उत्पादित बिजुली भारतलाई, देशका उद्योगमा ‘ट्रिपिङ’ र १२ घण्टे लोडसेडिङ | Khabarhub Khabarhub

उत्पादित बिजुली भारतलाई, देशका उद्योगमा ‘ट्रिपिङ’ र १२ घण्टे लोडसेडिङ

ट्रिपिङ’को समस्याले उद्योगी हैरान !


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराईका औद्योगिक करिडोर अन्तर्गतका उद्योगहरूले १२ घण्टाभन्दा बढी लोडसेडिङ मार खेप्नु परेको छ । बिहान र बेलुकीको ‘पिकआवर’ मा बिजुली जाने (ट्रिपिङ)को समस्या छ भने रातको समयमा १२ घण्टाभन्दा बढी समयसम्म विद्युत कटौती (लोडसेडिङ) हुने गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले ४०० मेगावाट बिजुली भारत निर्यात सुरु गरेको बताए पनि स्वदेशी उद्योगहरूले भने लोडसेडिङको मार खेप्नुपरेको हो । प्राधिकरणका अधिकारीहरूले भने केही दिन अघि वीरगञ्‍ज र बिराटनगमा वर्षा सहितको हावाहुरीले बिजुलीका पोल ढल्दा उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताउने गरेका छन्‌ ।

नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

वीरगञ्‍ज लगायत पूर्वी खण्डका उद्योगमा रातको समयमा १२ घण्टा लोडसेडिङ र बारम्बार विद्युत ट्रिपिङ हुने गरेको वीरगञ्‍ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल बताउँछन् ।

‘रातको समयमा १२ घण्टासम्म लोडसेडिङ हुन्छ, दिउँसोको समयमा धेरै पटक झ्याप-झ्याप बिजुली जाने (ट्रिपिङ) भइरहेको हुन्छ,’ उनले भने, ‘दैनिक ५ देखि १० पटकसम्म विद्युत ट्रिपिङ हुने गर्छ । एकपटक विद्युत गयो भने उद्योग पुनः सञ्चालन गर्न २ घण्टासम्म लाग्छ । त्यसमाथि कतिपय मेसिन जल्ने र बिग्रिँदा उद्योगलाई ठूलो नोक्सानी हुने गर्छ ।’

केही दिनअघि ठूला हुरी बतासले बिजुलीका पोल ढाल्दा त्यस क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति अवरोध भइरहेको छ । ढलेका पोल र अन्य मर्मत सुधार गरेर वीरगञ्‍ज क्षेत्रका उद्योगमा शनिबारदेखि मात्र बिजुली जोडिएको अग्रवालले बताए ।

गुणस्तरीय बिजुली नपाएकाले नयाँ उद्योग स्थापना हुने वातावरण नबनेको उनको भनाइ छ । ‘भएका उद्योग चलाउन त समस्या भइरहेको छ, एकपछि अर्को उद्योग बन्द हुने क्रममा छन,’ उनले भने ।

त्यस्तै, बुटवल र भैरहवा क्षेत्रका उद्योगले पनि गुणस्तरीय बिजुली पाउन सकेका छैनन् । त्यस क्षेत्रका उद्योग पनि ३५ प्रतिशतको क्षमतामा चलेको व्यवसायीले बताएका छन् । भैरहवालगायतका क्षेत्रका १२ वटा उद्योगमध्ये ६/७ वटा बन्द भइसकेका छन् ।

बिजुली बढी खपत गर्ने फलाम तथा आइरन उद्योग पनि बन्द भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । बिजुली पाइरहेका उद्योगले पनि दैनिक ‘ट्रिपिङ’ समस्या भोग्नुपरेको उनको भनाइ छ ।

‘बिजुली पाइरहेका उद्योगमा पनि ट्रिपिङको समस्या उस्तै छ । दिनमा धेरैपटक बिजुली जाने/आउने गरेको छ,’ उनले भने । कहिलेकाँही दैनिक १५ देखि २० पटकसम्म बिजुली जाने गरेको उनको भनाइ छ । बिहान वा बेलुकाको ‘पिकआवर’मा यति समय उद्योग नचलाइदेऊ भनेर जानकारी आउने गरेको उनले बताए ।

‘हिउँद याममा बिजुली उत्पादन कम हुन्छ । त्यसबेला हामीलाई लोडसेडिङ तालिका दिनुस् भनेर बारम्बार भनिरहेका छौं,’ उनले भने, ‘हामीलाई मौखिक वा फोन गरेर उद्योग नचलाइदिनुस् भन्ने गरेका छन्‌, लोडसेडिङ तालिका भने दिन सकेको छैनन्‌ ।’

सरकारबाट नै औद्योगिक वातावरण नबन्दा सञ्‍चालनमा रहेका उद्योग पनि धराशायीउ रहेको उनको भनाइ छ । नयाँ उद्योग खोल्ने त परको कुरा, चलिरहेका उद्योगले पनि सञ्चालन खर्च उठाउन नसकेको श्रेष्ठ बताउँछन्‌ ।

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा माग अनुसारको उत्पादन समेत हुन नसकेको व्यवसायीको भनाइ छ । खाद्य उद्योगहरू पनि ४०/४५ प्रतिशत क्षमतामा चलिरहेको उद्योगीहरू बताउँछन् । छड र सिमेन्ट उद्योगहरू एक महिना चल्ने एक महिना बन्द हुने गरेको उनीहरूले दाबी गरे ।

भैरहवा र बुटवलक्षेत्रमा ठूला तथा साना गरी ३०० भन्दा बढी उद्योग सञ्चालनमा छन् । उद्योग क्षेत्रमा चाहिने बिजुली जतिबेला पनि दिन सकिने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन्‌ ।

‘उद्योगले बिजुली नपाएको अवस्था छैन, बरु कहिलेकाँही प्रणालीमा देखिएको समस्या र हावा हुरीलगायतका कारण विद्युत अवरुद्ध हुनु स्वाभाविक हो,’ घोषले भने, ‘बिजुलीको गुणस्तर सुधार्न नयाँ प्रसारणलाइन निर्माण र पुराना प्रसारण प्रणालीको सुदृढीकरण गरिरहेका छौं ।’

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ४ : ४९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य