बस्तीमा बाढी पस्ने डरले नरैनापुर र सोनारीवासी त्रसित | Khabarhub Khabarhub

बस्तीमा बाढी पस्ने डरले नरैनापुर र सोनारीवासी त्रसित


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

राँझा – तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारीनरैनापुरवासीको निद्रा हराएको छ । 

‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती सोनारी–७ खल्लाझगडियाका शंकर यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।’

दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।  

राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शंकर मात्र नभई राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गंगापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेले बताए । 

“दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ,” उनले भने, “तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीर रूपले नलिएको हुँदा थप चिन्तित छौँ ।” 

सांसद सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी चिन्तित छन् । 

‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ,’ नरैनापुर–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भने , ‘डुबानबाट बस्ती जोगाई दिन हामीले सबैसँग हारगुहार्‍यौँ तर हाम्रो दुःख राज्यले सुनेन ।’

राप्ती नदीको कटान नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको यादवले बताए । राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका-६ र ७ र नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उनको भनाइ छ । 

डुडुवा गाउँपालिकाको होलिया बेतहनी क्षेत्रमा डुबान कटान गर्दै आएको राप्ती नदीले दुई वर्षअघि धार परिवर्तन गरी खल्लाझगडियामा निर्माण गरिएको अस्थायी तटबन्ध भत्काएपछि राप्ती सोनारी र नरैनापुरका गाउँबस्ती डुबानको जोखिममा परेको सांसद ढकालले बताए । 

खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई तत्कालका लागि अस्थायी तटबन्ध निर्माणका लागि राज्यको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १२ : ४२ बजे

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणबारे मन्त्रालयले वक्तव्य जारी

वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने छ : मुख्यमन्त्री आचार्य

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान

एजेन्सी– युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा