काठमाडौं- आफू अमेरिका भ्रमणमा रहेकै बेला यही आइतबार जनता समाजवादी पार्टी विभाजित भएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव संघदेखि अब मधेश प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन् ।
पार्टी फुटेर तनावमा रहेका उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक नै बहिष्कार गरेका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनी अनुपस्थित भए ।
मन्त्रिपरिषद् बसिरहँदा यादव भने अशोक राईले निर्वाचन आयोगबाट प्रमाणपत्र समेत लिइसकेको दललाई अदालतबाट मान्यता खोस्न सकिने उपायको खोजीमा थिए ।
मन्त्रिपरिषद् बसिरहँदा काठमाडौंमै रहेका उनी कानुन व्यवसायी र नेता कार्यकर्तासँगको संवादमा थिए । उनी आइतबार सर्वोच्च अदालत जाने तयारीमा छन् ।
अशोक राईले प्रतिनिधि सभाका १२ सिटमध्ये ७ सिट आफूतिर लगेपछि उपेन्द्रको राजनीतिक उचाई यतिबेला खुम्चिएको छ ।
मधेश प्रदेशको सत्ताबाट पनि बाहिरिने अवस्था बन्दै गएपछि उनले बिहीबारको मन्त्रिपरिषद् बैठक बहिष्कार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश दिन खोजे ।
तर उनका स्वकी सचिव महेश चौरसियाले मन्त्रिपरिषद् बहिष्कार गरेको नभइ अन्य काममा व्यस्त भएकाले नगएको बताए ।
‘पार्टी विभाजन भएपछि उहाँ अहिले कानुनी तथा अन्य परामर्शमा हुनुहुन्छ ,’ चौरसियाले खबरहबसँग भने, ‘मन्त्रिपरिषद् बसेकै बेला कानुन व्यवसायीसँग परामर्श कार्यक्रम राखिएकाले आज नजानु भएको हो । बहिष्कार गरिएको होइन ।’
बिहीबार नै मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने तयारी गरेको थियो । मागेको मन्त्रालय नदिएको भन्दै माओवादीले मधेश प्रदेश सरकार छाड्न खुट्टा उचालेपछि यादवले असन्तुष्टिस्वरुप मन्त्रिपरिषद्मा सहभागी नभएका हुन् ।
अर्थ मन्त्रालय नपाएको भन्दै माओवादी संसदीय दलका नेता भरत साह मुख्यमन्त्री यादवसँग रुष्ट छन् । मुख्यमन्त्री यादवले साहलाई वन तथा वातावरण मन्त्रालया दिएका छन् । तर साह नस्वीकारी बसकेा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को सत्ता गठबन्धन ढालेर कांग्रेससँग मिल्ने योजना बनाएको आरोप यादवमाथि छ । अशोक राईले पनि त्यही आरोप लगाएका छन् ।
उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन् ।
मन्त्रिपरिषद् बैठक छाडेर पार्टी कार्यालयमा नेता कार्यकर्ता र कानुन व्यवसायीसँग उनले लामो छलफल गरेका छन्। मधेश प्रदेश सरकारमा आफ्नै नेता सरोज यादव मुख्यमन्त्री रहेको सरकार तलमाथि गर्न खोजिएपछि उनी प्रचण्ड र ओली दुवैसँग रिसाएका छन् ।
मधेशमा जसपाका सरोजकुमार यादवको नेतृत्वको सरकार छ । निर्वाचन आयोगले विभाजित जसपाका जनप्रतिनिधिलाई २१ दिनको समय दिएर सनाखतमा बोलाएको छ।
मधेशमा जनमत र लोसपालाई समेट्न सके उपेन्द्रपक्षलाई केन्द्र सरकारबाट हटाएर नयाँ दललाई मन्त्रिपरिषद्मा ल्याउने तयारीमा नेताहरू छन् ।
मधेशको १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ जना सांसद चाहिन्छ। त्यहाँ एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र नयाँ जसपा मिलेमा सरकार बन्छ ।
एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपामा कम्तीमा ९ सांसद हुनेछन् ।
प्रतिक्रिया