पर्वतको लिदिखोलामा मोटरेबल पुल सञ्चालन « Khabarhub

पर्वतको लिदिखोलामा मोटरेबल पुल सञ्चालन


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ ।

गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरे ।

डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो ।

पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गरे । मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उनको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

उनले चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उनको भनाइ छ ।

अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । दुई करोड ५३ लाख लागतमा निर्मित पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ ।

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए ।

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नम्बर ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवा र वडा नम्बर १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ ।

स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ४६ बजे

चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै

चितवन– चितवनको कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बिहिबार सुनचाँदीको मूल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमाका महिला

भोजपुर– पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र