सभापति र महामन्त्रीहरूको मात्रै होइन नेपाली कांग्रेस | Khabarhub Khabarhub

सभापति र महामन्त्रीहरूको मात्रै होइन नेपाली कांग्रेस



नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा पार्टीको महामन्त्रीका लागि उम्मेदवारी घोषणा गर्दै गर्दा एकजना उम्मेदवारले भनेका थिए- कांग्रेसको महामन्त्री पद भनेको कुनैबेला गणेशमान बस्नुभएको कुर्सी हो,सूर्यप्रसाद उपाध्याय र गिरिजाप्रसाद कोइरालाहरू बसेको कुर्सी हो…। उनले भनेजस्तै यो त्यही कुर्सी हो, जहाँ कुनै बेला कृष्णप्रसाद भट्टराई पनि थिए। अनि सुशील कोइरालाहरू पनि थिए।

यी त्यस्ता पात्रहरू हुन्, जसले नेपाली कांग्रेसको स्थापनादेखिका हरेक आरोह अवरोहहरूमा पार्टी र संगठनलाई स्पातजत्तिकै मजबुत राख्दै आए। देश अनि प्रजातन्त्रका लागि पार्टीको भूमिका के हुन्छ? भन्ने कुराको साविति प्रमाण नेपाली कांग्रेसका यिनै पात्रहरू हुन्, जसले पार्टीलाई कहिल्यै पनि राष्ट्र र जनताको हितविपरीत जान दिएनन्। लोकतान्त्रिक समाववादका लागि आफ्नो सारा जीवन बिना लोभलालच पार्टी र राजनीतिकै लागि समर्पित गरेका यी त्यस्ता महामन्त्रीहरू हुन् जो कुनै बेला पार्टीको सिङ्गो खम्बा थिए र पार्टी अनि संगठनलाई एकल काँधमा जुरुक्क बोकेर कुद्ने हिम्मत राख्थे।

चौधौ महाधिवेशनबाट दुईजना यस्ता तन्नेरीहरू पार्टीको त्यो खाँबो थाम्न आइपुगे जोसँग नेपाली कांग्रेसलाई चाहने एउटा पुस्ताको अथाह आशा अनि भरोसाहरू गाँसिएका थिए। त्यतिमात्रै होइन, नेपाली राजनीतिमा ओइलाउँदै, मुर्झाउँदै गएको पार्टी जीवनलाई नयाँ प्राण दिन्छन् भन्ने आशाहरू हुन् उनीहरूलाई चुनेका मत।

ती महामन्त्री वा अरु पदाधिकारीहरू चुन्नका लागि केही सय महाधिवेशन प्रतिनिधिले हालेका भोटमात्रै होइन वा कुनै गुट अनि समूहको चाह र मोहमात्रै थिएन। बरु त्यो त नेपाली कांग्रेसलाई खूनमै बगाउँदै आएका दशौंलाख कार्यकर्ताले पोखेको आशा र अपेक्षाका पोकाहरू थिए।

उनै महामन्त्रीले त्यो बेला भनेका थिए- पार्टी भनेको राज्यमा गएर राज्यको सत्ता र शक्तिको दोहन गर्ने एजेन्सी होइन। कांग्रेसको महामन्त्री भनेको केबल महामन्त्रीको कुर्सीमा बस्ने पदमा मात्रै होइन, कांग्रेसको महामन्त्री भनेको कांग्रेसको राजनीतिक लाइन र कार्यदिशा प्रस्ताव गर्ने पनि हो… यो भएन र त्यो भएन भनेर गनगनमात्रै गर्ने यो पद होइन। पक्कै हो,उनले जे हो भनेका थिए, त्यही हो । जो होइन भनेका थिए, त्यो होइन, हुँदै होइन। यी वाचा-कसमहरूलाई अब एकपटक निर्मम समीक्षा गर्न धेरै ढिला भइसकेको छ। समीक्षामात्रै होइन, निकै कठोर आत्मसमीक्षा।

नेपाली कांग्रेसको विधानमा महामन्त्रीहरूको काम,कर्तब्य र अधिकारलाई यसरी प्रस्ट पारिएको छ:

(१) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ। महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्ने।

(२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महामन्त्रीको हुने।

(३) दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्‍याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारीर सुझाव दिने।

(४) पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने, गराउने।

(५) पार्टी सम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने।

(६) केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने।

(७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने।

(८) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने।

(९) नेपाली कांग्रेसको सदस्यता बारे धारा ४ को उपधारा ९ बमोजिमको कार्य गर्ने गराउने।

(१०) पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने।

(११) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल् नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनु पर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने।

(१२) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।

लेखिएका यी जिम्मेवारी र कार्यक्षेत्रहरूलाई एकछिन थाती राखौं । मात्र पहिलो नम्बरको बुँदामा आफूले आफैलाई राखेर हेरौं वा मनन गरौं-

महाधिवेशनको अढाइ वर्षमा हाम्रा महामन्त्रीहरू कतिपटक पार्टी कार्यालयको दैलोमा पुग्नुभएको छ? पार्टीका बैठक बाहेक! यो कुरा पार्टी नेतृत्वका प्रत्यक सदस्यदेखि हरेक पदाधिकारीले छातीमा हात राखेर आत्ममूल्याङ्कन गर्न जरुरी छ।

महामन्त्रीहरूमात्रै होइन, महाधिवेशनले चुनेका सबै पार्टी नेतृत्व अर्थात् सदस्यहरूदेखि सबै पार्टी पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार क्षेत्रहरू बिधानले यसैगरी प्रस्ट नै पारिदिएको छ। यसको मतलव हो, पार्टीको पदाधिकारी भएपछि के गर्ने वा कसो गर्ने भन्ने कुनै अलमल नै छैन। बाटाहरू प्रस्टै छन् मात्रै त्यसमा कसरी हिँड्ने र सिङ्गो पार्टी अनि संगठनलाई कसरी हिँडाउने भन्ने भिजन चाहिएको मात्रै हो।

केन्द्रीय समितिमा धेरै नयाँ अनुहारहरू पनि थपिएका छन्। पहिला नै केन्द्रीय समितिमा भएकाहरू पनि पदोन्नती भएको छ। एउटा पदबाट अर्को पदको जिम्मेवारी सम्हाल्नु भनेको मात्रै नेता बन्नु होइन। नेतृत्व लिनुमात्रै पनि होइन। त्यो पदको ओजलाई जोगाइराख्नु त पहिलो काम छँदैछ। त्यसमा पनि अझ पदीय पदोन्नती भनेको त त्यसको अझ सवलीकरण हो, दूरदर्शी आयामहरूको एउटा खाका तयार गर्नु पनि हो। त्यसैले सदस्यहरूमात्रै होइन नेतृत्वमा रचिएका हरेक पदहरू उत्तिकै महत्वपूर्ण हुन्छन्।

नेपाली कांग्रेस आफैमा एउटा ऐतिहासिक पार्टी हो। लोकतन्त्रको पहरेदारका रुपमा देशका हरेक मोडहरूमा नेपाली कांग्रेसले नै नेतृत्व गर्दै आएको छ। आजको राजनीतिमा नेपाली कांग्रेस कहाँ छ? पार्टी सदस्यता नलिएरै पनि वा नेपाली कांग्रेसलाई नचिनेरै पनि भोट हाल्दा ‘रुख’ खोज्नेहरूले धानेको पार्टी हो नेपाली कांग्रेस।

यसका आफ्नै ऐतिहासिक आयामहरू छन्, आफैंले कोरेका इतिहासका पानाहरू जिउँदा छन्। यस अर्थमा नेपाली काँग्रेस भनेको कुनै बामपन्थजस्तो सांगठिन पार्टी होइन, यो समुदायमा आफै जन्मिएर आफैंमा झाङ्गिएको पार्टी हो। तर यसो भन्दैमा हामीले पार्टीका हरेक तहका नेतृत्व र संगठनलाई कमजोर बनाउने भनेको होइन वा त्यसै छोड्ने भनेको होइन।

हामीले इतिहास रचेका छौं भनेर आजको पुस्ता अनि भावी पिँढीका लागि पनि नेपाली कांग्रेस हुनुमा गर्वान्वित हुनसक्ने बनाउनुपर्ने दायित्व आजको नेतृत्वमा छ। हिँज हामीले वा हाम्रा पुर्खाले के गरे त्यसको लेखाजोखामै समय खेर फाल्नुभन्दा पनि अबको पुस्तालाई नेपाली कांग्रेससँग कसरी जोड्ने भन्ने भिजन अहिले पार्टीलाई चाहिएको छ।

त्यसकै लागि ‘युथ’ र ‘स्मार्ट’ नेतृत्वको आवश्यकता। युवा यस अर्थमा कि त्यो उमेरले होइन पार्टी जोगाउने उसको दूरदर्शनमा भर पर्ने कुरा हो। ‘स्मार्ट’ यसअर्थमा कि आजको पुस्तालाई उसले राजनीति बुझाउन सकोस् वा राजनीतिमा आशा जगाउन सकोस्। देशमै बस्न मन नगरिरहेको युवा पुस्तालाई एउटा ऐतिहासिक र पुरानो पार्टीमा कसरी गाँस्ने अनि उसलाई कसरी टिकाउने भन्ने कुरा अहिलेको नेतृत्वको कार्यशैलीमै निर्भर छ।

अबको चुनावमा गठबन्धन नगरेरै लड्ने भनेर पार्टीकै महामन्त्रीको प्रस्ताव यसअघि नै महासमिति बैठकले पारित गरिसकेको छ। केन्द्रीय समितिलाई समेत दिशा निर्देश गर्नेगरी अधिकारप्रदत्त महासमिति बैठकले त्यत्तिमात्रै होइन पदाधिकारीहरूलाई आफ्नो पदीय जिम्मेवारीमा अझ बढी खट्नसमेत निर्देश गरेकै हो।

अबको लगभग दुई वर्षभित्रमा नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन हुनेछ। त्यसको लगत्तै फेरि हामी आम निर्वाचनमा होमिनुपर्ने छ। त्यसको तीन वर्षअघि नै हामीले एकप्रकारको चुनावी नीति अख्तियार गरिसकेको अवस्था छ। अहिले फेरिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस फेरि एकपटक साझेदार बनेर सत्ता सफरमा छ।

सहमतिहरू तलमाथि नभए वा साझेदारहरूको राजनीतिक इमान्दारिता ढलमल नभए अन्तिम बखत अर्थात् चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसकै हुनेछ। यस्तो अवस्थामा पार्टीका पदाधिकारीहरू सरकारकेन्द्रितमात्रै भएर पार्टी र संगठन अझ कमजोर हुने हुन् कि भन्ने चिन्ता र चासो आम कार्यकर्ताहरूमा छ। यो अवस्थालाई चिर्नका लागि पार्टीका हरेक पदाधिकारीहरू चनाखो हुनुपर्छ।

आफ्नो पदीय जिम्मेवारी अनि तोकिएका क्षेत्रभित्र रहेर इमान्दारिताका साथ पार्टी संगठनलाई हाँक्नका लागि पदाधिकारीहरू सरकारमात्रै नअलमिएर जनताको घरदैलोमा पुग्न जरुरी छ। तीन वर्ष भनेको धेरै समय होइन, त्यत्तिञ्जेल नेपाली कांग्रेसको नेतृत्व हरेक जनताका घरघरमा पुगेर उनीहरूका कुरा सुन्नैपर्छ।

त्यसका लागि बरु कार्यविभाजन गरेर जान सकिन्छ। पार्टी भनेको सभापति वा महामन्त्रीहरूको मात्रै होइन। यो आम पार्टी हो, त्यसैले यसमा हरेक त्यस्ता कार्यकर्ताहरूको उत्तिकै अधिकार रहन्छ जसले नेपाली कांग्रेसको जग जोगाइराखेका छन्। अर्थात् नेपाली कांग्रेसको त्यो जग जहाँ पार्टीको गर्भाशय छ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १ : ०० बजे

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष

नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने

वीरगञ्ज– वीरगञ्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौँदेखि प्रयोगमा नआई थन्किएका उपकरण

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित

खाँदबारी-किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको आग्रह

काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले

रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी

काठमाडौं- कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको