कसरी अघि बढ्ला नयाँ स्टक एक्सचेन्जको प्रक्रिया ? | Khabarhub Khabarhub

कसरी अघि बढ्ला नयाँ स्टक एक्सचेन्जको प्रक्रिया ?

फेरि सक्रिय हुन थाले पुरानै समूह



काठमाडौं– नेपाल धितोपत्र बोर्डले ११ महिनापछि गत मंसिर १० गते मात्रै नयाँ नेतृत्व पायो । बोर्डमा नयाँ नेतृत्वसँगै लामो समयदेखि बहुप्रतिक्षित नयाँ स्टक एक्सचेन्ज विषय कसरी अगाडि बढ्छ भन्ने विषयलाई धेरैले चासोसाथ हेरेका छन् । तर, सरकारले नयाँ स्टक एक्सचेन्जबारे कुनै निर्णय नगरेकाले बोर्डको नयाँ नेतृत्वले पनि त्यसलाई गति लिन सकेको छैन ।

नयाँ स्टक एक्सचेन्ज छनौटलाई सरकारले निर्णय नगरी बोर्डले अगाडि बढाउन नसक्ने देखिएको छ । सरकारले नयाँ स्टक एक्सचेन्ज अगाडि बढाउने विषयमा कुनै निर्णय गरेको छैन । सरकारी निर्णय निर्देशन नआउँदा नयाँ स्टक एक्सचेन्जको प्रक्रिया यथाअवस्थामै रहेको बोर्डका एक अधिकारीले खबरहबलाई बताए ।

‘नयाँ स्टक एक्सचेन्ज क्याबिनेटबाट रोकिएको हो, अहिले नयाँ नेतृत्व आएपछि पनि क्याबिनेटको निर्णय र निर्देशनबिना नयाँ नेतृत्व आए पनि अगाडि बढ्ला जस्तो लागेको छैन’, बोर्डका अधिकारीले खबरहबलाई बताए । अहिले नयाँ स्टक एक्सचेञ्ज अगाडि बढाउन नयाँ नेतृत्व आइसकेपछि औपचारिक छलफल नभएको उनले बताए ।

लामो समयपछि नेतृत्व पाएको बोर्डले संसद्‍देखि अदालतसम्म पुगेर सल्टिएको नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने धेरैले अनुमान गरेका छन् । जुन कामलाई विगतका सरकार बोर्डको नेतृत्वले पनि निष्कर्षमा लैजान सकेका थिएनन् ।

नयाँ स्टक एक्सचेन्जबारे लामो समयदेखि विभिन्न मत देखिएका छन् । विवादबीच यस विषयमा आवश्यक कानुनी व्यवस्था पनि भइसकेको छ । अध्ययन समितिले पनि नयाँ स्टक एक्सचेन्ज ल्याउन सकिने सुझाव पनि सरकारलाई दिइसकेको छ ।

२०७९ भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ लाई संशोधन गरेर स्वीकृत गरेको थियो । उक्त संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्जले ५ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने र ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

नियमावलीमा संशोधनलगत्तै बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमति पत्रका लागि ०७९ असोज २ गते ४५ दिने सूचना निकालेर आवेदन माग गरेको थियो ।

तर, बोर्डले ४५ दिनको समय राखेर नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्रका लागि प्रक्रिया अगाडि बढाएपछि ०७९ असोज ३१ गते नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणविरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो । त्यसपछि आवेदनको म्याद नसकिँदै सर्वोच्च अदालतले प्रक्रिया स्थगित गर्न अल्पकालीन आदेश दिएपछि बोर्डले ०७९ ४ कात्तिकमा सबै प्रक्रिया रोकेको थियो ।

०७९ मंसिरमा संघीय र प्रदेश सभा निर्वाचनपछि नयाँ स्टक एक्सचेन्ज खोल्ने विषय संसद्मासमेत विवादित बन्न पुग्यो । तर, उक्त रिट निवेदनलाई सर्वोच्चले ०७९ चैत २६ गते खारेज गर्दै नयाँ स्टक एक्सचेन्जको बाटो खोलिदियो ।

त्यसपछि उक्त महिनाको ३१ गते बोर्डले १० दिनको म्याद राखेर नयाँ स्टक एक्सचेन्ज अनुमतिपत्रका लागि आवेदन माग गरेको थियो । त्यसका लागि हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले आवदेन दिए ।

बोर्डले अनुमतिपत्रका लागि कम्पनी छनौट गर्न तत्कालीन कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्यांकन समिति बनाएको थियो ।

अदालतबाट बाटो खुले पनि विभिन्न पक्षको विरोध र संसदमा पनि कुरा उठेकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले ०८० वैशाख २७ गते नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र वितरण प्रक्रिया रोकेको थियो ।

०८० कात्तिक २४ गते संघीय संसद् अर्थसमितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन सक्ने निर्देशन दिएको थियो ।

त्यसपछि ०८० माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले फेरि धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न अनुमति दिन उपयुक्त हुने–नहुनेबारे अध्ययन गर्न चिन्तामणि शिवाकोटीको संयोजकत्वमा ३ सदस्य समिति बनायो । समितिले ०८१ वैशाख १३ गते नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न सकिने सुझावसहित तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

धितोपत्र बोर्ड नेतृत्वविहीन भएको बेला सरकार फेरबदल चलिरहेपछि नयाँ स्टक एक्सचेन्जको विषय लामो समयसम्म सतहमा आउन सकेन । बोर्ड अध्यक्षको जिम्मेवारीमा सन्तोषनारायण श्रेष्ठ आएसँगै यसको चर्चा हुन थालेको छ । नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र प्राप्त गर्न विगतदेखि नै लागेकाहरू शक्तिकेन्द्र रिझाउन फेरि सक्रिय भइसकेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३७ बजे

रुपाताल संरक्षणसम्बन्धी काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई

प्रधानमन्त्री मोदी प्रयागराजमा

नयाँदिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी

हरेक बिहान पिउनुहोस् जौँको पानी, मिल्नेछन् यी फाइदा

काठमाडौं– स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै

आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने आवासीय चिकित्सकको घोषणा 

काठमाडौं– सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आजदेखी देशभरका

भारतको दिल्लीमा विधानसभा मतदान

नयाँदिल्ली– भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको