राजनीतिको गोरेटोमा बीपीले बनाउन चाहेको समाजवादी राजमार्ग | Khabarhub Khabarhub

सन्दर्भ : बीपी जयन्ती

राजनीतिको गोरेटोमा बीपीले बनाउन चाहेको समाजवादी राजमार्ग

कम्युनिस्टको समाजवाद र बीपीको समाजवादमा के फरक छ ?



विसं १९७१ भाद्र २४ गते। यो त्यही दिन हो, जसले नेपालमात्रै होइन, विश्व राजनीतिको मूलबाटोमा एउटा समाजवादी दर्शन जन्माएको थियो। अर्थात् प्रजातन्त्रिक लहरमा लहरिएको विश्व आन्दोलनको मोडमा बीपी कोइरालाको जन्म समाजवादी आन्दोलनको एउटा त्यस्तो आयाम बन्यो जसमा अहिले वैश्विक राजनीतिक यात्रा अनवरत छ।

त्यो एउटा अँध्यारो युग थियो नेपालमा। सारा विश्वमा प्रजातन्त्रको बतास चलिरहेको थियो। नेपालमा भने राष्ट्र अनि नागरिकको ‘प्रतीक’ मानिने राजसंस्था राणाको मुठ्ठीमा थिए। अर्थात् राजा अनि दरबार राणाको आदेशमा कैद थिए। संसारभरि चलिरहेको प्रजातन्त्रिक आन्दोलनको त्यो बतासका बाछिटाहरू पनि नेपालमा आउँदै थियो। त्यो बेलादेखि नै सामाजिक राजनीतिक कर्मतिर झुकाव राखिरहेको नेपालको एउटा कोइराला परिवार पनि विस्तारै राणा शासकका आलोचक हुन थाले।

बिद्रोहको त्यही चेत थियो, जहाँ कोइराला परिवार नेपाली राजनीतिको अविछन्न बिरासत बन्न सफल भयो। त्यही बेला प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए। तीमध्ये एक थियो कृष्णप्रसाद कोइरालाको परिवार।

त्यहीबेला माता दीब्या कोइरालाको कोखमा विसं १९७१ साल भदौ २४ गते जन्मिएको एउटा जीवन थियो- नेपालको समाजवादी आन्दोलनलाई राजनीतिको मूलबाटोसँग गाँस्ने महामानव विशेश्वरप्रसाद (बीपी) कोइराला।

बीपी कोइराला को हुनुहुन्थ्यो? नेपालमा अनि विश्व राजनीतिमा उहाँको योगदान र भूमिका कस्तो र कति थियो? यी यावत कुराहरूको विश्लेषण एउटा सानो आलेखमा सायद नअटाउन सक्छ। तर उहाँले नेपालको प्रजातान्त्रिक समाजवादको आन्दोलनलाई जसरी नेतृत्व दिनुभयो र एउटा राजनीतिक आदर्शको उज्यालो मार्गदर्शन गर्नुभयो । त्यसले राष्ट्रका लागि विशाल राजनीतिक राजमार्ग खडा गरिदिएको थियो।

समाजवादको लक्ष्य चुम्न आज जुनप्रकारको राजनीतिक ‘रेस’ चलिरहेको यो त्यही बीपी आदर्शले अड्याइराखेको एउटा बेमिसाल नासो हो। देशको हरेक ऐतिहासिक राजनीतिक मोडमा आफ्नो नेतृत्वदायी भूमिका निभाएको अनि राष्ट्रमा प्रजातन्त्रको बाटो पहिल्याएको नेपाली काँग्रेस बीपी आदर्शको त्यही प्रतीक हो।

समाजवादलाई बीपीले गरेको एउटा ब्याख्याशं छ- ‘हलो जोत्ने किसान र गरिब गाउँलेको जीवनस्तर उकास्ने योजना जसले ल्याउँछ, ऊ समाजवादी हो र त्यस्तो योजना नै समाजवाद हो…

अर्थात् बीपीले भन्नुभएजस्तै नेपाली काँग्रेस क्रान्तिको प्रतीक हो अनि क्रान्तिपछि उदाएको प्रजातान्त्रिक शक्तिको एउटा प्रतीक हो। त्यसैले आज पनि नेपाली काँग्रेसले आफ्नो राजनीतिक इतिहासमा बीपी कोइरालालाई आफ्नो राजनीतिको प्रतीक नै मान्छ। तर नेपाली काँग्रेसमात्रै होइन नेपाली राजनीतिमा उहाँले पहिल्याएको समाजवादी आदर्शलाई अहिले हरेक राजनीतिक दलहरूले पछ्याउँदै आएका छन्।

समाजवादलाई बीपीले गरेको एउटा ब्याख्याशं छ- ‘हलो जोत्ने किसान र गरिब गाउँलेको जीवनस्तर उकास्ने योजना जसले ल्याउँछ, ऊ समाजवादी हो र त्यस्तो योजना नै समाजवाद हो…।’

अर्थात् बीपीले आफूले जीवन समर्पण गरेको जुन राजनीतिक बाटो त्यो त्यसलाई सधै जनता अर्थात् ‘कुलीन’हरूका भाषामा भन्दा ‘भुँईफुट्टा’ बर्गलाई गाँस्ने प्रयत्न गर्नुभयो। उहाँले आफ्नो राजनीतिक लक्ष्यको केन्द्रमा सधै जनतालाई नै राख्नुभयो। त्यसैले उहाँले सधैं भन्ने गर्नुहुन्थ्यो ‘राष्ट्र भनेको मात्रै भूगोल वा माटोमात्रै होइन, बरु राष्ट्रियता भनेको जनताको सामूहिक भावना हो।’

राष्ट्र, राष्ट्रियता अनि प्रजातन्त्रलाई राजनीतिमा यसरी जोडेर गरिएको राजनीति नै उहाँको ब्याख्यामा वास्तविक समाजवादको आदर्श अंगालो राजनीति थियो। राष्ट्र अनि राष्ट्रिय भावना अर्थात् जनताको सर्वोच्चतालाई नै केन्द्रमा राखेर उहाँले जुन प्रकारको राजनीतिक संस्कारको निर्माण गर्नुभएको थियो त्यसलाई नेपाली काँग्रेसमात्रै होइन, नेपालका कतिपय कम्युनिस्ट पार्टीहरूले पनि स्वीकार गरेको पाइन्छ। त्यो बेला बीपीको निधन भएपछि एउटा प्रतिक्रियामा कम्युनिस्ट नेता मनमोहन अधिकारीले भन्नुभएको थियो ‘बीपीको निधनबाट सिङ्गो राष्ट्रले एउटा अभाव त सधैं महसुस गर्ने छ, सँगसँगै नेपाली जनताले आफ्नो घाँटीमा अड्किएको भाषा बोलिदिने नेता गुमाएका छन्।’

जनतामा गुम्सिएर पनि उम्लिरहेको बिद्रोहको भाषा बोलिदिने नेताका रुपमा मनमोहनले बीपीलाई अर्थ्याउनुभएको थियो। अहिले नेपालका धेरै कम्युनिस्ट पार्टीहरूले अपनाएको समाजवादी क्रान्ति वा समाजवादको राजनीतिक बाटो पनि बीपी आदर्शको त्यही स्वीकारोक्ति हो।

बीपीले नेपाली काँग्रेसको राजनीतिलाई कसरी जोड्नुहुन्थ्यो भन्ने कुराको एउटा अर्को निकै मर्मस्पर्शी सन्दर्भ पनि छ। २०१५ को आमचुनावमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो। बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो। एउटा क्रान्तिपछि २००७ सालमा प्रजातन्त्र आएपछि उहाँ तत्काली राणा साझेदार सरकारको गृहमन्त्री हुनुहुन्थ्यो । त्यसपछि भएको नेपालकै पहिलो आम चुनावमा बीपीको त्यही ओजले नेपाली काँग्रेस पहिलो पार्टी बन्यो।

पहिलो जननिर्वाचित प्रधानमन्त्री भएपछि उहाँले सरकारी कर्मचारीहरूलाई सम्बोधन गर्नेक्रममा उहाँले भन्नुभएको थियो- ‘मलाई कुनै कुरामा निर्णय लिनपर्‍यो भने मेची–काली घुम्छु । जनतासँग अन्तर्क्रिया गर्छु । गाउँलेको समस्या बुझ्छु । उनीहरूको व्यथाको अनुभुति गर्छु । अनि, आफ्नो विवेकले भनेको आधारमा निर्णय लिन्छु। योजना आयोगमा तपाईहरूले महाराजाको तस्बिर राख्नुभएको रहेछ। त्यसको छेउमा एउटा गरिव किसानको हलो बोकेको, फाटेको टोपी र कछाड लगाएको नाङ्गो तस्विर राख्नुस् अनि त्यो हाँसो नखुलेको किसानको अनुहारमा हाँसो कसरी खुलाउने भन्ने सोचेर योजना बनाउनुस्। वास्तवमा जस्ले गरिव किसानहरूको हितमा कार्यक्रम दिनसक्छ । त्यही हो समाजवादी।’

बीपीले गर्नुभएको यो कुनै खोक्रो भाषण थिएन। यो कुनै निर्देशन पनि थिएन। साधारण भाषामा उहाँले अर्थ्याउनुभएको त्यो समाजवादको बिराट परिभाषा थियो। आम जनतालाई राजनीतिको सर्वोच्च केन्द्रमा राखामात्रै त्यसको सही सदुपयोग हुन्छ र कुनै पनि राजनीतिको अन्तिम लक्ष्य मात्रै राष्ट्रको समृद्धि हुनुपर्छ भन्ने बीपीको चिन्तन समाजवादको सरल ब्याख्या पनि हो।

समाजवाद भनेको राजनीतिको त्यस्तो एउटा सेतु हो जुन आदर्शको सदुपयोगले सामाजिक स्वामित्वमा रहेका उत्पादनका साधनहरूलाई प्रजातन्त्रका सिद्धान्तहरूसँग गाँस्दछ। बीपी बिचारधारा पनि त्यसकै एक कट्टर बाटो थियो। त्यसैले उहाँले राजनीतिको बाटोमा प्रजातन्त्रिक मूल्यमान्यता र यसका साध्य अनि साधनहरूसँग कहिल्यै सम्झौता गर्नुभएन र सधै त्यसलाई पछ्याइहनुभयो।

दोस्रो विश्वयुद्धपछि वैचारिकरुपमा विभाजित विश्वले समाएको यो एउटा बाटो पनि थियो। कतै कम्युनिस्टहरूको साम्यवादको बिगबिगी र लहड थियो अनि आधा विश्वमा प्रजातान्त्रिक समाजवादको लहर थियो। नेपाली राजनीतिलाई पनि समाजवादको त्यही लहरमा सामेल गराउनका लागि बीपी कोइरालाले त्यो बेला मोडेको बाटो नै अहिले नेपालको राजनीतिक आदर्श बनेको छ।

कम्युनिस्टले अंगालेको कहिल्यै नभेटिने ‘साम्यवाद’को लक्ष्य बदलेर अहिले सबैजसो राजनीतिक दलहरूले समाजवादकै बाटो पछ्याउन थालेका छन्। चाहे त्यो जुनसुकै नाम जोडिएका होऊन् ती सबैमा कहिँ न कहिँ समाजवादको आदर्श जोडिइ नै रहेको छ। त्यसैले समाजवादको विश्वमञ्चमा बीपीको योगदान र उपस्थिति कहिँ न कतै गाँसिएको पनि छ।

१९ औं शताब्दीको अन्त्यतिर विश्वमा चलेको समाजवादी आन्दोलनले जन्माएको सामाजिक लोकतन्त्रको सिद्धान्तलाई बीपीले ९० को दशकतिर नेपाली राजनीतिको आधारभूत सिद्धान्तका रुपमा स्थापित गर्न थाल्नुभएको देखिन्छ। त्यसलाई उहाँले जनताको जीवनसँग जोड्दै राजनीतिक र आर्थिक अवधारणाका रुपमा विकास गर्नुभयो।

वि.सं. २०१२ मंसिरमा भएको छैठौं महाधिवेशनमा बीपी कोइरालाले प्रस्तुत गर्नुभएको ‘समाजवादी’ घोषणापत्रमा यो सामाजिक लोकतन्त्रको यो सिद्धान्तलाई उहाँले यसरी ब्याख्या गर्नुभएको छ-

पहिलो- समाजवाद भविष्यको लहर हो भन्ने भन्ने भनाइबाट हामी र हामीले अपनाएको राजनीतिक बाटो कत्ति पनि बिचलित छैन। समाजवाद तेस्रो विश्व भनौं या असंलग्न विश्वको स्वाभाविक मित्र हो। समाजवादको मियोमा बाँधिएनन् भने यो तेस्रो विश्वका देशहरू या त फाँसिष्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिष्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर। त्यसकारण हाम्रो तेस्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौती छ।

आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ, जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालको कुनै भविष्य छ भने, बाँच्ने एउटैमात्र उपाय त्यही हो।

उहाँले त्यो घोषणापत्रमा मुख्यतया समाजवादका मुख्य दुई पाटालाई पनि उल्लेख गर्नुभएको छ। ती भनेको प्रथमत: राजनीतिक स्तरमा प्रजातन्त्र हो र अर्को भनेको आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने विकास। यी दुई पक्षबिना गरीबी उन्मूलन गर्छु भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन; यो जीवनमरणको प्रश्न पनि हो। भनेर उहाँले आफ्नो घोषणापत्रमा लेख्नुभएको छ।

दोस्रो- बीपीले समाजवादका लक्ष्यका सन्दर्भमा यस्तो भन्नुभएको छ-

समाजवादको एउटा मुख्य लक्ष छ, जसले यस महान आन्दोलनलाई प्रेरणा दिन्छ। त्यो हो–समानता। समानता भनेको—राजनीतक तथा आर्थिक समानता। समानतालाई पनि उहाँले यसरी दुई ब्यवहारिक परिभाषा दिनुभएको छ। पहिलो भनेको, समाज दैवीय संरचना होइन। त्यो बिशुद्ध भौतिक व्यवस्था हो। जसको उद्देश्य हो, समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा। कल्याण र सुरक्षाको अर्थ भौतिक हुन्छ आध्यात्मिक होइन।

अनि अर्को हो- समाजका सदस्यहरूको आकांक्षा  र आवश्यकताहरू प्रायः समान हुन्छन्। अर्थात् सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्रायः सबैको समान हुन्छ। उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्रायः समान हुन्छ। जसका लागि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनुपर्छ। उहाँको यही समाजवादको ब्याख्या र अर्थलाई आत्मसाथ गर्दै त्यही अधिवेशनबाट नेपाली काँग्रेसले समाजवादलाई आफ्नो राजनीतिक सिद्धान्त र आदर्शका रुपमा अपनाइरहेको छ।

यही राजनीतिक आदर्शको बाटोमा बीपी कोइरालाले स्थापित गरेको नेपाली काँग्रेस अहिले पनि जनताले विश्वास भरोसा गरेको एउटा सग्लो राजनीतिक पार्टी रहिआएको छ। यसमा कत्ति पनि बिचलित नभएर नेपाली काँग्रेसले बीपीको त्यही बाटो पछ्याइरहने हो भने काँग्रेसको त्यो ऐतिहासिक बिरासत अझ जुगौजुग राजनीतिको यस्तै सतिसाल बनिरहनेछ। नेपाली काँग्रेसलाई पनि बीपीले आफूले नै स्थापित गरेको त्यही समाजवाद अर्थात् जनतासँग जोडिएको राजनीतिक रेपार्टीका रुपमा चिनाउनुभएको थियो।

आर्थिक समानताको नीतिलाई काँग्रेसले समाजवादको लक्ष्यमा पुर्‍याउँछ भन्ने बीपीको मान्यता थियो। प्रजातन्त्र बिना कुनै पनि प्रकारको विकास हुँदैन भन्ने समाजवादको गर्भसिद्धान्त हो   

काँग्रेसलाई भुँइमान्छेहरूसँग जोड्न अनि यो पार्टीलाई जनताको यस्तै सरल पहुँचमा राख्नका लागि उहाँले एकपटक एकदमै साधारण तर बडो मार्मिक उदाहरण बेला बेला कार्यकर्ताहरूलाई दिइरहनुहुन्थ्यो। जस्तो कि-

एक दिन उहाँ पार्टीकै कामको सिलसिलामा एउटा गाउँतिर जानुभएको थियो। उहाँका अघिपछि धेरै नेता कार्यकर्ताहरू थिए। हिँड्दै गर्दा उहाँले दुईवटा आँपको रुखलाई देखाउँदै कार्यकर्ताहरूलाई सम्झाउनुभएको थियो। तीमध्ये एउटा रुख ठूलो थियो अनि अर्को रुख अलि सानो थियो। दुबैलाई औंल्याउँदै उहाँले भन्नुभएको थियो- काँग्रेसले अंगाल्ने भनेको आर्थिक समानता भनेको त्यो ठूलो अर्थात् धेरै फल दिने आँपको रुखलाई काटेर सानोजत्रै बनाउने होइन बरु त्यो सानो रुखलाई पनि मलजल अनि स्याहारसुसार गरेर ठूलो रुखले जत्तिकै उत्पादन दिने बनाउनसक्नु हो।

यो भनेको उहाँको समाजवादको एकदमै ‘ग्रासरुट’को परिभाषा हो। खासमा बीपीले समाजवाद प्राप्तिका लागि दुई लक्ष्य निर्धारण गर्नुभएको थियो ती थिए पहिलो भनेको आर्थिक समानता अनि दोस्रो भनेको प्रजातन्त्र अर्थात् स्वतन्त्रता। यी बिना कुनै पनि राजनीति वा कुनै पनि वादले जनताको समृद्धि ल्याउन सक्दैनन् भन्ने उहाँको अटल मान्यता थियो। आर्थिक समानता भनेको उहाँले भनेजस्तै वा उग्रबामपन्थले अंगाल्ने सोच अर्थात् ठूलो रुखलाई काटेर सानो बनाउनु होइन अर्थात् धनीलाई लुटेर गरिबलाई बाँडेर क्षणिक ‘क्रान्ति’ गर्नु होइन। बरु भुँइमान्छे अर्थात् गरिबलाई पनि अवसर दिएर धनी बनाउने हो।

आर्थिक समानताको यही नीतिलाई नेपाली काँग्रेसले समाजवादको लक्ष्यमा पुर्‍याउँछ भन्ने उहाँको मान्यता थियो। अनि प्रजातन्त्र भनेको देश विकास र समृद्धिको एउटा आधारशीला नै जो बिना कुनै पनि प्रकारको विकास हुँदैन भन्ने समाजवादको गर्भसिद्धान्त हो।

भारतमै जन्मिएर बालापन अनि प्रारम्भिक शिक्षारम्भ पनि भारतमै गर्नुभएका बीपीमा कलिलै उमेरदेखि त्यहाँका समाजवादी नेताहरूको राजनीतिक छाँया बिम्बित भएको पाइन्छ। राजनीतिक परिवार अनि विश्वमा चलिरहेको राजनीतिक चेतनाको लहर र स्वतन्त्रता प्राप्तिको लडाईंको आँधिहुरिबीच जन्मिनुभएका कोइराला आफ्ना पिताको राजनीतिक आदर्शको बाटो पछ्याउँदै विश्व समाजवादी आन्दोलनको मञ्चसम्मै आफू र आफूले अंगालेको राजनीतिक आदर्शलाई उभ्याउनसक्नुभयो।

उहाँको राजनीतिको सुरुवातमा भारतमा पनि अंग्रेजबिरुद्ध स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। नेपालमा पनि राणाशासनसँग लड्दालड्दै सरकारी कारिन्दासमेत भएको उहाँको परिवार भारत निर्वासनमा जानुपरेको थियो। राजनीतिक र विद्रोहको चेत उहाँमा त्यस्तै भारतीय स्वतन्त्रता आन्दोलनका रागहरूसँग उभ्रिएको पाइन्छ।

नेपालमा राणाहरूविरुद्ध उहाँले थालेको क्रान्ति त्यसकै उपज थियो। यसक्रममा उहाँ भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहभागी हुनुभयो र पटक पटक जेल पनि पर्नुभयो। बीपी कोइरालाले नै नेतृत्व गरेको क्रान्तिले नेपालमा पनि २००७ सालमा प्रजातन्त्र आयो। त्यसपछि २०१५ सालमा पहिलोपटक आम निर्वाचन भएर बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि हुनुभयो। तर त्यो प्रजातन्त्र पनि धेरै समय टिक्न सकेन। त्यसमा दरबारले फेरि आँखा लगायो र २०१७ सालमा राजा महेन्द्रले बीपीहरूलाई जेल हालेर शासनसत्ता आफ्नै मुठ्ठीमा राखे। त्यसपछिका ३० वर्षहरू पञ्चायती शासनका निरंकुश पञ्जाभित्र प्रजातन्त्र थुनियो। अर्थात् जनताका अधिकारहरू त्यसैगरी अपहृत भए।

यसरी बीपीका राजनीतिक जीवनका करिब १५ वर्षहरू जेलमै बिते। त्यसबीचका करिब ८ वर्षजति उहाँको जीवन निर्वासित रह्यो। जेल होस् या निर्वासन विपीले हरपल राजनीतिक  र सामाजिक जीवन नै बाँच्नुभयो। अर्थात् राजनीति र जनताबाहेक उहाँको जीवनमा अर्थोक कहिल्यै केही रहेन।

राष्ट्र र प्रजातन्त्रका लागि उहाँ आजीवन लडिरहनुभयो। जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहनुभयो। १८ महिने उनको प्रधानमन्त्रित्वकाल एउटा प्रजातन्त्रका लागि स्वर्णकाल पनि थियो। देशको आधुनिकरण अनि विकासको एउटा प्रस्थानबिन्दुमात्रै थिएन बरु त्यो प्रस्ट दृष्टीकोण र दूरदृष्टीपूर्ण राजनीतिको एउटा सुरुवात पनि थियो। जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना थियो। त्यो नै बीपी चिनाउने एउटा बिम्ब बनेको छ नेपाली राजनीतिमा।

आफूले बाँचेको जीवनका ६८ वर्षमध्ये बीपीले १३ वर्ष नेपालका जेलमै बिताउनुभयो। ४ वर्ष भारतका जेलमा कोचिनुपर्‍यो। देशनिकाला भएको कोइराला परिवार प्रवासमै रहँदा जन्मिएका बीपी कोइरालाले २००७ सालदेखि २०१७ सालसम्म १० वर्ष र २०३३ देखि २०३९ साल सम्मको ६ वर्ष गरी जम्मा १६ वर्षमात्रै देशभित्र खुल्ला जीवन बिताउन पाउनुभयो। बीपीले आफ्ना कथाहरूमा जीवनका यी अंकगणितहरूलाई निकै सरस तरिकाले ब्याख्या गर्नुभएको छ।  देशको कार्यकारी नेतृत्वकर्ता भएर उहाँले नेतृत्व गर्नुभएको करिब १८ महिनामै पनि देशको एउटा भविष्यरेखा कोरिएको थियो। बीपीले छोडेका तिनै पदचापहरूको बिजारोपण हो- नेपाली काँग्रेस।

बीपी एउटा व्यक्ति हुनुहुन्थ्यो तर उहाँले अनेकथरिका ब्यक्तित्व आफूमा निर्माण गर्नुभयो। जसरी राजनीतिमा उहाँले एउटा युगको निर्माण गर्नुभयो त्यसका अलावा उहाँले नेपालको साहित्यमा पनि उत्तिकै अमिट छाप छोडेर जानुभयो। त्यो युगमा उहाँले रचना गर्नुभएको साहित्याकाश आज पनि नेपाली साहित्यका लागि उत्तिकै उज्ज्वल नक्षेत्र मानिन्छ जहाँ अरु कसैले त्यसलाई छुन वा गाँस्न सकेको छैन।

साहित्यलाई सभ्यताको प्रतिक  मान्ने अनि  संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शनलाई नै साहित्यको परिभाषा दिने बीपी भन्नुहुन्थ्यो- साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ। अनि साहित्यमा म सधैं अराजक हुँ।

साहित्यमा उहाँको आफ्नो निजी जीवन, व्यक्ति र निजी ब्यक्तित्वमात्रै होइन बरु बीपीकृत साहित्यमा समाजका युगीन बिम्बहरू झल्किन्छन्। जो निकै कालजयी पनि छन्। विश्व साहित्यको मञ्चमा उहाँका रचना र सिर्जनाहरू कत्ति पनि कम छैनन्। बरु उत्कृष्ट नै छन्।

आजको नेपाली समाज आफैमा अलमलिएको बाटोमा छ। राजनीतिले समाजलाई समृद्ध बनाउनसक्नुपर्छ भन्ने बीपीका मान्यताहरूलाई अंगालेको नेपाली काँग्रेस नै अहिले उहाँका गोरेटाहरू छोडेर बरालिन थालेको छ। देशको एउटा प्रमुख र ऐतिहासिक पार्टीले राष्ट्रका लागि सिङ्गो राजमार्ग नै बनाउनसक्नुपर्छ। र त्यसका लागि सही नेतृत्वको आवश्यकता रहन्छ। बीपीले राष्ट्र अनि समाज निर्माणका लागि कोरेका तिनै गोरेटाहरूलाई समृद्धिको लक्ष्य भेटाउने राजनीतिको राजमार्ग निर्माण नै आजको आवश्यकता हो र त्यही नै महामानव बीपीका लागि सच्चा श्रद्धाञ्जली हो।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १० : ५२ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई