अर्थसंक्षेप : विश्वबैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, सुन र शेयर दुवैको मूल्य घट्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : विश्वबैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, सुन र शेयर दुवैको मूल्य घट्यो


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


25.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विश्वबैंकको हालसम्मकै ठूलो बैठक नेपालमा बस्ने भएको छ । आज सुनको मूल्य ४ हजारले घटेको छ । आज शेयर बजार झिनो अंकले ओरालो लाग्यो ।

नेपालले उत्पादित बिजुली भारतलाई बेच्न शुरु गरेको छ तर, देशभित्रका उद्योगहरू भने अझै पनि लोडसेडिङको अवस्थामा छन् ।

हेर्नुहोस् आजका प्रमुख समाचार :

नेपालमा विश्व बैंकको हालसम्मकै ठूलो बैठक बस्दै

विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।

आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा बस्ने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आइडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए ।

अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडीए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रूपमा लबिइङ गरेको थियो ।

उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापन सत्रमा प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ ।

नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।
आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ अर्ब ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ पटक किनबेच भएको छ ।

आइतबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आइतबार सेन्सेटिभ इन्डेक्स २.१५ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले घटेको छ ।

१३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ७ समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको १५५.०९ अंकले बढेको छ भने सबैभन्दा बढी जीवन बीमा ६९.६६ अंकले घटेको छ ।

आज इमर्जिङ नेपाल, शुभम पावर, सिटि होटल, कुथेली बुखारी साना हाईड्रोपार, भगवती जलविद्युत विकास र सामलिग पावर कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

उत्पादित बिजुली भारतलाई, देशका उद्योगमा ‘ट्रिपिङ’ र १२ घण्टे लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले ४०० मेगावाट बिजुली भारत निर्यात सुरु गरेको बताए पनि स्वदेशी उद्योगहरूले भने लोडसेडिङको मार खेप्नुपरेको हो । प्राधिकरणका अधिकारीहरूले भने केही दिन अघि वीरगञ्‍ज र बिराटनगमा वर्षा सहितको हावाहुरीले बिजुलीका पोल ढल्दा उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताउने गरेका छन्‌ ।

वीरगञ्‍ज लगायत पूर्वी खण्डका उद्योगमा रातको समयमा १२ घण्टा लोडसेडिङ र बारम्बार विद्युत ट्रिपिङ हुने गरेको वीरगञ्‍ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल बताउँछन् ।

‘रातको समयमा १२ घण्टासम्म लोडसेडिङ हुन्छ, दिउँसोको समयमा धेरै पटक झ्याप–झ्याप बिजुली जाने (ट्रिपिङ) भइरहेको हुन्छ,’ उनले भने, ‘दैनिक ५ देखि १० पटकसम्म विद्युत ट्रिपिङ हुने गर्छ । एकपटक विद्युत गयो भने उद्योग पुनः सञ्चालन गर्न २ घण्टासम्म लाग्छ । त्यसमाथि कतिपय मेसिन जल्ने र बिग्रिँदा उद्योगलाई ठूलो नोक्सानी हुने गर्छ ।’

केही दिनअघि ठूला हुरी बतासले बिजुलीका पोल ढाल्दा त्यस क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति अवरोध भइरहेको छ । ढलेका पोल र अन्य मर्मत सुधार गरेर वीरगञ्‍ज क्षेत्रका उद्योगमा शनिबारदेखि मात्र बिजुली जोडिएको अग्रवालले बताए ।

गुणस्तरीय बिजुली नपाएकाले नयाँ उद्योग स्थापना हुने वातावरण नबनेको उनको भनाइ छ । ‘भएका उद्योग चलाउन त समस्या भइरहेको छ, एकपछि अर्को उद्योग बन्द हुने क्रममा छन,’ उनले भने ।

त्यस्तै, बुटवल र भैरहवा क्षेत्रका उद्योगले पनि गुणस्तरीय बिजुली पाउन सकेका छैनन् । त्यस क्षेत्रका उद्योग पनि ३५ प्रतिशतको क्षमतामा चलेको व्यवसायीले बताएका छन् । भैरहवालगायतका क्षेत्रका १२ वटा उद्योगमध्ये ६/७ वटा बन्द भइसकेका छन् ।

बिजुली बढी खपत गर्ने फलाम तथा आइरन उद्योग पनि बन्द भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । बिजुली पाइरहेका उद्योगले पनि दैनिक ‘ट्रिपिङ’ समस्या भोग्नुपरेको उनको भनाइ छ ।

‘बिजुली पाइरहेका उद्योगमा पनि ट्रिपिङको समस्या उस्तै छ । दिनमा धेरैपटक बिजुली जाने÷आउने गरेको छ,’ उनले भने । कहिलेकाँही दैनिक १५ देखि २० पटकसम्म बिजुली जाने गरेको उनको भनाइ छ । बिहान वा बेलुकाको ‘पिकआवर’मा यति समय उद्योग नचलाइदेऊ भनेर जानकारी आउने गरेको उनले बताए ।

वैशाखमा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब रकमान्तर

सरकारले वैशाख महिनामा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब बढी बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख महिनामा ऊर्जा, भौतिक, रक्षा, सहरी र स्वास्थ्य मन्त्रालयको २ अर्ब ४० करोड ६ लाख ९६ हजार रुपैयाँ रकमान्तर भएको हो ।

अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ६, रक्षा मन्त्रालयका ३, सहरी विकास मन्त्रालयका ११ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ वटा शीर्षकबाट अर्को कार्यक्रम शीर्षकमा रकमान्तर गरिएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले वैशाख महिनामा संघीय संसद्, अदालत, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई २ अर्ब ८३ करोड ९६ लाख ४६ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

सुनको मूल्य ४ हजारले घट्यो

आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ ।

यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ६ : २० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य