अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अस्तव्यस्त | Khabarhub Khabarhub

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अस्तव्यस्त


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अस्तव्यस्त बनेको छ ।

आइतबार चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निकै तामझामका साथ उद्घाटन भएको प्रतियोगिताका खेलहरू सुरु नहुँदै अस्तव्यस्तता सतहमा आएको हो ।

बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा जारी प्रतियोगिताको व्यवस्थापन फितलो बनेको भन्दै खेलाडी, प्रशिक्षक र खेल प्रेमी आयोजकसँग रुष्ट बनेका छन् ।

उद्घाटनमा तामझाम गरेको आयोजकले खेलको प्राविधिक पक्षतर्फ नजरअन्दाज गरेको र खेलका नियम–मापदण्डसँग तालमेल गराउन नसकेको उनीहरूको गुनासो छ । खेलकुदको महाउत्सवमा आयोजकको चरम लापरबाहीको सिकार खेलाडी भएका छन् ।

प्रतियोगिताको पूर्ण तयारीतिर भन्दा पनि उद्घाटनमा तडकभडक बनाउनेतिर आयोजक केन्द्रित बनिदिँदा खेलाडीले सास्ती भोग्नुपरेको छ । खेलमैदान नै पूर्ण–रूपमा तयार नभएको भन्दै प्रशिक्षकहरूले गुनासो पोखेका छन् ।

‘सम्भवतः पहिलो पटक आयोजना भएकोले हुन सक्छ, तयारी फितलो नै देखिएको छ,’ कोशी प्रदेशका भलिबल प्रशिक्षक खेम राई भन्छन्,‘खेल तालिका नै नियमसंगत नभएपछि हामीले गुनासो गरेका थियौँ । तालिका त फेरियो तर मैदानको अवस्था दयनीय छ । आयोजकले मैदान सम्याउने सुधार्ने आश्वासन दिए पनि सुधार हुन सकेको छैन ।’

सोमबार लुम्बिनी प्रदेशससँग भएको खेलमा कोशीका भलिबल खेलाडी घाइते भएका छन् । खेलाडीको उपचारमा बेवास्ता गरिएको गुनासो पनि छ । ‘मैदान मिलेको छैन, उबडखाबड भएकै कारण हाम्रा खेलाडीले चोट बोक्नुपरेको छ,’ उनले भने, ‘उद्घाटनलाई भव्य बनाउन छोडेर भलिबल कोर्ट बनाएको भए हुने थियो ।’

सोमबार मैदान पूर्ण तयार नभएपछि महानगरपालिकाले पानी हालेर केही हदसम्म सच्याउने कोसिस गरेको थियो ।

यता, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई आयोजक समग्र प्रतियोगितातिर भन्दा पनि उद्घाटनमा केन्द्रित भएको बताउँछन् ।

उद्घाटनमा आतसबाजी गर्ने र गायिका नचाउनेभन्दा पनि खेलका संरचना तथा प्राविधिक कुरामा आयोजकले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

‘पहिलो पटक प्रतियोगिताको आयोजना गरेको हुँदा बागमतीलाई धन्यवाद छ, तर आयोजकले उद्घाटनभन्दा पनि खेलको पार्टमा ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘भव्य तामझामलाई घटाएर संरचना र प्राविधिक कुरामा ध्यान दिनुपर्छ । कम खर्चमा अझै व्यवस्थापन गर्न सकिन्थ्यो तर यहाँ काम कम गफै बढी भयो । मैदान मर्मत–सम्भारमा आयोजकको कमजोरी देखिएको छ, पहिलो पटक भएको हुनाले सुधार्नुपर्ने धेरै छ ।’

‘भलिबलको राष्ट्रिय स्तरको खेलमा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरकै रेफ्रीको जरुरत पर्छ । सबैभन्दा बढी त विज्ञ र रेफ्री ल्याउँदा विश्वसनीयता बढ्छ । तर, यहाँ लाइसेन्सबिनाका स्थानीय रेफ्रीहरूले खेल खेलाइरहेका छन् । प्रतियोगिता आयोजना भद्रगोलको अवस्था छ, सुधारेर जानुपर्ने देखिन्छ । राष्ट्रिय स्तरको प्रतियोगिता हो, तर प्राविधिक रूपमा भने व्यवस्थित भएन,’ उनले थपे ।

स्थानीय खेल प्रेमी रमेश पौडेल भन्छन्, ‘उद्घाटन खेलकुद प्रतियोगिताभन्दा पनि मेला–महोत्सवजस्तो भयो । कलाकार बोलाएर रंगीला–तडक गरियो । प्रधानमन्त्री स्वयमलाई सरम आएको अवस्था थियो । चितवनवासीलाई प्रचण्ड आउनेबाहेक प्रतियोगिता आयोजना हुने कुरा थाहा थिएन ।’

नेपाल भलिबल संघ (एनभिए) को नियमानुसार एकै दिन एउटा टोलीलाई दुई वटा खेल खेलाउन पाइँदैन । तर, यो प्रतियोगितामा भने महिला–पुरुष भलिबलतर्फ आयोजकले नियम मिचेर प्रतियोगिता गराउन खोजेको थियो ।

खेलाडी र प्रशिक्षकको गुनासो भलिबलकी संयोजक सुनिता गौतमले सम्बोधन नगरेपछि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको निर्देशनमा आयोजकले खेल तालिका परिवर्तन गरेको थियो ।

लुम्बिनी प्रदेश भलिबल टिमकी व्यवस्थापक तथा बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य गौतम यसअघि नवौँ राष्ट्रिय खेलकुदमा एकै दिन दुई खेल खेलाउन नहुने अडानमा थिइन् । तर यसपालि भने उनी संयोजक रहेको भलिबलका खेलहरू नियम विपरीत खेलाउन आँटिएपछि खेलाडी र प्रशिक्षकले आपत्ति जनाएका थिए, जसपछि खेल तालिका फेरिएको थियो ।

पूर्वराष्ट्रिय भलिबल खेलाडीसमेत रहेकी गौतमले भने सबै प्रदेशसँगको सहमतिमा खेल तालिका बनाइएको दाबी गरिन् । सीमित बजेटका कारण खेल मैदान अपेक्षाअनुरूपको बनाउन नसकेको र राष्ट्रिय स्तरका रेफ्री ल्याउन नसकेको उनको भनाइ छ ।

यसैगरी, एथलेटिक्सको मैदान पनि पूर्ण रूपमा तयार नभएको खेलाडी–प्रशिक्षकको गुनासो छ । कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य कुमारी भुषालले एथ्लेटिक्सको मैदान गुणस्तरहीन रहेको बताइन् ।

‘अहिले खेलाडीले धुलोको सास्तीमा छन्, पानी परेको भए झन् गाह्रो हुन्थ्यो होला,’ उनले भनिन्,‘एक त रबरको ट्र्याक छैन । खेलाडी खुल्ला चौरमा दौडिनुपर्ने बाध्यतामा छन् । कम्पाउन्डले घेरेको त छ तर खेतीपाती लगाउने जमिन जस्तै छ ।’

‘जसोतसो खेल्न त मिलेको छ । मैदान खाल्डाखुल्डी छ । खेलाडीलाई प्रतिस्पर्धा गर्न असहज छ । मैदान व्यवस्थित गराउनुपर्थ्यो,’ उनले भनिन् ।

यता, बागमती खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले भने पहिलो पटक प्रतियोगिता आयोजना गरेका कारण कमी–कमजोरी भएको भए पनि सुधारेर अगाडि बढ्ने बताए । सबै प्रदेश मिलेर प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा उनको जोड छ ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलाडीलाई पीडा बोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको बताइन् । सबै प्रदेशका खेलाडी तथा प्रशिक्षकबाट कुनै गुनासो नआउने गरी बागमतीका सदस्यसचिवलाई निर्देशन दिएको उनको भनाइ छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : ०४ बजे

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन