अर्थसंक्षेप : नेप्से निरन्तर ओरालोमा, बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्से निरन्तर ओरालोमा, बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार ओरालो लागेको नेप्से सोमबार पनि ओरालो लाग्यो ।
आज सुनको मूल्य घट्यो भने धनुषामा धान खरिद प्रक्रिया सुरु भएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू :

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सिलवालले व्यक्तिगत रूपमा झूटो विवरण पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अध्यक्ष सिलवालले पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता र राहदानीमा केरमेट र जालझेल गरेको, ६६ वर्ष पुग्दा पनि अनिवार्य अवकाश नपाएको लगायतका विषयमा उजुरी परेको थियो । तिनै विषयमाथि अनुसन्धान गर्दा अनुसन्धान गर्दा उनको नागरिकता र राहदानीमा जन्म मितिको विवरण फरक–फरक देखिएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष सिलवाल ६५ वर्ष पूरा भएर ०८० साउन १५ गते नै स्वतः अवकाश हुनुपर्ने थियो । तर, जानी जानी प्राधिकरणको अध्यक्षमा कायम रहिररहेको, उमेर ढाँटेर जन्म मिति हेरफेर गरेको, ३ वर्ष उमेर घटाएर राहदानी लिएको लगायत आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ अनुसार मुद्दा चलाएको हो । आयोगले विशेषमा पठाएका फाइलमा सिलवालले ३६ लाख रुपैयाँ बढीको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

सरकार ढल्ने हल्लासँगै शेयर बजार ओरालो

आइतबार ४६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १२.८४ अंकले घटेको छ । सरकार ढल्ने हल्लासँगै शेयर बजारमा भारी मात्रमा गिरावट आएको छ । अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लु काठमाडौंमा छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा देखि प्रतिपक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डसम्मलाई भेटे तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नभेट्ने भएका छन् ।

त्यही कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा सरकार ढल्ने हल्लासँगै शेयर बजारमा पनि दुई दिन लगातार गिरावट आएको हो । यहि हल्लाबीच नेप्से ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ । ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

सुनको मूल्य सामान्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नाम्दु सब-स्टेशन सञ्चालनमा

दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण गरिएको ३३/११ केभी नाम्दु सब-स्टेशन सञ्चालनमा आएको छ।

निर्माण सम्पन्न भएर पनि स्थानीयको विवाद र निर्माण कम्पनीको प्राविधिक समस्याको कारण डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको उक्त सब-स्टेशनको सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् । ३३/११ केभी सबस्टेसन चार्ज भएसँगै उक्त सबस्टेसनबाट वैतेश्वरमा विद्युत् वितरण सुरु भएको छ ।

सबस्टेसन ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले प्याकेज नौ अन्तर्गत ८ करोड लागतमा वैतेश्वर गाउँपालिकाको नाम्दुमा सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख संगीता कार्कीले बताइन्। ग्रीड सोलार एण्ड इनर्जीले नाम्दु सब-स्टेशनसहित बागमती प्रदेशमा १३ वटा सब-स्टेशन निर्माण गरेको उनले बताइन्।

धनुषामा धान खरिद सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ । धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्विन्टल साेना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिए। यस वर्ष सरकारले सानो मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताए।

यसअघि सो कार्यालयको धान खरिदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।

‘किवीभन्दा अलैँचीबाट दशौँ गुणा फाइदा’

‘अब यो किवी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले भने । करिब सातदेखि १० वटा किवीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उनले किवीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोपेका छन् । किवी र अलैँची तुलना गर्दै उनी भन्छन्, ‘ऊ बेला किवी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि दुई लाख माथि नै हुन्थ्यो ।’

करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किवी लगाएका छन् । अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किवी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो दुई हजार आठ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : २१ बजे

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको