ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै « Khabarhub

ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।

सरकारको ९६ करोड ४५ लाख चार हजार एक सय ३८ रुपैयाँको लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।

आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नम्बर ८ सल्लेको महादेवबेँसीबाट वडा नम्बर ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटकपटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो ।

खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ ।

आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ । उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ ।

दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । शाखा लाइन विस्तारको ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् ।

लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो ।

उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नम्बर २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताए ।

लामा कन्स्ट्रक्सनले ३७ करोड ९३ लाखको लागतमा २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।

यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नम्बर ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो ।

आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो । निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् ।

आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १० : ३५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर