काठमाडौं – परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा दैनिक सयौंको संख्यामा शिशुले जन्म लिन्छन्। त्यसमध्ये कतिपय शिशु सामान्य अवस्थाका हुँदैनन्। कति समय नपुग्दै जन्मिएका हुन्छन् भने कति समय पुगेर पनि कम तौल भएका कमजोर शिशु जन्मिन्छन्। त्यस्ता शिशुलाई एनआइसीयु कक्षमा राख्नुपर्ने हुन्छ। अस्पताल उनीहरुका लागि भनेर ह्युमन मिल्क बैंक अर्थात् (अमृत कोष) स्थापना गरेको छ। जहाँ दैनिक १५ देखि २० जना आमाले आफ्नो दूध दान गर्ने गर्दछन्।
विश्व स्तनापान सप्ताह चलिरहेकैबेला हामी थापाथली अस्पतालको अमृत कोषमा पुग्दा त्यहाँ ५ जना सुत्केरी आमा आफ्नो दूध संकलन गरिरहेका थिए। एनआइसियु कक्षको छेवैमा मिल्क बैंक रहेकाले त्यहाँ बसेर दूध दान गर्दा आफ्नै बच्चाले दूध चुसेको जस्तो अनुभूति हुने एक आमाले बताइन्।
समय अगाडि नै जन्मिएकाले तौल कम छ र शारीरिक विकास पनि राम्रोसँग नभएको भन्दै बिगत १५ दिनदेखि उनको बच्चा एनआइसियू कक्षमा राखिएको छ। विभिन्न कारणवश अस्पतालमै बस्नुपर्ने बाध्यता भएका उनी जस्तै धेरै आमाबाट संकलन गरिएको दूधले धेरै शिशुले नयाँ जीवन पाएको अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. शैलेन्द्र कर्माचार्यले बताए।
प्रसूति अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. शैलेन्द्र कर्माचार्य ।
सुरुमा केही आमाले अरुको बच्चालाई दूध दिन आनाकानी गरे पनि भर्खर जन्मेको बच्चा त्यसमा पनि शारीरिक रुपमा कमजोर, कम तौल भएको बच्चाले धेरै दूध खान सक्दैन। त्यसले गर्दा कतिपय आमाको दूध त्यसै खेर जान्छ। खेर जाने दूधले कुनै शिशुको ज्यान जोगीने कुराहरु सम्झाउँदा एक दुई जना बाहेक धेरै आमाले खुशी भएर दान गर्ने गरेको उनको अनुभव छ।
मिल्क बैंकको प्रभावकारिता र चुनौती
विगत दुई वर्षदेखि सञ्चालनमा रहेको मिल्क बैंक धेरै प्रभावकारी भइरहेको डा. कर्माचार्य बताउँछन्। ‘अष्ट्रियाको भियना भन्ने ठाउँमा करिब एक सय वर्ष अगाडि नै सुरु गरिएको यो अभ्यास विश्वका विभिन्न देशमा लामो समयदेखि भइरहेको छ। छिमेकी राष्ट्र भारतमै पनि निकै प्रभावकारी भइरहेको छ। सय वर्ष पछाडि भए पनि नेपालमै पहिलोपटक सुरुवात भएको छ। यो खुशीको कुरा हो’, खबरहबसँग कुरा गर्दै उनले भने।
कस्ता आमाबाट दूध संकलन गर्ने ? कस्तो बच्चालाई दिने ? भन्ने केही कुरामा चुनौती भने देखिएका छन्। अहिलेसम्म प्रसूति अस्पतालमा सुत्केरी भएका आमाबाट दूध संकलन भइरहेको छ। विगत दुई वर्षमा संकलित दूधबाट परोपकार प्रसूति अस्पताल र उपत्यकाका अन्य अस्पतालमा जन्मिएका धेरै शिशुले नयाँ जीवन पाएका छन्। त्यसरी हेर्दा यो अभियान प्रभावकारी भएको देखिन्छ।
‘अस्पताल बाहिरका आमाको दूध संकलन गर्न पाए अझै प्रभावकारी हुने थियो। त्यो गर्न सकिएको छैन। तर हामीले प्रयास गरिराखेका छौँ’, उनले भने।
कस्ता शिशुलाई दिइन्छ दूध ?
मिल्क बैंकमा संकलन गरिएको दूध सबैभन्दा पहिले अस्पताल भित्रका बच्चालाई दिइन्छ। जो समय अगावै जन्मिएका हुन्छन्। कतिपय कम तौल भएका बच्चालाईसमेत यस्तो दूध चाहिन्छ। जन्मदा राम्रोसँग विकास र वृद्धि नभएका शिशुका लागि यो दूध धेरै प्रभावकारी भइरहेको छ। यो अस्पतालका मात्रै नभएर अन्य अस्पतालमा पनि त्यस्ता बच्चालाई अस्पतालसँगको सम्झौता अनुसार दूध दिन सुरु भएको छ।
‘टिचिङ, पाटन, नजिकैको नर्भिक अस्पतालमा जन्मिएका कजोर शिशुलाई पनि मिल्क बैंकबाट दूध दिने गरिएको एक कर्मचारी जागृतिलाल ननमुनको भनाइ छ। त्यस्तै आमा नभएको, आमामा पनि कुनै खालको संक्रमणको कारण दूध चुसाउन नमिल्ने बच्चालाई दोस्रो प्राथमिकता दिने गरेको छ।
दूध दानको मापदण्ड ?
मिल्क बैंकमा सबै आमाले दूध दान गर्न सक्छन्। त्यसका लागि अस्पतालले एउटा मापदण्ड बनाएको छ। दूध दान गर्न चाहने आमाको सबैभन्दा पहिला ल्याब र शारीरिक जाँच हुन्छ। जसमा एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी (भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन (एचबीएसजी) लगायतका आमाको दूधबाट बच्चामा सर्नसक्ने सम्भावना भएका रोगको परीक्षण गर्नुपर्छ।
यी परीक्षणमा आमा स्वस्थ भेटियो भने मात्र त्यस्ता आमाले दूध दान गर्न पाउँछन्। अस्वस्थ आमाको दूध संकलन हुँदैन। डा. कर्माचार्य भन्छन्, ‘कुनै पनि प्रकारको इन्फेक्सन नभएका, दूधबाट सर्न सक्ने कुनै पनि रोग नभएका, स्तन परीक्षणको रिपोर्ट राम्रो आएका आमाले दूध दान गर्न पाउँछन्।’
आमाबाट दान गरिएको दुध आफ्नो बच्चा बाहेक अर्को बच्चालाई दिनुपर्दा प्रशोधन गरेर मात्रै दिने गरिएको उनले बताए।
दैनिक दुईदेखि तीन लिटरसम्म दूध संकलन
प्रसूति अस्पतालमा दैनिक सयौं आमाले बच्चा जन्माउँछन्। आमा र बच्चा दुवैको अवस्था सामान्य भएका आमा एक दुई दिनमा डिस्चार्ज भएर घर जान्छन्। त्यो समयमा धेरै आमाको दूध पनि आइसकेको हुँदैन। ती आमापछि अस्पताल आएर दूध दान गर्नसक्ने अवस्था पनि हुँदैन।
सयौं सुत्केरीमध्ये ३० देखि ३५ जना बच्चालाई विभिन्न कारणले भर्ना गर्नुपर्ने हुन्छ। त्यसमा सबै आमा दूध दिन योग्य पनि हुँदैनन्। त्यसैले दैनिक १५ देखि २० जना आमाबाट दुईदेखि ३ लिटरसम्म दूध संकलन हुने गरेको डा. कर्माचार्यको भनाइ छ। ‘अन्य अस्पतालबाट पनि समय अगाडि नै जन्मेका बच्चाका लागि भने दूधको माग भए अनुसार तीनदेखि चार लिटर चाहिने देखिन्छ। तर हामीकहाँ दुईदेखि ३ लिटरसम्म मात्रै संकलन हुँदा माग अनुसार पुर्याउन सकेको अवस्था छैन’, उनले भने।
दूध दान गर्ने आमाको संख्या बढाउन के गर्ने ?
मिल्क बैंक नै सञ्चालन गर्न नसकिए दूध संकलन युनिट सबै प्रदेशमा खोल्नेबारेमा सरकारको छलफल गरिएको उनले बताए। यसरी संकलन गरिएको दूध मिल्क बैंकमा ल्याएर प्रशोधन गरेर आवश्यक पर्ने बच्चालाई वितरण गरिने उनको भनाइ छ। त्यस्तै अर्को घरघरमा गएर दूध संकलन गर्नका लागि मिल्क एम्बुलेन्स सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।
अस्पतालबाट डिस्चार्ज भइसकेका आमाले चाहेर पनि अस्पातलमा आएर दुध दान गर्नसक्ने अवस्था रहँदैन त्यसलाई सम्बोधन गर्नेगरी दूध संकलनको तयारी भएको उनको भनाइ छ। ‘बच्चा दुई तीन महिनाको हुँदा आमाको दूध झन धेरै आउँछ। बच्चाले खान नसक्दा त्यो दूध फाल्नुपर्ने हुन्छ। यदि हामीले मिल्क एम्बुलेन्स सञ्चालन गर्न सक्यौं भने त्यो खेर जाने दूध संकलन गर्न सकिन्थ्यो’, उनले भने।
डा. कर्माचार्य बाहिरी देशमा यो अभ्यास भइरहेकाले नेपालमा त्यही प्रक्रियाको विषयमा छलफल भइरहेको बताउँछन्।
संकलित दूधको प्रयोग र प्रशोधन विधि ?
सबै आमाको दूध एउटै हुन्छ भन्ने हुँदैन। आफ्नो आमाको दूध सजिलै पचाउन सक्ने बच्चाले अरु आमाको दूध पचाउन नसक्ने अवस्था देखिएको उनको भनाइ छ। सबै बच्चाको स्वास्थ्यलाई असर नगर्नेगरी सामान्य फ्रिजमा राखेर २४ घण्टासम्म र ३ महिनासम्म डि फ्रिजमा राखेर एउटी आमाले आफ्नो बच्चालाई आफैले संकलन गरेको दूध प्रशोधन नगरीकनै सजिलै खुवाउन सक्ने उहाँको भनाइ छ। त्यही दूध अरुको बच्चालाई दिनुपर्दा प्रशोधन गरेर मात्रैदिन मिल्ने प्रसूति अस्पतालकी ल्याब टेक्निसियन रोशनी देवकोटा बताउँछिन्।
देवकोटाका अनुसार संकलित दूधको प्रशोधन गर्नुअघि कल्चर टेष्ट गरिन्छ। ‘कल्चर गरेपछि दूध ६२ दशमलव ५ डिग्री तापक्रममा तताएर छिटो चिसो हुने विधिबाट त्यसको तापक्रमलाई ४ डिग्रीमा झारिन्छ। दूध सेलाएपछि फेरि केही ब्याक्टेरिया छ कि भनेर त्यसको कल्चर गरिसकेपछि मात्रै अरुको बच्चालाई खुवाउन योग्य मानिन्छ’, उनले भनिन्।
यसरी प्रशोधन गरिएको दूध ६ महिनासम्म खुवाउन सकिने देवकोटा बताउँछिन्। उनका अनुसार अहिलेसम्म कुनै पनि आमाको दूधमा हानिकारक ब्याक्टेरिया भेटिएको छैन।
मिल्क बैंक सञ्चालनपछि ल्याक्टोजिनको प्रयोग घट्यो
बच्चा जन्मिने बित्तिकै प्राय आमाको दूध आउँदैन। त्यो समयमा धेरैले बच्चालाई ल्याक्टोजिन खुवाउने चलन छ। ‘प्रसूति गृहमा पनि धरै आमाले ल्याक्टोजिन नै खुवाउँथे। तर मिल्क बैंक सञ्चालनपछि ल्याक्टोजिनको प्रयोग घटेको छ’, देवकोटा भन्छिन्।
केही आमाले अझै प्रयोग गरे पनि पहिलेको तुलनामा धेरै घटेको उनले बताइन्। मिल्क बैंक स्थापनापछि अस्पतालमा स्तनपान गराउने आमाको संख्या पनि बढेको उनको अनुभव छ।
स्तनपान गराउने तरिका नजान्दा पनि धेरै शिशु स्तनपानबाट बञ्चित हुने गरेको डा. कर्माचार्य बताउँछन्। ‘सुरुमा तरिका नजानेर स्तनपान गराउँदैनन्। पछि चाहेर पनि दूध आउँदैन र बट्टाको दूध खुवाउँछन्। बट्टाको दूध खान थालेपछि बच्चाले आमाको दूध चुस्नै मान्दैन’, उनले भने।
अस्पतालले दूध खुवाउने तरिका सिकाउनका लागि ६ जना परामर्शदाता राखेको छ। ६ जना परामर्शदाताले अस्पतालमा सुत्केरी भएका महिलालाई भेट्ने, उनीहरूलाई दूध कसरी चुसाउने भन्नेबारे जानकारी दिने गर्दछन्।
प्रतिक्रिया