अर्थसंक्षेप : ५५ अंकले घट्यो नेप्से, अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने | Khabarhub Khabarhub

अर्थसंक्षेप : ५५ अंकले घट्यो नेप्से, अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।

आजका प्रमुख आर्थिक समाचारहरु :

शेयर बजार ५५ अंकले घट्यो

सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।

आज बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

प्रि–ओपन सेसनमा ०.६६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही मिनेट माथि गएको थियो । तर बजारमा पर्ख र हेरको अवस्थामा बसिरहेका लगानीकर्ता बढी भएकाले गर्दा क्रेता भन्दा पनि बजारमा बिक्रेता हाबी भए । निरन्तर ओरालो गतिमा गएको देखिएको छ । २ः३० सम्म बजार सम्हालिन खोजेको देखिए पनि बजार बन्द हुँदा भने नेप्सेमा भारी गिरावट आएको छ ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसक्यो, छिट्टै मूल्य निर्धारण हुनेछ ‘ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजना भएको  ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत बहस’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको उनले बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुङ्ग्याउँछौं’ मन्त्री भण्डारीले भने ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन : सकिनुपर्ने अवधिमा ५० प्रतिशत मात्रै काम

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।

मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१  डिसेम्वर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए ।

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो

नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पु¥याएको हो ।

गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड –१० दर्लिङ, निगलपानीलगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए। गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी एक सय ८२ मिटर वितरण गरिएको उनको भनाइ छ ।

यस क्षेत्रमा पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्ण रूपमा बगाएपछि सयौँ घरपरिवार अन्धकारमा थिए । बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ ।

गाउँमै पुगेर मिटर वितरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको उहाँको भनाइ छ । करिब आठ सय घरपरिवारमध्ये तीन सय ५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मतसम्भार गरिरहेको हुँदा दसैँ अगाडि लाइन पुर्याउने पौडेलले बताए ।

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन पारित गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त विधेयकलाई संशोधन सहित पारित गरेको हो । २०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गर्नुभएको थियो ।

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

विधेयक पारित भएसंगै सभामुख देवराज घिमिरेलाई बुझाउने र छिटो सदनमा पेश गर्न आग्रह गरिने समिति सभापति सन्तोष चालिसले बताए । विधेयकमा १० करोड भन्दाको चेक अनादरका घटनामा दुईबर्षदेखि चार बर्षसम्मको सजाय थप गर्ने बुँदा थप गरिएको उनले जानकारी दिए ।

सहकारी छानबिन समितिले ग¥यो ऋणीहरूसँग छलफल 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज विभिन्न सहकारीका ऋणीहरूसँग छलफल गरेको छ ।

५५औँ बैठकमा समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभव केन्द्रित परामर्श र छलफल  गरेको सभापति सूर्यबहादुर थापा क्षेत्रीको भनाइ छ ।

समितिले ऋणीहरू गायक रामकृष्ण ढकाल, पत्रकार डा .सुरेश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष कुन्दन अर्यालसँग पनि छलफल गरेको छ । यस्तै , अन्य ऋणीहरू सागर बगाले, अनन्तकान्त मैनाली,  विदुर धमलासँग पनि परामर्श र छलफल गरेको हो । थापाका अनुसार ऋणीहरूको अनुभवहरू समेत लिइएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९÷८० को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोन शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ ।

उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ । त्यसको लागि कम्पनीले असोज २३ गते साधारणसभा गर्ने भएको छ ।

सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत फिर्ता हुने जनाएको हो ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ । त्यसमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट), सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा समावेश छन् । यिनमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्था अनुरुप विभागले भ्याटको दश प्रतिशत फिर्तासम्बन्धी निर्णय गरेको हो । यसका लागि केही सर्त पनि तोकिएका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणाली आबद्ध हुन सक्ने भनिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : २९ बजे

फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आफ्नो सभास्थलका रुपमा नारायणहिटी दरबार संग्रहालाय

सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क

आजका समाचार : स:शुल्क खुल्यो धरहरा, एकै दिन लम्बियो रवि र दुर्गाको हिरासत बास, गुगल म्यापको भरपर्दा कार दुर्घटना

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो प्रधानमन्त्री केपी

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा