिएको थियो। हाल आफ्नो स्वास्थ्यमा सुधार भइरहेको उनले बताएकी छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : ०४ बजे

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं– प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल